कविता-पहिले मृत्यु बाँध्नुपर्छ
सम्झिनु पर्दैन बाँकावीर, श्रीपति, लखन, बिसे नगर्चीहरू
सबैसबै याद छ, हुनैपर्छ
लेखेजस्तो हिलोमा लेखिएको इतिहासमा लेउ लाग्दै गयो
निर्देशित रहस्यले छोपिएको थियो
अब भने समयले लेख्दैछ
नलेखिएको खास इतिहास
यस्तो इतिहास यसरी लेखिँदैन
जस्तो कि आमाले रक्सी पार्दाखेरि त्यो हन्डीको छातीमा
चोरीऔंला चोबलेर खरानीभित्र
त्यही औंलाले एक पानेको एक धर्सो
दुई पानेको दुईधर्सो
तीन पानेको तीन धर्सो लेखिएजस्तो क्षणिक कामचलाउ लेखिने छैन
म ननिदाई भन्न सक्छु
पुर्खाहरूको हरेक पाइला सर्पको बाटोतिर पठाइदिएजस्तै
मेरो पैतालामुनि पनि घाइते सर्प राखिदिन्छौ तिमी
मुलुकी ऐन, बन्दुक, डलर–सपना, एकदुइटा शब्दैले
वा केही विभक्तिको खेलमा अल्मल्याएर लुटेजस्तै
मलाई पनि अनेक कागजमा लेखेर च्यात्यौ
मेरो जिब्रो कागजको हैन
तिम्रो मर्जीले जे लेख्छ त्यै मैले अब बोल्ने छैन
प्रश्नको उत्तर प्रश्नै मात्र दिइरह्यौ तिमीले
अब जवाफ दिने पालो तिम्रै हो
जवाफ दिँदा आमाको काखमा बसेजस्तो सजिलो आनन्द पक्कै हुने छैन
म यात्रा गर्छु
तर तिम्रो खुट्टाले गधा हिँड्न असमर्थ छु
म प्रश्नले बोल्छु
तर तिम्रो जिब्रोले सुगा बन्न असमर्थ छु
म मेरै भाषाले सास फेर्छु
सत्ताको टुकीभित्र मेरो रगत थुन्ने नगर घरिघरी
मेरो साससँग डराऊ तिमी
जस्तो कि कपालमा रगडिएको डट्पेनले
केही हल्का धुलाहरू परैबाट थुतिएजस्तै
मलाई यति सजिलै थुतेर कब्जामा राख्न सकिँदैन
सधैं नदी किनारमा छेकिराख्यौ
बीच नदीको गहिराइ र कठिनाइ सोध्दै नसोध मलाई
पानीभित्र सुतेकै छैन निर्धक्क
तिमी माछाको निद्रा क्यानभासमा पोत्न मलाई कर नलगाऊ
यही नदीले बिर्सिँदै गएको बगरमा सिन्काले
मेरो नाम लेख्न सक्छौ तिमी
यो मेरो नाम
त्यो तिम्रो मबिनाको इतिहासभन्दा ज्यादा खप्न सक्छ
तिमी हाँस्दैछौ, मेरो आँसु तेजाब भइसकेको छ
फेरि हाँस्न लाग्दैछौं
कि एउटा हिउँको डल्लो मुठीभित्र थुन्न सकिने भ्रममा हाँस्दैछौ
हिउँको डल्लो सधैं यस्तै हुन्न
बरफको धारिलो चक्कु बन्न सक्छ
आगोले समय तानेर ल्याउन सक्छ
जीवन हो यो, कहाँ यसलाई सधैं एकै आकारमा बाँध्न सकिन्छ
ढुंगाले पनि आकार बदल्नु पर्छ
म ढुंगा हैन हिउँको डल्लो हुँ यात्रा गर्न सक्छु
तिमी सधैं आराम र फुक्का
मलाई चैं शदीयौँदेखि ठिँगुरोसहित सँगै हिँड्न लगाएपछि
मेरा हरेक यात्रा तिम्रो यात्रा जत्तिकै कसरी सम्भव हुन सक्छ ?
जहाँजहाँ तिम्रो इच्छा पुग्छ
यदि त्यहीँत्यहीँ मेरो जिन्दगी बाँधिराख्ने हो भने
तिमीले मेरो मृत्यु बाँध्न सक्नुपर्छ पैले !