जाडोमा के गर्ने
जाडोमा महको प्रयोग
जाडो मौसम सुरु भइसकेको छ । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौं समस्या आउँछन् । ओठ फुट्ने, छाला सुक्खा हुने, घाँटी दुख्नेजस्ता समस्या आइलाग्छ । यस्ता समस्या देखिनासाथ औषधि खाने गर्नुभएको छ भने त्यो गलत हो । प्राकृतिक रूपमा आउने स-साना समस्यामा औषधि खानु उचित हुँदैन । त्यसका लागि प्राकृतिक उपचार खोज्नु नै बुद्धिमानी हुन्छ । मह त्यस्तै बहुपयोगी प्राकृतिक उपचार हो । जाडोमा पनि महको निम्न प्रयोग गर्न सकिन्छ ।
ओठ फुटेकोमा
महमा थोरै मात्रामा नरिवल वा जैतुनको तेल, गुलाफ जल र थोरै मैन मिसाएर लगाएमा ओठ फुटेको निको हुन्छ । साथसाथै ओठ फुट्नबाट पनि जोगाउँछ ।
सुक्खा छालामा
दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन म्वाइस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ ।
त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुनर्निर्माण गर्छ । सुन्तलाको छालामा भएको भिटामिन सीले छालालाई नरम बनाउँछ । हल्का तताएको एक कप महमा दुई चम्चा शुद्ध दूध र सानो सुन्तलाको जुस मिसाएर त्यस्तो म्वाइस्चराइजर बनाउन सकिन्छ । प्रत्येक दिन दुईपल्ट ४५÷४५ मिनेट त्यो म्वाइस्चराइजर प्रयोग गरेर तातो पानीले पखाल्नुपर्छ ।
घाँटी दुखेमा
तातो दूधसँग वा चियासँग मिसाएर मह खाने गरेमा घाँटी दुखेको निको हुन्छ । त्यस्तै अदुवालाई ससाना टुक्रामा काटेर महमा भिजाई चुस्ने गर्दा पनि घाँटी दुखेको निको हुन्छ ।
चिसोबाट जोगिन
हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ । नियमित प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ जसले रुघाखोकी हुन दिँदैन ।
जाडोमा आनीबानी
-जाडो मौसममा अन्य सिजनभन्दा बढी पानी शरीरका लागि आवश्यक हुन्छ ।
-अधिक मात्रामा पानी पिउनुपर्छ ।
- तनावमा हुने व्यक्तिलाई जाडोमा चिसो र फ्लुले चाँडै समात्छ ।
- तनाव घटाउनुपर्छ वा तनावमुक्त हुनुपर्छ ।
- शरीरलाई चाहिने पोषणका लागि हरेक दिन ताजा फलफूल र तरकारी खानुपर्छ ।
- जाडोमा कम्तीमा १५ मिनेट कसरत गर्नुपर्छ । केहीबेर भए पनि हिँड्नु राम्रो हुन्छ ।
- ६ देखि ८ घन्टा सुत्नु आवश्यक छ ।
- जाडोको बेला समयसमयमा हात धुनुपर्छ । भाइरस र ब्याक्टेरियालाई आफूबाट टाढा राख्नुपर्छ ।
- धूमपान, गर्ने बानीले इम्युन सिस्टमलाई कमजोर बनाउँछ ।
- मदिरा, धूमपान जाडोमा झनै घातक हुन्छ ।
-दूधबाट बनेका खानेकुराहरू थोरै खानुपर्छ ।