नीना

नीना

म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, 'बिहान यसो जुम्बा, साल्सा गर । नयाँ साथीहरू पनि बन्छन् । शरीर पनि फ्रेस, मन पनि फ्रेस ! तिमी फ्रेस भयौ भने म पनि फ्रेस !' सुरुमा झ्याउ लागे पनि पछि लौ गइहेरौं न त कस्तो रहेछ भन्ने मनमा लाग्यो र म हब्बीसँग हेल्थ क्लब गएँ ।

त्यहाँको वातावरण गजबको थियो । मैले कहिल्यै नदेखेका मान्छेहरू त्यहाँ थिए । सुरुसुरुमा जुम्बा गरेँ । पछि हब्बीले भन्यो, 'साल्सा गर । साल्सामा बढी आनन्द आउँछ । पार्टीहरूमा नाच्नुपर्‌यो भने काम लाग्छ ।' मलाई जुम्बाभन्दा साल्सा मन पर्‌यो र साल्सा गर्न थालेँ । हब्बी जिम गथ्र्यो, म साल्सा । साल्सामा केटा र केटी सँगै उभिएर ट्रेनरको चाललाई अनुकरण गर्दै संगीतको तालमा शरीरका अंगप्रत्यंग हल्लाउँथ्यौं ।

पछि ट्रेनरले नै हात समातेर नचाउन थाल्यो । अलिकति जान्ने भएपछि ट्रेनरले जोडी बनाएर नचाउन थाल्यो । केटासँग हात समातेर नाच्नुपथ्र्यो । नाँच्ने बेला हामीहरूका आँखा जुध्थे, कुम जोडिन्थे, छातीमा छाती जोतिन्थ्यो, घुँडा र पैतालाहरू ठोकिन्थे । मेरो कम्मरमा केटाको हात हरदम सर्पसरी बेरिइरहन्थ्यो । म लाजले राती हुन्थेँ । शरीरमा एकप्रकारको मादक नशा लहराउँथ्यो र छिनभरमै हराउँथ्यो पनि ।

एक दिन साल्सा गर्दागर्दै एउटी केटीसँग ठोक्किएँ म । मलाई अझै राम्रोसँग तालमा चाल मिलाउन आउँदैन थियो । म आफँं जोतिन पुगेकी थिएँ उसको पिठ्यूँमा । ऊ माला थिई । 'ओ सेट् !' ऊ कराई । रिसाई भन्ने ठानेर मैले 'सरी' भन्दै झुकेर माफी मागेँ । मेरो व्यवहार देखेर ऊ रिसाउन छोडी मुसुक्क हाँसी । 'इट्स ओके नो प्रोब्लम !' उसले भनी । ब्रेकको समयमा कुर्सीमा बसेर सुस्ताइरहेको बेला ऊ मेरो नजिक आई र भनी 'म माला !'

मैले पनि जवाफ दिएँ, 'म नीना !' रेस्टुरेन्टमा बसेर हामीले सँगै ब्ल्याक कफी पियौं । साल्साको सेसन समाप्तिपश्चात् मैले स्टिम बाथ लिएँ र फ्रेस भएँ ।

'तिमीलाई म आफ्नो गाडीमा छोडिदिऊँ ? ' मालाले भनी ।
'मेरो लोग्ने जिम गर्दैछ । उसलाई पर्खिन्छु', मैले भनेँ ।

'...हिम डियर ! यु डोन्ट निड टु वेट हिम । ऊ एक्लै आउन सक्दैन र !' माला उन्मुक्त भएर हाँसी । कुनै स्वास्नीमान्छे यसरी हाँसेको पहिलोपटक देखेकी थिएँ मैले ।

'तैपनि, म सोध्छु है !' यति भन्दै मैले मोबाइलबाट उसलाई कल गरेँ । उसले दुई घन्टीमा नै फोन उठायो । मैले मालाले भनेको कुरा गरेँ । उसले भन्यो, 'ल ल बधाई छ । कति छिटो मिल्ने साथी भेट्टाएकी नि ! हुन्छ हुन्छ जाऊ ।' मैले सोचेकी थिएँ, उसले मलाई आफूलाई कुर्नू भनेर भन्नेछ । तर, मेरो अपेक्षाविपरीत जवाफ दिएको थियो उसले । मैले घोसे मुन्टो लगाएँ ।

'जाऊ भन्यो हैन ? ' माला फेरि हाँसी । मैले पक्क परेर मालाको अनुहारमा हेरेँ । ऊ कर्के आँखाले मलाई नै हेरिरहेकी थिई ।

'हज्बेन्ट उडन्ट इन्जोई द प्रिजेन्स अफ हिज वाइफ नीना, वी सुड गो नाउ ।' केही बुझिनँ मैले । ट्वाल्ल परेर हेरिरहेँ ।
'जाऊँ के !!' कराई ऊ । म दौडेर मालाको कारभित्र छिरेँ ।

'तिमीलाई देखेर मलाई आफ्नो विगत सम्झना आयो नीना । करिब १० वर्षअघि म पनि ठ्याक्कै तिमीजस्तै थिएँ । सोझी, लाटी, पतिव्रता, घरेलु र पतिकी मायालु अंगशायनी ।' उसले मेरो अनुहारमा पुलुक्क हेरी र फेरि भन्न थाली, 'एक दिन मेरो जीवनमा एउटा मान्छे प्रवेश गर्‌यो र मेरो सारा संसार बदलिइदियो । त्यो मान्छेले नै मलाई स्वतन्त्र भएर बाँच्न सिकायो । रमाउन सिकायो । जिन्दगीलाई भरपूर जिउन सिकायो । मलाई हेर, मलाई कुनै तनाव छैन ।

न घरको, न लोग्नेको, न त बच्चाको । पछि गएर त्यो मान्छेले मलाई आफ्नो बन्धनबाट मुक्त गर्यो । आफू पनि मेरो बन्धनबाट मुक्त भयो । उसले भन्यो, 'तिमी नदी बन्नुपर्छ नदी । सललल बग्न सिक । यौटै मान्छेको संगत गर्‌यौ भने तलाउझैं जम्छौ र तिम्रो घेरा सीमित हुन्छ । तलाउमा असला माछाहरूको जस्तो स्वस्थ र ताजा जीवन जिउने आशा गर्न सक्दिनौ तिमी ।

केवल भ्यागुताहरू टर्रटर्र गर्नेछन् तिम्रो जीवनमा ! माछा बनिहाल्यौ भने पनि हिले माछाभन्दा अरू बन्न सक्नेछैनौ तिमी ।' वाह ! कति प्रगतिशील सोच थियो उसको नीना । म अहिले नदीझैं गतिशील र आकाशको चराझैं उन्मुक्त छु ।' ऊ फेरि खितखित गर्दै हाँसी । उसको हाँसो देखेर मलाई अनुभूति भयो— मानौ, सैयौं चरा एकैसाथ पंख फड्फडाउँदै जमिनबाट आकाशतिर उडेका छन् ।

-तीन चारजना केटाहरूले मलाई घेरे । म डान्स फ्लोरमा तिनीहरूसँग नाचिरहेकी थिए । तिनीहरू पालैपालो नचाइरहेका थिए मलाई । तिनीहरूको स्पर्श, गन्ध र गति फरक थियो । यही फरकपनाले म पुलकित बनिरहेकी थिएँ । हरेकको अँगालोले मलाई लोभ्याइरहेको थियो । अहा ! यो पो हो त असली जीवन !

'यो जीवन निकै छोटो छ नीना । हामीसँग पूरा संसार घुम्ने समय र सामथ्र्य पनि छैन । संसार हामीभित्रै छ । घरको चौघेरोबाट निस्केर बाहिर आऊ नीना र आफूभित्रको संसारको घुम्टो उघारेर हेर । यो बहुरूपिया संसार कति अनौठो छ ।'
भोलिपल्ट बिहान मैले घरको छतबाट आफू वरिपरिको संसार हेरेँ । मान्छेहरू हिँडिरहेका थिए । चराहरू उडिरहेका थिए । मैले मालाले भनेका कुराहरू सम्झेँ र आकाशतिर हेर्दै सोचेँ, म पनि आकाशझैं फैलिनु छ ।

केही दिनपछि म मालासँग सपिङ मलमा गएँ । मालाले मेरो जीउमा टमक्क मिल्ने थरीथरीका लुगाहरू छानी । त्यस्तो रूप र रंगका लुगाहरू यसअघि मैले कहिल्यै लगाएकी थिइनँ । लुगा लगाएर जब म ट्रायल रुमको ऐनाअगाडि उभिएँ । मलाई विश्वास गर्न गाह्रो भयो कि ऐनामा देखिएकी त्यो आधुनिक स्त्री म नै हुँ ।

'तिमीभित्रको संसार बाहिर निस्किने जमर्को गर्दैछ नीना ! वाह नीना हाउ ब्युटिफुल यु आर ? ' मालाको स्वरमा आश्चर्य थियो । खुसीले पुलकित भएँ म ।

मेरो ड्रेसअप फेरिएको थियो । धोती, सारी र कुर्ता सुरुवाललाई पोको पारेर थन्क्याएँ मैले । म पनि मालाको सिको गर्न थालेँ । कुरकुरे बैंसमा टेकेका युवकयुवतीले लगाउनेजस्ता जीउमा टिमिक्क टाँसिने, छोटा र पारदर्शी लुगाहरू लगाउन थालेँ म । खुट्टामा हिल र बुट अनिवार्य बने । म बदलिएँ, हेल्थ क्लब पनि बदलियो । मैले गाउने गीत बदलिए । मैले खाने खानेकुरा बदलियो । मेरो नजर बदलियो । यो संसारलाई सुन्दर देख्न थालेँ । कसैको नजरमा नपर्ने म पनि सबैका आँखाहरूले पछ्याउने पात्र बन्न पुगेँ ।

एक दिन मालाले मलाई जिस्क्याउँदै भनी, 'ए नीना, मेरा ब्वाइफ्रेन्डरू पनि तँलाई आँखा लगाउन थाले है ।'
मनमा खुसी लागे पनि मैले खुसी व्यक्त गर्न सकिनँ । बरु मेरो अनुहार कालोनीलो भयो । मैले अकमकाउँदै भनेँ, 'के भनेको माला ? '

खित्का छोड्दै हाँसी माला । 'टेक इट इजी नीना । किन मुख बिगारेकी यार ! मेरा ब्वायफ्रेन्ड तँलाई हेर्छन् । म पनि अरू केटाको साथ खोज्दै हिँड्छु । फरक के पर्‌यो नीना ? इट इज नेचुरल । जिन्दगी सधैं यौटैै किलोमा बाँधिन कहाँ राजी हुन्छ डियर ? गो... एन्ड ग्य्राब देम ।'

'उफ् के भन्छे यो माला ? ' मालाका कुराले पहिलोपटक तर्सें म । रातभर मेरो दिमाग रन्थनिरह्यो । के माला आफ्नो लोग्ने हुँदाहुँदै परपुरुषसँग हिँड्छे ? उसले भनेको स्वतन्त्रता के यही हो त ? म रातभर निदाउन सकिनँ ।

अर्को दिन मालाले मलाई साँझ रेस्टुरेन्टमा लिएर गई । यो मैले सोचेको जस्तो रेस्टुरेन्ट थिएन । यसको चकाचौंधले एकछिन त तिलमिलाएँ म । यहाँ मान्छेहरू खाइरहेका मात्र थिएनन्, हल्ला गरिरहेका थिए । नाचिरहेका थिए, गाइरहेका थिए, एकअर्काको अँगालोमा हराइरहेका थिए । मलाई त सास फेर्न पनि गाह्रो होलाजस्तो भो ।

'टेक इट इजी नीना । बिस्तारै इन्जोय गर्नेछौ । हेर यहाँ मान्छेको जीवन कति रंगीन छ । मान्छेका अनुहार हेर । कोही दुखी र चिन्तित देखिँदैनन् । लट्स इन्जोय दिस इभनिङ नीना ।'

मालाले मेरो हातमा रेड वाइनको ग्लास थम्याई । आफूले लिएको ड्रिंक्स देखाउँदै भनी, 'यो ह्विस्की हो । तिमी पनि केही दिनपछि यो ग्लासभित्र पस्नेछौ नीना । डन्ट वरी ।'

रेड वाइन पिएर डेड हुँदै गएँ म । डर, त्रास, लाज, संकोच र धक वाइनको चुस्कीसँगै उदरस्त भए । मालाले भनेझैं मेरो शरीरबाट मभित्रको संसार बाहिर निस्किन थालेको थियो । मैले गम्न भुलेकी थिएँ, रम्न थालेकी थिएँ । म अहिले बाँचिरहेको संसार विचित्रको थियो । यहाँ केटा र केटी एकअर्काको अँगालोमा हराइरहेका थिए । यहाँ एक्लो कोही थिएन । सबैजनाको एक हातमा ड्रिंक्सको ग्लास र अर्को हातमा कसैको हात थियो । मैले मालालाई हेरेँ । ऊ केटाहरूको समूहमा मस्तसँग ह्विस्की पिउँदै नाचिरहेकी थिई । केटाहरू पालैपालो उसलाई अँगालोमा बेर्दै नचाउँदै थिए । ऊ पनि निसंकोच हरेकको जीउमा टाँसिएर नाचिरहेकी थिई ।

'नीना, यिनीहरू मेरा साथीहरू हुन् । सारै रमाइला छन् यिनीहरू । लेट्स इन्जोय विथ देम ।' तीनचारजना केटाले मलाई घेरे । म डान्स फ्लोरमा तिनीहरूसँग नाचिरहेकी थिएँ । तिनीहरू पालैपालो नचाइरहेका थिए मलाई । तिनीहरूको स्पर्श, गन्ध र गति फरकफरक थियो । यही फरकपनाले म पुलकित बनिरहेकी थिएँ । हरेकको अँगालोले मलाई लोभ्याइरहेको थियो । अहा ! यो पो हो त असली जीवन ! अहिलेसम्म कहाँ हराइरहेकी थिएँ म ! तिनीहरूले ख्यालख्यालमा मेरो जीउको हरेक अंग छामेर हेरे । तर मसँग उपद्रो व्यवहार भने गरेनन् ।

मालाले मलाई आफ्नो घर लिएर गई । सम्पन्नताले भरिपूर्ण थियो उसको घर । उसको घर देखेर तीनछक्क परँे म । तर त्यहाँ एउटी काम गर्ने केटी, एउटा बडेमाको बुलडग र जर्मन सेफर्ड कुकुरबाहेक कोही पनि थिएनन् । बैठक कोठाको एक कुनामा बार थियो । उसले दराजबाट ब्लु लेबलको बोतल निकाली र टेबुलमा राखी ।
'लेट्स ह्याभ सम ह्विस्की डार्लिङ ।'

काम गर्ने केटीले स्न्याक्स लिएर आई ।
उसले ग्लासमा ह्विस्की खन्याई र मलाई दिँदै भनी, 'चियर्स !'
बुलडग उसको नजिकै आयो र जिब्रोले गाला चाट्न थाल्यो । उसले एकछिन आँखा चिम्म गरी । बुलडगले अब उसको नाक र ओठ पनि चाट्न थालेको थियो ।

'कहिलेकाहीँ मलाई लाग्छ, माया गर्ने मामलामा यी मान्छेहरूभन्दा कुकुर नै बढी पोख्त हुन् कि ! हेर न कति धैर्य छ यसमा । मलाई झम्टिरहेको छैन । आफ्नो अपनत्व जताइरहेको छ मात्र । पुरुषहरूभन्दा सायद कुकुरहरू बढी सिपालु हुन्छन् क्यारे ! यो मेरो बुलडग नामुद कलाकार पो रहेछ नीना ।' मज्जाले हाँसी माला । उसको कुरा सुनेर मैले पनि आफ्नो हाँसो थाम्न सकिनँ ।

'तिम्रो मनमा मेरो हब्बी कहाँ छ ? बच्चाहरू के गर्दैछन् भन्ने कुरा खेलिरहेको होला ।' ह्विस्कीको घुट्को निल्दै माला बोली । मालाले ठीक भनेकी थिई । म यिनै कुराहरू मनमा खेलाउँदै थिएँ ।

'मेरा बच्चाहरू होस्टेलमा छन् । तिनीहरूको जीवन सपार्ने नाममा म आफ्नो मज्जाको जिन्दगी बर्बाद गर्न चाहन्नँ नीना । दे ह्याभ टु लिभ दियर लाइफ वाई देमसेल्भ्स । आई विस दे सुड नट बोदर मी एट अल ।' उसले सिगार सल्काई र लामो सर्को तानी । ऊ आफैंमा हराइरहेकी थिई ।

'मेरो हब्बी बिजनेसम्यान हो । ही इज अल्वेज विजी लाइक अ सन अफ विच ।' यति भन्दै ऊ खिखिखि गर्दै हाँस्न थाली ।

'ऊ कतै मिटिङमा व्यस्त छ रे ! बिजनेस मिटिङ हो वा मोडेल हन्ट सिटिङ, आई डोन्ट नो ! मलाई यत्ति थाहा छ, आज राति उसको बिजनेस पार्र्टनर मेरो घरमा आउँदैछ । सो...सो... आई ह्याभ टु प्रिपियर फर अल थिङ्स !' गललल हाँसी ऊ । मैले किन हाँसिस् भन्न सकिनँ ।

'तिमीलाई एउटा कुरा भन्छु है नीना ।' उसका आँखाहरू रहस्यमय भए ।

'मेरो हब्बीलाई सब थाहा छ । ही इज थोरोली जेन्टलम्यान नीना । म पनि उसको संसारलाई हस्तक्षेप गर्दिनँ नीना । हामीबीच 'जेन्टल एग्रिमेन्ट छ । राजनीति गर्नेहरूको जस्तो ।'

ह्विस्कीको घुट्को मेरो गलामा नै अड्यो । मैले ट्वाँ परेर मालालाई हेरेँ । ऊ बेपरवाह सिगारको कस लिइरहेकी थिई ।
'ऊ त्यो फ्रेममा सजाएको फोटो हेर त नीना ।' मालाले भनी ।

मैले भित्तामा टाँगेको लम्बा चौडा फ्रेम भएको फोटोलाई हेरेँ । यो माला दम्पतीको तस्बिर थियो ।
'हामीबीचको लोग्नेस्वास्नीको नातालाई हामीले यही फ्रेमभित्र सजाएर राखेका छौं नीना । फ्रेमबाहिर हामी दुवै स्वतन्त्र छौं । यही नै हो हामीबीचको 'जन्टल एग्रिमेन्ट' यानि भद्र सहमति । जुन लिखितमा हुँदैन नीना ।' मालाले मुस्कुराउँदै मेरा आँखामा हेरी ।

'नीना जिन्दगी जिउने कला सिक । सेक्सपियरले भनेका थिए रे, जीवन एक नाटक हो । ह्वाट ननसेन्स...! जीवन नाटक होइन कला हो । कलाकार नबनी नाटकमा अभिनय गर्न सकिँदैन नीना ।' मालाका हरेक शब्दले मेरो हृदयलाई जरैबाट हल्लाइदिएको थियो ।

म दिनदिनै परिवर्तन हुँदै गइरहेकी थिएँ । हेल्थ क्लबमा धेरै समय बिताउन थालेकी थिएँ म । मेरो जीउ खिरिलो बन्दै गइरहेको थियो । मलाई शरीर छोप्ने लुगा मन पर्न छोडेको थियो । म जिनको कट्टु, छोटा र पारदर्शी टिसर्ट लगाउन थालेकी थिएँ । पूरै खुट्टा देखिने गरी मिनी स्कर्ट लगाउँदा झन् म उमंगित बन्थेँ ।

मालाले मेरो कपालको ढाँचा र मेकअपको तरिकालाई पनि आधुनिक बनाइदिएकी थिई । तर, मेरो लोग्नेलाई ममा आइरहेको परिवर्तनप्रति कुनै चासो थिएन । बस् मलाई हेरेर मुस्कुराउँथ्यो मात्र । मालाले भनेझैं सायद हामीहरूबीच पनि नबोलेर नै भद्र सहमति कायम भएको थियो ।

'माला मेरो लोग्नेलाई ममा आएको 'चेन्ज'प्रति कुनै चासो छैन त !' एक दिन मालालाई दुखेसो गरेँ मैले ।
'के भन्छ ऊ ।' मालाले सामान्य भावमा जवाफ दिई ।
'केही भन्दैन, केही बोल्दैन । मतिर हेरेर हाँस्छ, मुस्कुराउँछ मात्र ।'

'यसभन्दा बढी के चाहियो र नीना । उसले तिमीमा आएको परिवर्तनलाई खुसीसाथ स्वीकार गरेको छ । मक्ख छ ऊ ।' माला मुस्कुराई ।
मालाको कुरा सुनेर दंग परेँ म ।

'उसलाई पनि जहाँ मन लाग्छ जान देऊ । ऊ मुस्कुराउनुको अर्थ यही हो नीना ।' मालाको मुस्कान गहिरियो ।
मालासँग फुक्काफाल भएर घुमेँ म । सहरका गल्लीगल्ली हल्लिँदै घुम्यौं । हरेक रेस्टुरेण्ट, रिसोर्टमा लन्च र डिनर खान पुग्यौं । पव र बारमा वाइनका ग्लास छचल्किन थाले । डिस्को फ्लोरमा, संगीतको मीठो धुनमा हाम्रा गोडाहरू थर्किन थाले । वाइनको नशाले लट्ठ परेर डिस्कोथेकमा लड्खडाई नाचिरहेका मेरा गोडाहरू कुन बेला मालाको गुरुत्वाकर्षणले तानेर उसको बेडरुमसम्म पुगेछन्, मलाई थाहा नै भएन ।

मेरा लागि यो बिलकुल नयाँ अनुभव थियो । मालाले रातभर मेरो शरीर निचोरेकी थिई । यस पीडामा पनि अनौठो मिठास थियो । मालाले सही कुरा भनेकी थिई कि जीवन एक कला हो । ऊ स्त्री भए पनि उसमा पुरुष बन्नसक्ने कला थियो । उसको कलाले मेरो गला सुरिलो बनाइदिएको थियो ।

'नीना ! यो केही होइन नीना । यो वर्षा ऋतुको प्रारम्भमात्र हो । बादल गडगडाएर झरी वर्षिन अझै बाँकी छ नीना ।'
छिट्टै आयो त्यो दिन ।
'आज गड्गडाएर बादल वर्षिनेछ नीना ।' मालाले मुस्कुराउँदै भनी ।
मलाई पनि मालाको अँगालोमा पग्लिने तीव्र इच्छा लागेको थियो ।

'तर आजको मनसुनी बादल फरक दिशाबाट बगेको छ नीना । आज यहाँ रमाइलो गर्न मेरा घनिष्ठ पुरुष साथीहरू आउँदैछन् ।' मालाले मलाई कर्के आँखाले हेरी ।

तिनीहरू पनि मालाझैं साँच्चिकै कलाकार थिए । तिनीहरूले पालैपालो मलाई नचाए । म पनि नाचेँ तिनीहरूको धुनमा । रातभर संगीतको धुन गुञ्जिरह्यो । हामी सँगसँगै अँगालोमा बेरिएर नाँच्यौ । तिनीहरू मलाई माया गर्दै कहिले मेरो आँखामा पट्टी लगाउँथे । कहिले मेरा गोडा बाँध्थे । र, मेरो शरीरमा ह्विस्कीका बोतलहरू खन्याउँथे । तिनीहरू मेरा अंगप्रत्यंगलाई स्पर्श गरिरहेका थिए । रक्सीको तीव्र गन्धले म अत्तालिएकी थिइनँ । मेरो तृष्णा झन्झन् बढिरहेको थियो ।

'अब बादल गड्गडाउँछ नीना ।'
'साँच्चै हो माला...? '
'अब मेघ वर्षिन्छ नीना...!'
'साँच्चै हो माला ? '

म सुक्खा धर्ती थिएँ । म मरुस्थल थिएँ । चारैतिरबाट जोडजोडले मेघ वष्र्याे । मेघले मलाई निथ्रुक्क भिजाइदियो । मेघले मलाई पगाल्यो र म बग्न थालेँ । ठोस वस्तु तरलमा रूपान्तरण हुनु प्रकृतिको एक अलौकिक कला थियो । 'जीवन एक कला हो', फेरि एकपटक बुझेँ मैले ।

'माला मैले बुझेँ जीवन के हो ? कला के हो ? ', मैले मालालाई भनेँ ।
अबको बाटो मैले आफैंले कोरेको बाटो थियो । त्यहाँ ममात्र थिइनँ, माला थिई । मेरा नयाँनयाँ पुरुष साथीहरू थिए । म कसैलाई ब्वायफ्रेन्ड बनाउँदिन थिएँ । सुरुसुरुमा ब्वायफ्रेन्ड बनाए पनि पछि मलाई लाग्यो यो मेरा लागि ठीक होइन । ब्वायफ्रेन्डको उपमा पाउनेबित्तिकै त्यो जन्तुले हक जताउँदो रहेछ । उफ् ! लोग्नेको भन्दा पनि बढी हक खोज्ने ।

म स्वतन्त्र पन्छी थिएँ । म आफ्नो मर्जीले चल्न चाहन्थँे । कसैको अवरोध मलाई स्वीकार्य थिएन । पुरुषहरू मेरा लागि वाइनका बोतलसरी थिए जसलाई म बिस्तारै चुस्की लिँदै पिउँथे र रित्तिएपछि फालिदिन्थेँ । जुन दिन म पुरानो पुरुषलाई ड्र्याग आउट गर्थें र नयाँ पुरुषलाई हायर गर्र्थें, त्यो दिन मलाई अपार आनन्दको अनुभूति हुन्थ्यो ।

प्रत्येक पुरुषको शरीरबाट म आफ्नो स्वतन्त्रतालाई विस्तार गर्थें । मेरी लभगुरु मालाले भनेको कुरा सटिक थियो, 'घरको चौघेरोबाट निस्केर बाहिर आऊ नीना र आफूभित्रको संसारको घुम्टो उघारेर हेर । यो बहुरुपिया संसार कति अनौठो छ ।'
पुरुषहरू हाम्रा लागि 'ट्वाय ब्वाय' थिए । मन लागे खेल्थ्यौं । कसैलाई स्टोर गरेर पनि राख्थ्यौं त कसैलाई कच्याककुचुक गरेर फाल्थ्यौं ।

माला र म आफ्ना 'ट्वाय ब्वाय'हरू साटासाट गथ्र्यौं । डिजिटल दुनियाँको भाषामा भन्नुपर्दा माला र म एकअर्काका ट्वाय ब्वायहरू आआफ्नो शरीरको मोनिटरमा कपी र पेस्ट गथ्र्यौं ।

एक दिन मालाले मेरो 'ट्वाय ब्वाय' लिएर गई र आफ्नो 'ट्वाय ब्वाय' छाडेर गई । म त्यस बेला तीनछक्क परेँ जब मैले थाहा पाएँ कि मालाले छोडेर गएको 'ट्वाय ब्वाय' मेरो आफ्नै लोग्ने थियो । खित्का छोडेर हाँसे म । मालाले फोन गरेर मलाई भनी, 'ए नीना मेरो लोग्नेलाई कति दिन आफ्नो 'ट्वाय ब्वाय' बनाएर राखिस् हँ ? नयाँ र ब्रान्डेड दिइस् भनेको त त्यही थोत्रो र खटारा आफ्नै लोग्ने पो परेछ ।' मोबाइलमा नै खित्का छोडेर हाँसी माला । 'के गर्नु माला यी 'ट्वाय ब्वाय'हरूको वारेन्टी छैन यार । सरी !'

अनि हामी दुवैजना जोडजोडले हाँस्न थाल्यौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.