तयार हुँदैछन् दक्ष डकर्मी
घरमा खाना पकाउने रा खेती किसानको काम गर्थिन् । कुनै सीप थिएन । दिनचर्या बिनाआर्थिक उपलब्धिमै बित्ने गथ्र्यो । अहिले भ्याइनभ्याइ छ । बस्तुभाउको काम गर्न भ्याउँदिनन् । धादिङ थाक्रे गाउँपालिका १ की उमा बुढाथोकी अचेल बिहानै घरधन्दा सकेर छोरीलाई विद्यालय पुर्याएर सीधै तालिम लिन जान्छिन् । ५० दिने डकर्मी तालिमले व्यस्त भएकी उमालगायत अरू महिलालाई उक्त तालिमले सीप मात्र सिकाएको छैन, आत्मविश्वास पनि बढाएको छ ।
‘पहिला त डकर्मी तालिम भनेर अप्ठेरो लागेको थियो तर हिम्मत गरेर आएँ', बुढाथोकी भन्छिन्, ‘अहिले त आत्मविश्वास बढेको छ । तालिमपछि घर बनाउन सक्छु ।' तालिमकै क्रममा कामको प्रस्ताव आएपछि सहभागी महिला झनै उत्साही भएका छन् । धादिङ बैरेनी नगरपालिका ८ की सम्झना मगर तालिम सकेको भोलिपल्टै काम थाल्न आतुर छिन् । २२ वर्षीया मगर भन्छिन्, ‘प्रयोगात्मक भएकाले तालिमले आत्मविश्वास बढाएको छ ।' दस कक्षासम्मको अध्ययनपछि खेतीकिसानी गरेरै बसेकी मगर अहिले सुरक्षित घर निर्माण गर्ने दक्ष डकर्मी बन्दैछिन् ।
उमा र सम्झनाजस्तै विमला घिमिरे पनि डकर्मी तालिममा सहभागी छिन् । १७ पुरुष साथीसँगै भूकम्प प्रतिरोधात्मक घर निर्माण तालिमले पुरुषसरह महिलालाई पनि दक्ष कामदारका रूपमा तयार गर्दैछ । अर्थ उपार्जनविहीन घरेलु काममा दिनचर्या बिताइरहेका महिला दक्ष बन्दा स्वरोजगारका साथसाथै सामाजिक परिवर्तन पनि हुने विश्वास गर्न सकिन्छ ।
साना किसान विकास बैंकले धादिङको गोगनपानी गाउँपालिकामा माघ १७ बाट सुरु गरेको भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने ५० दिने डकर्मी तालिमले स्वरोजगार युवा तयार गर्दैछ । गाउँगाउँमा दक्ष प्राविधिक नहुँदा भूकम्पपीडितको घर निर्माणकार्य ढिला भइरहेकाले प्राविधिक सीपयुक्त दक्ष डकर्मी उत्पादन गरी घर निर्माण सहज र छिटो सम्पन्न गर्न बैंकले डकर्मी तालिम सुरु गरेको हो । बैंकले भूकम्प अति प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न एसियाली विकास बैंकको सहयोगमा उक्त तालिम सञ्चालन गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा थालिएको डकर्मी तालिमले पुरुषसहित महिलालाई पनि दक्ष डकर्मीका रूपमा तयार पार्दैछ । तालिमको पूर्णतासँगै प्राविधिक सीपयुक्त दक्ष डकर्मी उत्पादन हुँदैछन् ।
डकर्मी तालिमप्रति विश्वास पनि बढ्दो छ । तालिमबाट दक्ष डकर्मी तयार नहुँदै घर बनाउन अर्डर दिन धाउनेहरू दिनहुँ बढ्दा छन् । तालिम नसकिँदै डकर्मीहरू कामका लागि अनुबन्धित भइसकेको साना किसान बैंक तथा एसियाली विकास बैंकका परामर्शदाता नवराज सिंखडाले बताए । तालिमलगत्तै कार्यस्थलमा गएर काम गर्न प्रशिक्षार्थी पनि उत्साहित देखिन्छन् । तालिम सकिनासाथ आफ्नो गाउँपालिका र पछि अन्यत्र भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न जाने योजना प्रशिक्षार्थी कृष्णप्रसाद अर्यालले सुनाए ।