इकार्डीको कप्तानी संकटमा 

इकार्डीको कप्तानी संकटमा 

मिलानः महत्वपूर्ण खेलमा पेनाल्टीमा समेत गोल गर्न चुकेपछि इन्टर मिलानमा मउरो इकार्डीको कप्तानी संकटमा परेको छ । इटालियन सिरिए फुटबलको आइतबार राति भएको खेलमा इकार्डीले पेनाल्टी प्रहारको अवसर खेर फालेपछि इन्टर मिलान काग्लिआरीसँग २-१ गोलले पराजित हुन पुगेको थियो । पराजयसँगै आठ खेलबाट ११ अंकमात्रै जोड्न सकेको इन्टरतालिकाको ११ औं स्थानमा सीमित भएको छ ।

खेलको पहिलो हाफमै प्राप्त पेनाल्टी प्रहारको अवसरमा गोल गर्न चुकेपछि इकार्डीको व्यापक आलोचना भएको थियो । खेलको २६ औं मिनेटमा ब्रुनो आल्भेसले इकार्डीलाई पेनाल्टी बक्सभित्र लडाएपछि इन्टरले पेनाल्टी प्रहारको अवसर पाएको थियो । यद्यपि इकार्डीले पोस्टभन्दा बाहिर प्रहार गरेपछि आफ्नै मैदानमा सयौंको संख्यामा उपस्थित इन्टरका समर्थक आक्रोशित बनेका थिए । खेल अवधिभर इन्टरका समर्थकले ब्यानरसहित इकार्डीको विपक्षमा नाराबाजी गरेका थिए ।

पेनाल्टी प्रहारको अवसर खेर फालेपछि इन्टरका उपाध्यक्ष जेभियर जानेट्टीले पनि इकार्डीको कप्तानीको विषयमा छलफल गरिने प्रतिक्रिया दिएका छन् । इन्टरका प्रशिक्षक फ्राङ्क डी बोइरले पनि यस विषयमा छलफल हुने संकेत गरेका छन् । ‘हामी यस विषयमा गम्भीरताका साथ छलफल गर्नेछौं', प्रशिक्षक बोइरले भनेका छन्, ‘त्यसमा खेलाडी र हाम्रा समर्थकलाई पूर्ण सम्मान दिएर छलफल गरिनेछ ।'

खेलको दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै जोए मारियोले इन्टरलाई १-० को अग्रता दिलाएका थिए । काग्लिआरीका गोलरक्षक मार्का स्टोरारीले फर्काएको बललाई गोलमा परिणत गर्दै मारियोले टोलीलाई अगाडि बढाएका थिए । तर त्यसपछि लगातार दुई गोल व्यहोर्दै इन्टर आफ्नै मैदानमा महत्वपूर्ण तीन अंक गुमाउन बाध्य बन्यो ।

काग्लिआरीको जितमा फेड्रिको मेल्चिओरीको भूमिका महत्वपूर्ण रह्यो । ७१ औं मिनेटमा टोलीका लागि बराबरी गोल फर्काएका मेल्चीओरीले टोलीको विजयी गोलका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । उनकै प्रहारलाई इन्टरका गोलरक्षक समीर हान्दानोभिचले आफ्नै पोस्टमा छिराएपछि काग्लिआरी २-१ ले विजयी बनेको थियो । आठ खेलबाट १३ अंक बनाएको काग्लिआरी तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

अर्को खेलमा एसी मिलानले महत्वपूर्ण जित हात पार्‍यो । एसी मिलानले चिएभो भेरोनालाई ३-१ गोलले हरायो । एसी मिलान अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आठ खेलपछि दोस्रो स्थानको रोमासँग समान १६ अंक बनाए पनि गोलअन्तरमा पछि परेको एसी मिलान तेस्रो स्थानमा पुगेको हो । चिएभोको मैदानमा भएको खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको एसी मिलानले दोस्रो हाफमा थप दुई गोल गर्दै जित पक्का बनाएको थियो ।

खेलको ४५ औं मिनेटमा जुराज कुक्काले पहिलो गोल गरे । दोस्रो हाफ सुरु भएलगत्तै एमबाये नियाङले आकर्षक गोल गर्दै एसी मिलानलाई २-० ले अघि बढाएका थिए । ७६ औं मिनेटमा भाल्टर बिर्साले फ्रिकिकमार्फत गोल गर्दै चिएभोलाई खेलमा फर्काउने प्रयास गरे ।

तर कार्लास बाक्काको प्रहारलाई रोक्ने प्रयासमा चिएभोका डिफेन्डर डारियो डाइनेल्लीले बल आफ्नै पोस्टभित्र छिराएपछि एसी मिलानको जित ३-१ ले पक्का बनेको थियो । चिएभोले यो वर्ष आफ्नो मैदानमा पराजय व्यहोरेको पहिलो पटक हो । आठ खेलबाट १३ अंक भएको चिएभो तालिकाको छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.