रूपन्देही धान र गहुँमा आत्मनिर्भर
बुटवल : धान र गहुँमा रूपन्देही आत्मनिर्भर बनेको छ । धान र गहँ उत्पादनमा झापा पछि रूपन्देही दोस्रो जिल्ला हो । यस वर्ष धानको उत्पादन ह्वात्तै बढेको रूपन्देहीमा गहँ उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । तर, यस जिल्लामा खपतको करिब ८० प्रतिशत दाल र तेल आयात गर्नुपर्ने अवस्था छ । तेलहन र दालहनको व्यावसायिक खेती नहुँदा तेल र दालमा परनिर्भर हुनुपरेको हो । जिल्लामा तेलहन र दालहनको उत्पादकत्व प्रतिहेक्टर एक प्रतिशतभन्दा कम छ ।
फौजी कीराको आक्रमणले केही बोट नष्ट भए पनि रूपन्देहीको गहुँ उत्पादन बढ्ने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले मौसम अनुकूल भएकाले गहुँको बाली सप्रिएको र असिनाबाट नष्ट नभए उत्पादन बढ्ने जनाएको छ । यो वर्ष जिल्लाको करिब ३० हजार हेक्टर जमिनमा गहुँखेती भएको छ । रूपन्देहीले खाद्यान्नतर्फका गहुँ र धान बाहिरी जिल्ला निर्यात गर्छ । गएको आर्थिक वर्षमा मात्रै जिल्लामा उत्पादित ३८ प्रतिशत खाद्यान्न बाहिरी जिल्लामा निर्यात भएको जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले बताए ।
खाद्यान्न उत्पादनमा अब्बल जिल्लाका रूपमा पहिचान बनाएको रूपन्देहीले गत आर्थिक वर्षमा कुल ७३ हजार दुई सय २५ मेट्रिक टन खाद्यान्न निर्यात गरेको थियो । सापकोटाका अनुसार जिल्लामा उत्पादन भएको खाद्यान्न पहाडी जिल्लामा बढी निर्यात हुने गरेको छ ।
मौसम अनुकूल भएकाले रूपन्देहीमा यस वर्ष गहुँबाली सप्रिएको छ ।
खाद्यान्नमा खासगरी धान, गहँ उत्पादनमा यसले अब्बल जिल्लाको रूपमा पहिचान बनाएको छ । जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेकाले हालको अनुपातमा उत्पादनले १२ वर्ष मात्रै थेग्न सक्छ । जग्गाको खण्डीकरणका कारण उत्पादनमा ह्रास आउने तथा जनसंख्या वृद्धिले खाद्यान्नको सन्तुलन कायम हुन नसक्ने अनुमान कृषि विकास कार्यालयले गरेको छ । हाल भइरहेको जनसंख्या वृद्धिदर कायमै रहे १२ वर्षमा रूपन्देहीमा उत्पादित खाद्यान्न अपुग हुनेछ ।
जिल्लामा ६९ हजार ६ सय क्षेत्रफलमा धानखेती हुने गरेको छ भने त्यसमा प्रतिहेक्टर ४.६ मेक्ट्रिक टन उत्पादन हुँदै आएको छ । जिल्लाको दोस्रो खाद्यान्नमा पर्ने गहँको उत्पादकत्व प्रतिहेक्टर २.५ मेट्रिक टन मात्रै छ । धान र गहँको तुलनामा अन्य बालीको उत्पादन निकै कम छ ।
जिल्लामा झन्डै दुई हजार पाँच सय हेक्टरमा मात्रै मकैखेती हुने गरेको छ । मकैखेती प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुने गरेको छ । तेलहन बालीको उत्पादन निकै कम भएकाले जिल्लामा हुने खपतको झन्डै ८० प्रतिशत आयात गर्नुपरेको हो । सात हजार चार सय ३७ हेक्टरमा खेती गरिए पनि उत्पादकत्व निकै कम अर्थात ०.६७ मेट्रिकटन प्रतिहेक्टर छ । ६ वर्षअघिसम्म दाल विदेश पठाउने रूपन्देहीले अहिले खपतको ६० प्रतिशत आपूर्ति गर्दै आएको छ ।
दालहन र तेलहन आयातमा निर्भर रहे पनि जिल्लाबाट खाद्यान्न, तरकारी, मासु, माछा भने बाहिरी जिल्लामा बिक्री हँदै आएको छ । गत वर्षको तथ्यांकअनुसार जिल्लामा तरकारी चार हजार ७५ हेक्टरमा खेती गरेकोमा कुल प्रतिहेक्टर २१ मेट्रिक टन उत्पादन भएको थियो ।
रूपन्देहीमा माछा उत्पादन भने बढ्दै गएको छ । हाल नौ सय ३५ हेक्टरमा माछापालन हुँदै आएको छ । प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत जिल्लामा पाँच सय हेक्टर क्षेत्रफलमा माछापोखरी विस्तार गर्ने कार्यक्रम लागू भएको छ। सिँचाइ अभाव, व्यावसायिक खेती नहँदा तेलहन र दालहनको उत्पादन कम हुँदै गएको कृषि विकास कार्यालयले जनाएको छ ।