कर्मवान् हुनुहोस्, स्वप्नदर्शी होइन

 कर्मवान् हुनुहोस्, स्वप्नदर्शी होइन

सोन्डा लाइन राइम्स (सन् १९७०) अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता, स्क्रिप्टलेखक र लेखक हुन् । सन् २०१० मा ‘टाइम' म्यागेजिनद्वारा तयार पारिएको ‘संसार फेर्ने १०० जना' को सूचीमा समावेश गरिएकी राइम ‘ग्रेज अनाटोमी' नामक चिकित्सासम्बन्धी टेलिभिजन सिरियलकी मुख्य सर्जक र लेखक थिइन् । सन् २०१५ उनको ‘इयर अफ यसः हाउ टु डान्स इट आउ, स्ट्यान्ड इन द सन, एन्ड बी यो वन पर्सन' शीर्षक संस्मरण प्रकाशित भएको थियो । लायनले ‘डार्थ माउथ कलेज' मा सन् २०१४ मा दिएको दिएको मन्तव्यको एक अंशः

डार्थ माउथबाट ग्र्याजुएट गर्न तम्तयार सबैलाई अभिवादन । यो त अजीव हो । म पनि मन्तव्य दिँदैछु । खासमा म मन्तव्य दिन मन पराउँदिनँ । मन्तव्य दिनका लागि तपाईंलाई हेरिरहेको ठूलो जनसमूह अगाडि उभिनुपर्छ र उनीहरूसँग कुरा गर्नुपर्छ । म केवल उभिन मात्र सक्छु । तर तपाईंहरू हेरिरहनुभएको छ र म बोलिरहेछु । म यस्तो मन पराउँदिनँ । यस्तोमा मलाई डर लाग्छ । साँँच्ची भनेको, आतंक नै अनुभव हुन्छ । मुख सुक्छ, मुटु छिटोछिटो धड्किन थाल्छ र अरू सबै मन्द गतिमा चल्न थाल्छ । लाग्छ, अब म मर्दैछु । तर नआत्तिनुस्, म साँच्चिकै मर्दैचाहिँ छैन ।

खास कुरा के हो भने म भाषण गर्न मन पराउँदिनँ । म त लेखक हुँ, टेलिभिजनका लागि लेख्ने मानिस । म अरू मानिसलाई सुनाउन लेख्ने गर्छु । खासमा मैले यो भाषण गर्नै चाहेकी थिइनँ । डार्थ माउथमा कमेन्समेन्ट भाषण ? बाफ रे !'

२० वर्षअगाडि भएको भए यो ठिकै हुन्थ्यो । मैले डार्थ माउथबाट ग्र्याजुएट गर्दै गर्दा भए यो ठिकै हुन्थ्यो । २३ वर्षअगाडि म अहिले तपाईंहरू बसिरहेको ठाउँमा थिएँ र एलिजाबेथ डोलको मन्तव्य सुनिरहेथें । उनी महान् थिइन् अनि शान्त र निर्भीक पनि । उनी त साथीहरूसँग आगो ताप्दै गफ गरेजस्तै बोलिरहेकी थिइन् ।

अहिले ? २० वर्षपछि ? यो कुनै आगो ताप्दै भइरहेको कुराकानी होइन । सुक्खा मुख, छिटोछिटो धड्किरहेको मुटु र अरू सबै मन्द । उफ् ! तैपनि म यहाँ छु । सकेसम्म प्रयास गरिरहेछु । किन थाहा छ ? किनभने म चुनौती मन पराउँछु र यी वर्षहरूमा मैले आफैंसँग वाचा गरेकी छु- म मलाई आतंकित बनाउने हरेक थोकसँग जुध्नेछु । नभए त मैले कहिल्यै पनि तपाईंहरूअगाडि उभिएर यसरी भाषण गर्ने कल्पना पनि गरेकी थिइनँ ।
हरेकपटक जब कसैले मलाई सोध्थ्यो- तिमी मन्तव्यमा के भन्दैछ्यौ ? म पूर्ण आत्मविश्वासका साथ भन्ने गर्थें- मसँग सुनाउनका लागि अनेक ज्ञानगुन छ । खासमा म झूट बोलिरहेथें । म तपाईंलाई कुनै पनि प्रकारको सल्लाह-सुझाव दिन आफैंलाई अयोग्य ठान्छु । मसँग केही पनि ज्ञानगुन छैन । त्यसैले म तपाईंहरूसँग केही खुद्रा-मसिना कुराकानी मात्र गर्नसक्छु ।

हुनसक्छ ती तपाईंलाई काम लाग्नसक्छन् वा नलाग्न पनि । तर पर्खिनुस् । तपाईंहरूसँग भन्दा पहिला म तपाईंका अभिभावकसँग कुराकानी गर्न चाहन्छु । किनभने यी २० वर्षमा म पनि आमा भएकी छु । मेरा तीन छोरी छन् । तपाईंहरूलाई आमा हुनु भनेको के हो थाहा छैन तर तपाईंका अभिभावकलाई थाहा छ । तपाईंलाई लाग्छ यो दिन केवल तपाईंको हो । तर तपाईंका अभिभावक ती हुन् जसले तपाईंलाई हुर्काए, तपाईंका अनेकन् उपद्रव सहे, तपाईंलाई सिकाए, तपाईंलाई पढाए, तपाईंलाई किशोरका रूपमा हुर्काए, तपाईंका २१ वर्ष तिनले सहे । यो दिन जसलाई तपाईंले आफ्नो ‘ग्र्याजुएसन डे' भन्नुभएको छ यो तपाईंको होइन, उनीहरूको हो । यही दिनबाट उनीहरूले आफ्नो जीवन फिर्ता पाउँछन् र स्वतन्त्रता महसुस गर्छन् । यो उनीहरूको मुक्तिको दिन हो । त्यसैले सम्पूर्ण अभिभावकलाई मेरो सलाम छ ।
ल अब भने म साँच्चीको भाषण सुरु गर्छु । तपाईंहरू तयार हुनुहुन्छ ?

जब मानिसहरू यस्तो खालको भाषण गर्छन् उनीहरू प्रायः मुटु नै हल्लाउने ज्ञानगुनको कुरा गर्छन् । उनीहरूसँग त्यो ज्ञान पनि हुन्छ । उनीहरूसँग सुनाउनका लागि अनेकन् शिक्षाहरू पनि हुन्छन् । उनीहरूले तपाईंलाई भन्छन्ः आफ्नो सपना पछ्याऊ । आफ्नै आत्माको आवाज सुन । संसार फेर । आफ्नो अमिट पदचिह्न राख । आफ्नो भित्री आवाज पत्ता लगाऊ र त्यसैको गीत गाऊ । गल्तीबाट सिक । सपना देख । सानोतिनो होइन, ठूलै सपना । सपना वास्तविक नहुँदासम्म देखिरहू ।

मलाई लाग्छ, यो हठ हो । मलाई लाग्छ, असंख्य मानिसहरू सपना देख्छन् । जब तिनीहरू सपना देख्न व्यस्त हुन्छन् वास्तविक सफल मानिसहरू काम गरिरहेका हुन्छन् । स्वप्नदर्शीहरू आकाशतिर फर्केर योजना बनाइरहेका हुन्छन्, आशा गर्छन् र यसबारे अन्त्यहीन चर्चा गर्छन् । उनीहरू ‘म चाहन्छु..' वा ‘म आशा गर्छु...' जस्ता अनेकन् वाक्य बनाउँछन् । जस्तैः ‘म लेखक बन्न चाहन्छु' वा ‘म संसार घुम्न चाहन्छु ।' उनीहरू यसबारे प्रशस्त सपना देख्छन् ।

सपनाहरू प्रिय हुन्छन्, सुन्दर र लोभलाग्दा हुन्छन् तर ती केवल सपना हुन् । सपना देख्दैमा ती पूरा हुँदैनन् । त्यसका लागि त तपाईंले कठिन अभ्यास गर्नुपर्छ । यति कठिन जसले परिवर्तन ल्याओस् ।
त्यसैले सपनालाई जमिनमुनि गाडिदिनुस् र कर्मवान् हुनुहोस्, स्वप्नदर्शी होइन । हुनसक्छ तपाईं अहिले केही बन्ने सपना देखिरहनुभएको छ वा हुनसक्छ आफ्नो रुचि के हो भन्ने फेला नपारेर हैरान हुनुहुन्छ । जेसुकै होस्, केही फरक पर्नेवाला छैन । तपाईंलाई जान्न जरुरी छैन । तपाईंले बस् अगाडि बढे पुग्छ । तपाईंले केही न केही गरिरहनुपर्छ । नयाँ केही गर्ने सम्भावना खुला राखेर हरेक अवसर कब्जा गरिरहनुपर्छ । तपाईंले चाहेजस्तो जागिर वा जीवनसँग मेल नखाए पनि हुन्छ ।

चाहेजस्तो भन्ने नै दिक्कलाग्दो हुन्छ र सपना सधैं अवास्तविक हुन्छ । त्यसैले तपाईं केही चाहनुहुन्छ भने गरिहाल्नुहोस् । जस्तै ‘म यात्रा गर्न चाहन्छु' भन्नुहुन्छ भने ठीक छ, तपाईंको थोत्रो कार बेच्नुहोस् । बैंककको टिकट किन्नुहोस् र हिँडिहाल्नोस् । अहिले भर्खर । साँच्ची भन्या, म गम्भीर छु । कुनै ठट्टा गरिरहेकी छैन । तपाईं लेखक बन्न चाहनुहुन्छ ? लेखक भनेको त्यो हो जसले हरेक दिन लेख्छ । त्यसो भए लेख्न सुरु गरिहाल्नुहोस् । जागिर गर्न चाहनुहुन्छ ? खोजिहाल्नुस् र कुनै पनि जागिर सुरु गरिहाल्नुस् । कुनै जादुमयी अवसरको प्रतीक्षामा नबस्नुहोस् । अर्को अवसर फेला नपर्दासम्म अहिलेको अवसर समातिहाल्नुस् । मैले टेलिभिजनका लागि लेख्छु भन्ने कहिल्यै सोचेकी थिइनँ । मैले कहिल्यै पनि आफैंलाई भनिनँ, ‘म लेखक बन्न चाहन्छु ।'

तपाईंलाई थाहा छ, म के बन्न चाहन्थें ? म त नोबल पुरस्कार विजेता टनी मरिसन बन्न चाहन्थें । त्यो थियो मेरो सपना । म खुब सपना देख्थें । सपना देखेको देख्यै गर्थें । दिदीको पिँढीमा बसेर खुब सपना देख्थेँ । प्रायः स्वप्नदर्शी नातेदारको पिँढीमै भेटिन्छन् । जेहोस्, जब म पिँढीमा बसेर नोबल पुरस्कार विजेता बन्ने सपना देख्थें त्यतिबेला मेसो पाएँ । के थाहा छ ? के भने म कहिल्यै पनि टनी मरिसन बन्न सक्दिनँ । किनभने टनी मरिसन पहिले नै बनिसकेकी छन् र उनी आफ्नो काम अरूलाई दिन चाहँदिनन् । त्यस्तैमा एक दिन मैले पिँढीमा बसेर न्युयोर्क टाइम्समा ‘यूएससी फिल्म स्कुल' मा भर्ना पाउनु ‘हार्वड ल स्कुल' मा भर्ना पाउनुभन्दा गाह्रो हुन्छ भनेर पढें । अनि मैले सोचें- म टनी मरिसन बन्ने सपना देख्नसक्छु वा केही गर्नसक्छु ।

फिल्म स्कुलमा मैले कथा भन्ने नयाँ शैली फेला पारें । त्यो मेरा लागि मिल्दो थियो । त्यसले मलाई आनन्द दियो । त्यसले मेरो दिमाग नै फेरिदियो र मेरो संसार हेर्ने तरिका नै फेरिदियो । केही वर्षपछि मैले टनी मरिसनसँग सँगै खाना खाने अवसर पाएँ । उनले त्यतिबेला ‘ग्रेज अनाटोमी' बारे कुरा गर्न चाहिन् । मैले सपना देख्न नछोडेको भए र काममा नलागेको भए, त्यो कहिल्यै सम्भव हुने थिएन ।
अनुवादः लक्ष्मण श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.