जहाँबाट संसार सुरु हुन्छ
‘त्यो उचाइबाट हेर्दा कस्तो देखिएला साँझको हङकङ ? '
धरानबाट भेडेटार उक्लिँदाको झल्को दिने ताइमासोन डाँडाको बीच भागमा गाडी घ्याच्च रोकेर जय किरातीले भने, ‘ल अनुमान गर्नुहोस् आफैं....।' मैले उँधोपट्टि फर्केर हेरेँ, समुद्रको अथाह छातीमा मसिनामसिना अनगिन्ती टापुहरू । समुद्रले पारेका किनार, गल्छी र पहाडका टुप्पाटुप्पामा फैलिएका गगनचुम्बी संरचना । माकुराको जालोझैं जेलिएका सडक र पुलका जालोहरू । कल्पना गरेँ- कसरी बल्दा हुन् साँझमा मानिसका यी स्थापत्यहरू !
खोटाङ जिल्लाको हङकङनिवासी व्यवसायी जय किराती हाँकिरहेका छन् उनको खरानी रङको गाडी । उनीसँगै अघिल्लो सिटमा बसेर सवार भइरहेको जम्मा एक थान टुरिस्ट छु म । पार्किङबाट गाडी उकालो चढाउँदै उनी देखाउँछन्- यही हो हङकङका किरात राईहरूले साकेला नाच्ने ठाउँ । सम्झेँ, ०३७ सालतिर हाम्रै एउटा सानो समूहको पहलमा सञ्चालित काठमाडौंको पहिलो साकेला । शंकरदेव कलेजको त्यो प्रांगण ।
त्यसपछि स्थानान्तरण भएको टुकुचा किनारको तत्कालीन बासझ्याङ । सहिद मञ्च । त्यसपछि टँडिखेलको विशाल फाँट । शंकरदेव क्याम्पसदेखि हङकङको ताइमासोन डाँडासम्मको फैलावटमा मैले एउटा ठूलो सांस्कृतिक रूपक भेटेँ ।
डाँडाको अन्तिम पार्किङमा गाडी रोकेर उनले भने, उ, त्यो पारि चाइनाको बोर्डर । त्यो तल माटोले समुद्र पुरेर निर्माण गरिएको एअरपोर्ट । यताको पाटो लाहुरेहरूको पुरानो सहर सेकोङ जहाँ हाम्रा पुर्खाहरूले पसिना बगाएका छन् सयौं वर्ष ।
ताइमासोन डाँडाको अन्तिम खुड्किलोबाट नियाल्छु ।
यत्रतत्र छरिएका टापुहरूका अलावा मध्यम खालका पहाडहरूले मेरो मन तान्छन् । सयौंपटक हङकङको तस्बिर हेरिएको हो, कथा सुनिएको हो । टापु, समुद्र, सहर, ११८ तल्ला सम्मको ‘टावर सव'को अन्दाज भएकै हो । तर, हङकङमा पहाडहरू पनि छन् भन्ने हेक्कै गरेको रहेनछु । हङकङ उत्रनासाथ मलाई पहाड र समुद्रको अनुपम संगमले एकदमै उत्तेजित बनाइरहेछ । म किन यहाँको पहाड देखेर उत्तेजित छु ? के मभित्र अर्को एउटा सांस्कृतिक प्राणी पनि सँगै विचरण गरिरहेछ ?
फर्किंदा हामी सेकोङ हुँदै फर्कियौं । लाग्यो, धरानको पसिनाले बनेको छ सेकोङ । सेकोङको शिल्पले रंगिएको छ धरान । भेडेटारको काखमा पल्टिएको धरानको सादृश्यित तस्बिर आँखामा नाचिरह्यो सेकोङ ओरालो झर्दा । झर्दाझर्दै अचानक एउटा प्रश्न खडा भयो मनमनमा । हङकङ सहरबाट ताइमासोन डाँडासम्मको यत्रो यात्रामा, यस्तो हरियाली मनमोहक स्थल र ऐकान्तिक परिवेशमा पनि किन काठमाडौंको जस्तो युगल जोडीहरू एउटै भेटिन्नन् !
किन खालीखाली छन् यहाँका पार्क र बुट्यानहरू ? फेरि मनमनमै आफूले आफैंलाई उत्तर दिएँ— किनभने काठमाडौं (नेपाल)मा प्रेम वर्जित छ । त्यहाँ युगल जोडी भेटियो भने कारबाही गर्छ पुलिसले । लज, गेस्ट हाउस, रिसोर्टहरूमा छापा मारिन्छन् । प्रेमालाप जोडीहरूसँग म्यारिज सर्टिफिकेट मागिन्छ।
छैन भने जबर्जस्ती बिहे गराइन्छ । पशुपतिमा गाँजाको मुस्लो उडाउन छुट छ । शिवरात्रिमा नांगा बाबाहरूको नाच स्वीकार्य छ । तर, छेउकै वनकालीमा प्रेम गर्न वर्जित छ । त्यसैले प्रेमीहरू भागेर सुरक्षित ठाउँको खोजीमा भौंतारिन्छन् र देखिन्छ डाँडैभरि ‘सांस्कृतिक प्रदूषण' ।
‘क्रिटिक्स सोसाइटी हङकङ'को कार्यक्रम सेप्टेम्बर ११ को दिन तय भइसकेको थियो । हिँड्ने बेलामा सोसाइटीका संयोजक गीतकार हेमकुमार लावतीले म्यासेजमा लेखेका थिए, ‘दाइ, हङकङ एअरपोर्ट उत्रनुमात्र होस्, तपाईंलाई गाउँ गइरहेछुजस्तो लाग्नेछ ।' त्यो म्यासेजले म यति आश्वस्त हुन पुगेँ जति कि चार महिनाअगाडि नै उनको गीतकारिताको सामथ्र्यले गलिसकेको थिएँ ।
लावतीले रचेका गीतहरूको भीसीडी ‘निभाउन नआउनु आगो' नामक चार महिनाअगाडि पाएको थिएँ मैले । नभन्दै महिनौं अगाडिदेखि अल्सरको औषधि खाइरहेको र त्यसको गम्भीर असर घाँटीमा देखा परेको बिरामीलाई बल प्राप्त भएको थियो । साँच्चै भन्ने हो भने त्यहि म्यासेजको बलले मलाई ‘क्रिटिक्स सोसाइटी हङकङको निम्तो मान्न तयार गराएको थियो ।
सेप्टेम्बर ८ को साँझ जब म हङकङ एअरपोर्ट उत्रिएँ, साँच्ची नै हेम भाइको म्यासेज आँखाअगाडि साकार भएझैं लाग्यो । अगाडि उभिरहेका थिए मेरा अभिन्न मित्र संगीतकार दिनेश सुब्बा, कवि मनु कन्दङ्वा र युवा गायक अन्तिम राई । दशकभर काठमाडौंमा सहयात्रा गरेका दिनेश सुब्बालाई दशकपछि भेट्दा लाग्यो—म फेरि उभिएको छु रेडियो नेपालको त्यही प्रांगणमा र सुनिरहेछु उनका कालजयी संगीतहरू ।
मनुलाई भेट्नासाथ भेटेँ हङकङको स्टार फेरीमा गाइरहेको उनकै कविताको बुलबुल चरी । अन्तिम राईलाई देख्नासाथ लाग्यो पच्चीस वर्षपछाडि फेरि गाइरहेछु अन्तिमकै स्वरमा त्यो गीत, ‘पूर्वै जाने रेल/हाँसेर बोल न साथी दुई दिन बाँचुन्जेल...'
एअरपोर्टबाट गाडी चढ्दा साँच्ची नै लागिरह्यो, गाउँ फर्किरहेछु । गाडीमै दिनेशजी भन्नुहुन्छ, ‘तीन विशेष एकाइहरू मिलेर बनेको छ हङकङ- काउलुन, न्यु टेरिटरी र पुरानो हङकङ । र, याद गर्नुस् हामी रहने ठाउँको नाम काउलुन हो ।'
उहाँको कुरा सुनेपछि बल्ल हङकङमा छु भन्ने भयो । यस्तै अनुभूति र बिरामी शरीर लिएर साँझपख जोर्डनस्थित अन्तिमको साघुँरो डेरामा यात्रा बिसाइयो । अन्तिम भन्छ, ‘जोर्डन हङकङको मिनी नेपाल हो । यहाँ सबै खालका नेपाली अनुहार र मनोदशा भेटिन्छन् । सडकमा निस्कनुहोस्, हरेक मोडमा नेपालीसँग ठोक्किनुहुनेछ ।'
बेलुकी अबेरतिर आयोजक संस्थाका सदस्यहरूसँगको भेटघाट छ । जोर्डनस्थित बीएन्डबी रेस्टुरेन्टका व्यवसायी भाइबहिनी बालिका वान्तवा र वसन्त राई स्वागतार्थ पर्खिरहेका छन् । हङकङको समयानुसार रातको ९ बजेतिर लक्षित सदस्यहरूको आगमन हुन्छ । हेम, मनु र अन्तिमबाहेक पहिलो चोटि भेट भइरहेका रवीन राई र निरज राई छन् ।
रविन खाहोङ बान्तवा राई पेसाले इन्जिनियर, गीत लेख्छ पेसाजस्तै जटिल । उसलाई भेटेपछि लाग्यो, मात्र चार दिनअगाडि काठमाडौंमा पढेको उसका गीतहरू एकाएक पुनरावृत्त भएका छन् त्यहाँ ।
बीएन्डबी रेस्टुरेन्टको एउटा टेबल भरिँदै गइरहेछ । रेस्टुरेन्टका बालिका र वसन्तका वाफिला सद्भावहरू टेबलवरिपरि यस्तरी फैलिरहेका छन् मानौं वर्षौंदेखि हामीले एकअर्कालाई चिनेका छौं । भाइहरूको क्षीण आग्रह छ हङकङको प्रथम रात, प्रथम भेट, जे छ टेबलमा ठडिएको त्यसबाट म पनि अनुमोदित होऊँ । तर हेम भाइले संकेत गरिरहेका छन्– नो, किनभने दाइ बिरामी हुनुहुन्छ ।
वास्तवमा चारपाँच महिनादेखि एता म निरन्तर परहेजमा छु । परहेजमा हैन, वञ्चितीमा छु । मैले रक्सी छाडेको छु । हैन, रक्सीले मलाई छोडेको छ । मानौं रक्सीले मलाई भनिरहेछरू तँ अब मेरो लायक रहिनस् । बितेका त्यस्ता हजारांै साँझ टेबलको नेप्किन पेपरझैं खात लगाएर विगत पाँच महिनादेखि निरन्तर मैले यो व्यंग्य खपिरहेछु ।
जसको एक साक्षीका रूपमा काठमाडौंकै एक भेटबाट हेम भाइ जानकार छन् । त्यसैले आज उनैले हङकङमा मेरो बचाउ गरिरहेछन् ।
रवीन भन्छ, ‘आज दाइका केही कुरा सुनौं ।' तर घाँटीको समस्याका कारण खानपिन पनि गर्न नभइरहेको अवस्था छ मेरो । अलि बेर बोल्दा घाँटी बस्छ । मलाई यस्तोमा शरीर एकदमै शिथिल भएको महसुस हुने गर्छ । त्यसैले मैले आफ्नो असहायपन जाहेर गर्दै भने, ‘आज म नबोलुँ, भाइबहिनीकै कुरा सुनँ ।'
सदस्यहरूको ऊर्जाको बत्ती रातको हङकङ सहरजस्तै झन्झन् बलिरहेछ । अथवा यसो भनौं, दिनभरि कामबाट थकित भएर फर्के पनि उनीहरू रात काट्न खोजिरहेछन् मेरो नाममा । म यो सौहार्दता राम्ररी बुझ्छु । अफशोस ! अशक्त हुन्छु । तैपनि एकै स्वरमा तय भइसकेको छ त्यहाँ— ‘दाइलाई स्टार फेरी घु्माउन लैजाउँ ...।'
जतिजति रात छिप्पिँदै जान्छ उतिउति ब्यूँझन्छ हङकङ । स्टार फेरीको सामुद्रिक किनारमा पुगेर हेम भन्छन्, ‘हामी अहिले छौं काउलुनमा । पारि हङकङ । यो बीचको कालो फाँट फेरि चल्ने समुद्र जो अंग्रेजकै पालादेखि यथावत् राखिएको छ अहिलेसम्म । सामुद्रिक जहाजहरू अनेक बनिसके संसारमा तर यो पुरानो फेरीलाई जस्ताको तस्तै राखिएको छ ओल्ड हेरिटेजका रूपमा ।'
हुन पनि संसारका अनेक देशले आफ्ना धेरै सम्पदा यसरी नै बचाएर राखेका छन जीवित इतिहासका रूपमा । मैले समुद्रमा तैरिरहेको त्यो सदियौं पुरानो फेरि नियालेँ । पारिपट्टिको हङकङ सहर धपक्क बलिरहेथ्यो पानीमुनि ।
त्यति नै खेर रवीन भन्छ, ‘उ पारि उज्यालोले नुहाइरहेको त्यो अग्लो टावर देख्नुभो दाइ ? '
भनें ‘देखेँ ।'
फेरि भन्यो, ‘हो त्यही हो हाङयुग अज्ञात काम गर्ने ठाउँ ।'
हङकङ समयानुसार लगभग रातको २ बजे मैले त्यो समुद्रको किनारमा कल्पना गरेँ । सयौं तला अग्लो त्यो टावरको कुन तलामा बसेर कविताको टावर ठड्याउँदै होला यतिखेर हाङयुग !
दिनेशजीको सौजन्य स्वरूप काठमाडौंको मर्निङ वाक जोडिन पुगेको छ यहाँ पनि । हरेक बिहान ७ देखि ८ बजेसम्म उहाँ मलाई पर्खनुहुन्छ जोर्डनको मुटुमा रहेको ‘एडिक पार्क'मा । ‘एडिक्ट पार्क' सुन्दा अनौठो लाग्ने नाम । तर नेपालीकै कारणले बनेको रहेछ यो नाम ।
अक्सर नेपाली दुव्र्यसनीको जमघट हुने पार्क हुनाले त्यसको पुरानो नाम मेटिएर बनेको रहेछ एडिक्ट पार्क । दिनेशजी भन्नुहुन्छ- एडिक्टहरूलाई पनि खेद्न र हटाउन पाउँदैन यहाँको पुलिसले । उनीहरूको समेत मानवअधिकार सुरक्षित छ यहाँ ।
दिनेशजीले हरेक बिहान दौडाउनुहुन्छ मलाई नयाँनयाँ ठाउँ । कहिले काउलुन पार्क, कहिले फेरीको किनार, कहिले लायन रक गार्डेन । टाढादेखि हेर्दा ठ्याक्कै सिंहजस्तो देखिने त्यो पहाडको चुचुरा चढेको बयान गर्नुहुन्छ उहाँ । कहिले जोर्डनको कुनै रेस्टुरेन्टमा राखेर विशेषज्ञझैं काउन्सिलिङ गर्नुहुन्छ मलाई, ‘ग्यास्ट्रोलोजिस्टहरूले भन्दैन तपार्इंलाई तर तपार्इंको रोगको प्रत्यक्ष सम्बन्ध हुन्छ दिमागसँग । यसले बढाउन सक्छ एन्जाइटी । त्यसैले जित्नुपर्छ त्यो एन्जाइटीलाई । दिनेशजी यसरी मेरो लागि साथी, पथप्रदर्शक, सल्लाहकार, डाक्टर सबै भइदिनुहुन्छ ।
कार्यक्रमहरू खप्टिरहेका छन् दिनदिनै । सबै ठाउँमा भ्याउन गाह्रो हुँदै गइरहेको छ । दिनेशजीलाई डर छ कतै बोल्ने बेला मेरो घाँटीले जवाफ नदेओस् । त्यसैले एक बट्टा चाइनिज हर्बल हनी मेरो लागि किनिदिनुभएको छ । दिनको दुई चोटि त्यही खाएर म भन्छु- नआत्तिनोस् दिनेशजी, म ठीक हुँदै गइरहेछु ।
तर हङकङ आइपुगेर एउटा अनौठो तनावमा छु, दिनेशजीलाई पनि त्यो थाहा छैन । मानिसले जमिन अतिक्रमण गरेको छ त्यो सायद स्वाभाविक हो । जमिनमाथि मान्छेको अधिकार सायद स्वाभाविक पनि छ । जमिनमुनि अतिक्रमण गरेको छ । हडपेको छ समुद्र पनि । तर, आकाशको अतिक्रमणले मभित्र तनाव सिर्जना गरेको छ । सडकमा उभिएर आकाशतिर हेर्दा केवल देखिन्छन्- आँखाले नभ्याउने उचाइसम्म लटरम्मै ठडिएका छन् मानिसका संरचना । अन्तिमको १८ तले डेराको झ्यालबाट तल हेर्दा मानिस कमिलाझैं लाग्छ । मलाई यसले यातनाग्रस्त बनाएको छ ।
त्यसो त त्यो दिन ‘ओसन पार्क' घुम्दा पनि दिनेशजी र अन्तिमले थाहा पाएनन्- मैले के देखेको छु त्यो डल्फिनको सर्कसघरमा ! तीसौं चालीसौं वर्षदेखि सुन्दै आएको र तस्बिरमा हेर्दै आएको त्यो डल्फिन घरमा मैले केवल डल्फिन मात्र देखिरहेको थिइनँ । त्यो दिन त्यहाँ उपस्थित हजारौं मानिस डल्फिन र सिल्ड माछाको खेल हेरिरहेका थिए तर मैले त्यहाँ डल्फिनको सट्टा कुनै अप्रिय कविता देखिरहेको थिएँ ।
छेउमै छ समुद्र तर समुद्रबाटै च्यूत छ त्यो डल्फिन । मलाई लाग्यो, त्यो डल्फिन र म उस्तैउस्तै छौं । म पनि काटिएको छु आफ्नै समुद्रबाट आफ्नै देशमा । म पनि डल्फिनजस्तै अरू कसैका लागि इमानदार भइरहन विवश छु । अरू कसैका लागि बुद्धिमान् बनिदिन अभिशप्त छु ।
विचरा मेरो गाउँले भाइ भोजपुर सेवा समाजको अध्यक्ष खड्ग राई र सचिव इन्द्र श्रेष्ठले त्यत्रो दुःख गरे मेरो लागि तर उनीहरू पनि बेखवर थिए कि के सोचिरहेछु म ! ‘बिग बुद्ध'को रोमाञ्चक यात्रामा निस्कँदा केबलकार हँदै समद्र छिचोले पनि, डाँडाकाँडा नाघे पनि फर्किने बेला जब हामीले पानीजहाज चढ्यौं, समुद्रको त्यो अथाह फैलावटमा मैले त्यही डल्फिन सम्झेँ ।
त्यतिमात्र होइन स्टेन्ली बिचमा खेल्दा जब पहिलो चोटि मेरो जिब्रोले नुनिलो पानीको स्वाद पायो, त्यहाँ पनि रविनको दूधकोसी र चप्पलको विम्ब अनि मनुको बुलबुल चरीसँगै फेरि त्यही डल्फिन सम्झेँ ।
‘ओसन पार्क' डुलेर फर्केको त्यो दिन, बेलुका डेरामा मैले चुपचाप एउटा कविता लेखेँ, ‘ओसन पार्कको डल्फिन' । र पर्सिपल्ट क्रिटिक्स सोसाइटीको कार्यक्रममा चढाइदिएँ समस्त हङकङनिवासीको नाममा- चिनोस्वरूप ।
हङकङनिवासी नेपालीका केही आफ्नै चासो छन् । केही स्वाद छन् । केही प्रश्न पनि छन् तर हङकङनिवासी साहित्यकर्मीका चासो र स्वादहरू एकै छैनन् । त्यो एकै नहुनुको बहुल परिवेशमा मैले केही उत्तरहरू छोडेर फर्केको छु ।
यसका लागि क्रिटिक्स सोसाइटी आफैं आयोजक र सहजकर्तामात्र नभएर त्यति नै उदार र लचिलो देखिएको थियो । दृश्यमा ममाथि रवीनको ‘गीत सागर' विमोचनको जिम्मेवारी भए पनि सोसाइटीले आफ्नो नामअनुसार मलाई वैचारिक र विवेचनशील हुने स्वतन्त्रता प्रदान गरेको थियो । जुन त्यस कार्यक्रमको एउटा सुन्दर पक्ष थियो ।
चालीसको दशकदेखि लेखनमा एउटा बोझिलो एजेन्डाको भारी मैले किन बोक्नुपर्यो ? कुरा यसैको सेरोफेरोबाट सुरु भएको थियो त्यहाँ । प्रत्यक्ष हेर्दा अढाई सय वर्ष तर परोक्षमा झन्डै दुई हजार वर्षदेखि नेपालमा जुन सम्प्रदायको सांस्कृतिक र प्राज्ञिक परम्परा स्थापित छ, राज्यसत्ता उसैको हातमा छ ।
आजको पहिचानवादी लेखन भने पनि अस्तित्वको लडाइँ भने पनि सब त्यही स्थापित परम्पराप्रतिको प्रतिरोध हो । चालीसको दशकबाट आजसम्म हामीले जे लेखिरहेका छौं वास्तवमा त्यही प्रतिरोध लेखिरहेका छौं । यही लेखसमेत आजको नेपालको मूलधार पनि हो ।
त्यो दिन हाङयुग अज्ञातले पनि यसै कुरालाई पुष्टि गर्दै चालीसको दशकको मलाई मात्र होइन बीसको बैरागी दाइलाई समेत सप्रसंग स्मरण गर्न पुगेको थियो । पचासको दशकमा हाङयुगहरूले लेख्दा हामीलाई देखाएर सुरक्षित महसुस गरेको र हाङयुगहरूलाई पाएर मैले आफ्नो बोझ हल्का भएको दुवै कटु यथार्थ पटाक्षेप हुन पुगेको थियो त्यो दिन ।
हङकङ नेपाली डायस्पोराको चिन्ता र चिन्तन पनि केही केही नदेखिएको हैन त्यहाँ । तर डायस्पोराको बहस राजनीतिक अधिकारसँग पनि गाँसिएको विषय हो भन्न हङकङका कतिलाई थाहा होला म भन्न सक्दिनँ । मैले गीतकार टंक सुब्बालाई सम्बोधन गर्दै त्यो दिन भनेको छु, ‘एकखाले चिन्तकहरू पनि छन् नेपालमा जसले तपाईंहरूलाई जबर्जस्ती डायस्पोरा बनाउने राजनीति गरिरहेका छन् । र, डायस्पोरा भनिदिएकोमा गर्वले छाती फुलाउने तपाईंहरू हुनुहुन्छ । यतातिर कत्तिको चिन्तन गरिरहनुभएको छ तपाईंहरूले ? '
यीबाहेक सामाजिक र राजनीतिक संघसंस्थाहरूको अत्यन्तै बाक्लो उपस्थिति छ हङकङमा । यसले पुष्टि गर्छ, हङकङ साँच्चि नै मिनी नेपाल हो । त्यहाँ पुगेपछि मसँग जोडिएका किरात राई यायोक्खा, हङकङ महासंघ, किराती राष्ट्रिय मुक्ति मोर्चा, भोजपुर सेवा समाज, हिमालयन म्युजिक टोन्स, बगैचा प्रालिजस्ता संघसंस्थाले व्यस्त हुन मद्दत गरेकै हुन् मलाई ।
एउटा अनौठो र सुखद प्रसंग, किरात राई यायोक्खा हङकङका अभियन्ताहरूले लगभग नेपाली तीन करोड २५ लाखको लागतमा एउटा माङखिम (पूजाघर) किनेका रहेछन् त्यहाँ । त्यही माङखिमभित्र मलाई प्रवेश गराउने र चुलामा देखाएर फेटा गुथाउने किराती कर्म निकै सुखद क्षण थियो मेरो लागि । खुसी लाग्छ, किरातीहरूले माटोसँगको आफ्नो अक्षुण्णता त्यहाँ पनि प्रमाणित गरेर देखाएका छन् ।
चुलासँगको निर्वैकल्पिक सम्बन्ध त्यहाँ पनि जोगाएका छन् । मानौं, यो सम्बन्ध ह्वाङहोदेखि हङकङसम्म जोडिन पुगेको छ । तर, एउटा विचारणीय पक्ष पनि छ त्यो के भने, त्यत्रो लगानी गरेर त्यो टाढाको भूमिमा किनेको घरको उत्पादकत्वचाहिँ के होला ? बरु त्यसको थोरैमात्र अंश किराती बौद्धिक परम्परा निर्माणमा अथवा दुईचारजना किराती स्कलरहरू जन्माउने काममा पनि लगानी गरेको भए अझ सार्थक हुने थियो । एउटा जातिको अस्तित्व त अन्तत्वगत्वा यस्तै प्राज्ञिक कसरतहरूले जीवित राख्ने हो ।
यस्तै केही प्रश्न र केही उत्तरको ढुंगा फालेर फर्केको छु हङकङबाट म । थाहा छैन कति फैलनेछ त्यसको तरंग ? यति हो ‘नयाँ पेज'को मिनी हलमा त्यो दिन झन्डै पच्चीस वर्षअगाडिको आफैंले बिर्सिसकेको मेरो गीत मेरै सम्मानार्थ जब दिनेशजीले गाउनुभयो; त्यस्तै निरज राई, राजशुक्र लिम्बू र सोनम महर्जनहरूले जब पालैपालो त्यसै गरे त्यो क्षणमा भने म निरुत्तर भएको पक्कै हो ।
हङकङका नेपाली उदार छन् । उनीहरू पाहुनाका लागि बन्द मुठी निसंकोच खोल्छन् । तर, कन्जुस छन् समयको किनभने बेफुर्सद छन् । कसैले फुर्सद निकालेर मात्र एक दिन साथ दिन्छ भने सम्झनुहोस् त्यो सबभन्दा महँगो उपहार हुनेछ ।
त्यहाँ बेफुर्सदीमा पनि खटिरहने अरू पनि धेरै नाम छन् । रजिन राई, हरिचन्द्र सामपाङ, शशिमदन राई, सुवास राई, रीता गुरुङ, मणि वान्तवाजस्ता सामाजिक अभियन्ता छन् । जैमान राई, कवि राई जस्ता व्यवसायीहरू छन् । नरेश सुनुवार, वज्र राई, किसन राई, राजकुमार राई, रमेश नामहाङजस्ता कवि पत्रकारको घुइँचो छ जसले तपाईंलाई हङकङ बसिन्जेल हङकङबासी बन्न दिँदैन ।
भूमिगत रेल स्टेसनमा छुट्ने बेला रमेश नामहाङलाई गाली गरेको कुरा सम्झिरहेछु यतिखेर, ‘तिमी आफ्नो कवितालाई कविता भन्न किन डराउँछौ ? ' छुटेको कही मिनेटभित्रै मेरो म्यासेज बक्समा उसका दर्जन जति कविता आएर बसे । एक्कासि लाग्यो कि एउटा सदस्यको नयाँ कविताले झन्झन् बाँधिरहेछ यो सहरमा मलाई ।
हङकङ बसिन्जेल मैले सम्झिरहेँ । आजभन्दा ६/७ वर्षअगाडी सन् २००९ मा एक साहित्यिक भ्रमणका लागि जर्मनी पुगेको थिएँ । जर्मनीका पाँच ठूलाठूला ऐतिहासिक सहरमा कविता वाचन गर्दै हिँड्ने क्रममा जब म फ्रान्सको पेरिस पुगेँ, अझ जब पेरिसको लुभ्र म्युजियम पुगेँ, मलाई अचानक लागेको थियो- संसार सिद्धिएको छ । अब म कतै नगए नि हुन्छ । तर यसपटक हङकङमा त्यति धेरै साथ धेरै हात पाएर मलाई अनुभूति भयो-हङकङ त्यो ठाउँ हो जहाँबाट संसार सुरु हुन्छ ।
१८ सेप्टेम्बरका दिन हङकङ एअरपोर्टबाट गायक अन्तिम राईसँग छुट्टिँदा मलाई फेरि हेम भाइको त्यही म्यासेजले झकझक्यायो । लाग्यो, म आफ्नो गाउँ छाडेर गइरहेछु, कतै बिरानो ठाउँतिर...।