सफलताको सूत्र ‘सुमार्ग’
काठमाडौः केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा भगुवा सारा दोषी । जात ठूलो कि, जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ? २०३९ सालमा यस्तै पर्चा बाँडियो ।
बोल्न नसकिरहेका तमाम जनतालाई जगाउन र जनमुखी प्रतिनिधिलाई उठाउन यो पर्चा जनजनमा चेतनाको बिगुल बनेको थियो । ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्ट पर्चामार्फत यसरी नै शिक्षा दिएर अघि बढेका थिए, ‘समाज बन्न नसक्नुमा त्यो नै जिम्मेवार हुन्छ जोसँग जति शक्ति छ, जसको भूमिका बहुल हुन्छ । त्यसका कारण नै समाज बन्नु र बिग्रनुमा जिम्मेवार हुन्छ ।’
यस्तै परिवेशमा हुर्किएका अजेयराज सुमार्गी पनि सत्यको यही खुड्किलो समातेर अघि बढे । निर्मलकुमार थापा र आफ्नै कान्छो भाइ अरुणराज सुमार्गीले लेखेको ‘अजेयराज सुमार्गी’ नामक पुस्तकको बुधबार राजधानीमा विमोचन गर्दै उनले जनयुद्धका नायक तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा एक दशकअघि नै आफूले मुलुकमा गणतन्त्र ल्याउनुपर्छ भनेर बन्दुक बोकेको रहस्य उद्घाटन गरे ।
उनले भने, ‘२०४२ सालमै मुलुकमा गणतन्त्र नभई हुन्न भनेर मैले १९ जना युवालाई समेटेर १९ हजार रुपैयाँ जम्मा पारेर गौर पुगेर बन्दुक किनी नेपाल भित्र्याएको थिएँ । तर, रूपचन्द्रले यी १९ युवा सम्हालिएनन् भनेर चिन्ता गर्नुभएथ्यो । नेपालमा नेपालीले अझै पाएका छैनन् ।’ जीवन बनाउन कुनै व्यक्ति शून्यमा छ भने सक्छ तर आफू शून्यमात्र होइन माइनसमा भएर पनि नहारी साम्राज्य जित्ने अवस्था बनाएको सुमार्गीको भनाइ थियो ।
मानिस सुमार्गमा हिँड््नुको सट्टा भ्रमको खेती गरेर हिँड्न दत्तचित्त भएकोप्रति आक्रोशित थिए । उनले थपे, ‘समाज बिग्रनुको पछाडि भ्रम छ । समाज भ्रमको खेतीमा दत्तचित्त छ । सत्य बोकेर हिँड्न सकेन भने मान्छेमाथि भ्रमले घोडाझैं चढ्छ ।’ विदेशीलाई घुमाउन पाउँदामात्र आफूले भक्तपुरको दरबार हेर्न पाएको विगतको तीतो सत्य पनि उनले स्मरण गरे ।
डा. योगी विकासानन्दले ‘पैसा कमाउँदाकमाउँदै धेरैले सेन्स अफ ह्यूमर गुमाउँछन् तर अजेयले आजसम्म त्यही नगुमाएका कारण उनी छन्’ भने । नकारात्मक सोचले नेपालमा जागरण आउन नसकेको उल्लेख गर्दै उनले भने, ‘युवाले अजेयबाट सिक्नुपर्छ । म त युवालाई भन्छु, एक सूर्य हौ तिमी सुतिरह्यौ टुकी मुनि, बन्द नेत्र खोल युवा विश्व ज्योति हौ तिमी ।’
अजेयको जन्मदिन पारेर विमोचन गरिएको कृतिका लेखक अरुणले बुवाको निधनपछि १४ वर्षको उमेरमा विरासत थामेको उल्लेख गर्दै भने, ‘कतिपयले अजेयलाई फ्रान्सका अन्तिम राजा लुई सत्रौंजस्तै खलनायकको विम्बमा उभ्याएका पनि छन् ।
तर दाजु कति हदसम्म कर्मयोगी हुन् भन्ने पुष्टि यो कृतिले गर्नेछ । तिनको चेत खुल्नेछ ।’ कृति आत्मकथाका रूपमा पनि आएको छैन । सुमार्गीलाई चिन्ने र बुझ्ने मुलुकका प्रतिष्ठितहरूसँग लिइएका सन्दर्भ र प्रसंगहरूलाई समेत मिलाएर कृति तयार पारिएको छ ।