एक अराजक बुद्धिजीवी
प्रश्नः धेरै जान्नु पनि आफैंमा बोझ हो कि ?
उत्तरः म कसरी भन्न सक्छु ? जान्नेबुझ्नेलाई सोध ।
प्रश्नः 'न्युयोर्क टाइम्स'ले त तपार्इंलाई चर्चित तर असाध्यै नबुझिने लेखक पो भनेछ है ?
उत्तरः मैले लेखेको नबुझ्नु उनीहरूको समस्या हो, मेरो होइन ।
एक अखबारसँगको कुराकानीमा बम्केकी थिइन् उनी । धेरै अन्तर्वार्तामा उनको जवाफ प्रश्नकर्ताको आशय बुझेर भित्तै छेड्ने गरी निस्कन्छन् यस्तै धारमा । उनी अर्थात् गायत्री स्पिभाक चक्रवर्ती । उत्तर–औपनिवेशिक चिन्तक । यिनै चिन्तकसँग दोस्रो पटक भेट भयो काठमाडौंमा ।
काठमाडौंस्थित 'आयसार' कलेजको शोधकार्य 'साउथ एसिया स्टडिज'लाई मार्गनिर्देश गर्न धेरैपटक नेपाल आइसकिन् स्पिभाक । २०१३ मा पहिलोपटक उनको मन्तव्य सुन्न पाइयो । अफ्रिकी अमेरिकी समाजशास्त्री तथा अभियानकर्ता डव्ल्यूविइ दिवोइस्बारे आफूले गरिरहेको अनुसन्धानबारे सुनाएकी थिइन् त्यतिखेर ।
त्यसैको आधारमा 'एस्थेटिक एजुकेसन इन द इरा अव ग्लोबलाइजेसन' तयार भएछ । 'साउथ एसिया स्टडिज'अन्तर्गत नै दुई साताअघि स्पिभाकसँग सघन कार्यशालामा बसियो लगातार चार दिनसम्म । यसअघि दुई वर्षपहिले यसैगरी तीन दिन सँगै थियौं उनीसँग । पहिलेझैं यो पालि पनि आ–आफ्ना अनुसन्धानपत्रको सार सुनाइयो, जमेर छलफल भयो ।
उनका खरो टिप्पणी सुनियो, प्रेमिल गाली खाइयो । आक्रामकता उनको गोचर पहिचान । उनको टिप्पणी रुचिकर सुनिँदैन । तर विषयको दुवै पाटोबाट विश्लेषण गर्ने उनको विशेषताप्रति असहमत हुनु पनि कसरी ? गम्भीर अध्ययन, उच्चतम विवेक र सन्तुलित विचारप्रवाहको कमी अझ टड्कारो देखियो आफैंमा, यस पालिको शास्त्रास्त्रका क्रममा ।
'धर्ममा मेरो विश्वास छैन तर नास्तिक भने होइन म । नास्तिकता र अविश्वासमा निकै फरक छ ।' यस्ता कुराहरू सुनिरहँदा कुनै वाद, धर्म, भूगोल, सम्प्रदायभन्दा धेरै माथि लाग्छ उनी । 'मानवतावादी भन्न सकिन्छ तपाईंलाई ? ' सँगै लन्च गरिरहँदा मैले यो प्रश्न हुत्याएँ एक मध्याह्न उनीतिर । 'एक किसिमबाट ठीकै हो तर मसँग रिजर्भेसन छ यसबारे पनि ।' हो र होइनबीच तर्क गर्ने उनको स्वभाव झल्कियो यहाँ पनि । कसैलाई देवत्वकरण गर्न चाहन्नन् उनी, न त स्वीकार्छिन् कसैको दासत्व ।
अहिले उनकै किताब 'आउटसाइड इन दी टिचिङ मसिन' लिएर बसेको छु पढ्न । लामो शिक्षण अनुभव निःसृत धारणाहरू÷विचारहरूको सँगालो । यसै संग्रहको 'पोलिटिक्स् अव ट्रान्स्लेसन' पढ्दैछु । अनुवादबारे खरो टिप्पणी छ उनको, 'अनुवाद लरतरो काम होइन । भाषामा पकड, फरक संस्कृतिको ज्ञान र गहन अध्ययन चाहिन्छ यसका लागि ।'
स्थानीय शब्दहरूको ठ्याक्कै अनुवाद नहुने र तिनलाई निहित अर्थ र प्रयोगको आधारमा बुझ्नु जरुरी ठान्छिन् उनी । बंगाली भाषाका धेरै कविता अंग्रेजीमा उल्था गरेकी छन् उनले । महाश्वेता देवीका रचनाहरू अंग्रेजीभाषीसम्म पुर्याउने काममा अग्रणी भूमिका खेलिन् उनले ।
महाश्वेताका शक्तिशाली कथाहरू 'बेस्ट स्टोरिज्', 'इमाजिनरी म्याप्स्' आदि अनुदित संग्रहमा पढ्न पाइन्छ । युवावस्थामै 'विनिर्माणवाद'का जनक ज्याक डेरिडाको मास्टरपिसलाई फ्रेन्चबाट अंग्रेजीमा ल्याइन्, 'अब ग्रामाटोलोजी' शीर्षकमा । लगत्तै विश्व बौद्धिक जमातमा उनको उपस्थिति अग्लियो ।
स्पिभाकसँग जोडिएर आउने शब्द हो– सवाल्र्टन । बेलायती सेनामा क्याप्टेनमुनिको अफिसरलाई सम्बोधन गर्न प्रयोग भएछ पहिलोपटक यो शब्द । इटालीका वामपन्थी चिन्तक एन्टोनियो ग्राम्सीले यही शब्दलाई निमुखा, थिचोमिचोमा पारिएकाहरूलाई बुझाउन प्रयोग गरे, उनको 'प्रिजन नोटबुक्स्'मा ।
ग्राम्सीबाट सापट लिएर यसैबारे धेरै मन्थन, छलफल, लेखन चलाए भारतमा 'सवाल्र्टन अध्ययन समूह' नै खोलेर; रणजित गुहा, दीपेश चक्रवर्ती, पार्थो चटर्जी आदिले । स्पिभाकले कालान्तरमा सवाल्र्टन अध्ययनलाई सैद्धान्तिक कलेवर दिइन् 'क्यान सवाल्र्टन स्पिक ? ' मार्फत । योसँगै सवाल्र्टनबारेको डिस्कोर्सले संसार हल्लायो । भारतमै एकथरी कम्युनिस्टले भने यसलाई वर्गीय सिद्धान्तको विरोधी र प्रतिगामी विचार भनिदिए ।
अरू कैयौंको हेराइमा स्पिभाक सवाल्र्टनकी प्रवक्ताझैं ठानिइन् । तर उनी अरूले होइन, सवाल्र्टन आफैंले आफ्नोबारे बोल्नुपर्ने अडान लिन्छिन् । अर्को चुनौती औंल्याउँछिन्, 'सवाल्र्टनले कसैगरी बोल्न सके पनि ती आवाज सम्बन्धित निकायले नसुनेजस्तो गर्छन् । त्यसैले त सवाल्र्टनको सबलीकरण एनजीओले सोचेजस्तो, मानव अधिकारवादीले उठाएजस्तो सूत्रबद्ध किसिमबाट कहाँ सम्भव छ र ? '
कठिन बाल्यकालबाट गुज्रिएका थिए जोसेफ स्टालिन (रुसी), प्याट्रिक लुमुम्बा (कंगोली), इभो मोरालेस (बोलिभियाली) जस्ता नेताहरू आफैं । खेतीकिसानीबाट खानलाउन धौधौ पथ्र्यो घरमा । चरम गरिबी भोगेर पनि दुनियाँ बदल्न निस्केका इतिहासका फरक कालखण्डका यी नेताहरू साँचो अर्थमा सवाल्र्टन हुन् स्पिभाकको हेराइमा । अरू धेरैमा त उनी सवाल्र्टनको जलपमात्र भेट्छिन् ।
'पश्चिम बंगालमा होस् या नेपालमा वा वाहिरी अन्य देशमा; माथिल्ला वर्गका आलिसान बंगला भएका धनीहरू नेतृत्वमा छन्, अनि कसरी उनीहरूले सवाल्र्टनका पीरमर्का बुझ्छन् त ? केवल आफ्नै भुँडी भर्छन्, आफ्नै आसेपासेलाई पोस्छन् । कहिल्यै सवाल्र्टनका मसिहा बन्न सक्दैनन् यिनीहरू ।' कम्युनिस्ट नेतृत्वप्रतिको यो कटाक्ष कमजोर धरातलमा उभिएर व्यक्त गरिएको आवेगमात्र लाग्दैन किमार्थ ।
'सजिलै बुझिने विषयका दिन गए अब', यसै वर्ष दिवंगत इटालीका चिन्तक अम्बर्टो एको भन्ने गर्थे । स्पिभाकलाई सुन्दा÷पढ्दा एको सम्झनामा आइरहन्छन् । जटिलताको पर्याय नै मान्छन् धेरै उनलाई । उनका लेख रचनाको लय पक्रन सजिलो छैन ।
केही आलोचक त सीमा पार गरी भन्छन्– अन्टसन्ट कुराहरू, जटिल पदावली र शब्द जञ्जालबाहेक के छ उनको मौलिक चिन्तन ? नारीवादी लेखक जुडिथ बट्लरदेखि वामपन्थी चिन्तक टेरी इगल्टनसम्म लागेका छन् उनको खोइरो खन्न । 'म आफ्नै गल्तीबाट निरन्तर सिकिरहन्छु', उनको शालीन स्वीकृति अभिव्यक्त हुन्छ पटकपटक ।
किशोरीबेलादेखि अहिलेसम्म विभिन्न स्वरूपमा लैंगिक विभेदको सिकार आफैं हुनु परेको अनुभव छ स्पिभाकको । 'म के सोच्छु ? मैले व्यक्त गरेका विचारबारे बहस हुँदैन । तर तिमी त साह्रै राम्री छौ खालका 'सेक्सिस्ट्' प्रशंसाचाहिँ बंगाली भद्रलोकदेखि जापान, अमेरिका जताततैका विद्वान्बाट सुनेको छु मैले ।'
ज्याक डेरिडाको किताबको अनुवाद, उनीसँगको संगत र क्रमागत चर्चापछि त स्पिभाकका आफ्नै साथीहरूलाई पनि खपी नसक्नु भएछ । भनिदिएछन्, 'को गायत्री ? भो, उसको कुरै नगरौं । डेरिडाको गर्लफ्रेन्ड न हो ऊ ।' उनी धिक्कार्छिन्, 'यस्तो छ हाम्रो बौद्धिक संसार ।'
पेचिला विश्व सन्दर्भमा स्पिभाक मौन बसेको पाइँदैन प्रायः । मानवअधिकारकी पर्याय मानिएकी आङ साङ सुकीको पछिल्लो रवैयाबाट समेत उनी खुसी छैनन् । म्यानमारका मुस्लिम सम्प्रदाय 'रोहिन्ज्या' यतिखेर चरम मानवअधिकार उल्लंघनको सिकार बनेका छन् ।
आफ्नै देशबाट धपाइएका उनीहरू बंगलादेशमा शरणार्थी जीवन बिताउन बाध्य छन् । उनीहरूको गरिबीमाथि मानव तस्करका गिद्दे आँखा गाडिएका छन् । त्यसैले त मलेसिया, थाइल्यान्डसम्मको सुनौलो सपना देखाउँदै खतरनाक समुद्री यात्रा गर्न बाध्य पारिएका छन् उनीहरू । 'रोहिन्ज्या'प्रति सुकीको अनुदार नीतिले उनको लामो समयको मानवअधिकारप्रतिको निष्ठा र लडाइँ ओझेल परेको ठान्छिन् स्पिभाक ।
न्युयोर्क टाइम्सको 'ह्वेन ल इज नट जस्टिस'मा उनको यो स्पष्टता मुखर देखिन्छ । उनी कुर्लिन्छिन्, 'धेरै देशका शासकका लागि लोकतन्त्र भनेको फगत 'बडी काउन्ट' न हो । आफ्ना नागरिकालाई भोट बैंकका रूपमा मात्रै बुझेका छन् ।'
अराजकता उनको अर्को चिनारी । चाहे जीवनशैलीबाट व्यक्त गरून् वा विचारबाट । तीनपटक बिहे गरिन् उनले । वैवाहिक वा अन्य व्यक्तिगत सन्दर्भलाई आफ्नो डिस्कोर्समा पाइन हाल्न बारम्बार प्रयोग गर्छिन् उनी ।
होमी भावा, जुलिया क्रिस्टिभा, जुडिथ बट्लर, एडवर्ड सइद, अमत्र्य सेन, महाश्वेता देवी, रोमिला थापर स्पिभाकले संगत गरेका लेखक, चिन्तक । प्रायः दोहोरिरहन्छन् यी नामहरू उनको डिस्कोर्समा । बेल्जियम मूलका साहित्यिक सिद्वान्तकार पल द म्यान त उनको विद्यावारिधिका गाइड नै बनिदिएछन् । माक्र्स, कान्ट, डेरिडाजस्ता दिग्गजका दर्शन छिचोलेकी छन् स्पिभाकले ।
तिनको छिद्रान्वेषणसमेत गरेकी छन् । लैंगिक कोणबाट कमजोर देख्छिन् उनी धेरै पुरुष हस्तीका दर्शन र सिद्धान्त । पक्कै पनि नाइजेरियाली आख्यानकार चिमामान्डा अदिचिको चर्चित भनाइ 'हामी सबै नारीवादी हुनुपर्छ' सँग नजिक देखिन्छिन् उनी । लैंगिक कोणबिना यी छिद्रहरू विस्तारै भ्वाङमा परिणत हुनसक्ने खतरा देख्छिन् ।
त्यसैले त इतिहास अध्ययनमा विशेष जोड दिन्छिन् । तर, आलोचनात्मक दृष्टिचेतसहित । दार्शनिक चिन्तन र विमर्शमा संलग्न स्पिभाक उपन्यास अध्ययनलाई भने त्यति बौद्धिक अभ्यास मान्दिनन् । यद्यपि अमिताभ घोषको पछिल्लो उपन्यास 'फ्लड अव फायर' उनको 'वेडटाइम रिड'को रूपमा सिरानीमा रहेको सगर्व सुनाउँछिन् । आखिर बंगली कनेक्सन जो छ !
नाम चलेका अमेरिकी विश्वविद्यालयमा पढाएको लामो विवरणले भरिएको छ स्पिभाकको प्राज्ञिक प्रोफाइल । कोलम्बिया विश्वविद्यालयमा 'तुलनात्मक साहित्य र समाज'को विभागीय प्रमुखको कुर्सीमा बसेको धेरै भयो उनी । पचास वर्षमाथि छ उनको शिक्षण अनुभव ।
आफ्नो अभिव्यक्तिमा संस्कृत र बंगाली मिथक, इतिहास र लोकगीतहरूको बाक्लो प्रयोग गर्छिन् । धेरै भाषाका शब्दहरू मिसाउँछिन् बोल्दा । हाउभाउ, कटाक्ष शक्तिशाली र लाक्षणिक प्रतीत हुन्छ । सेमिनार हल होस् या कक्षाकोठा; एउटा कुनाबाट अर्कोसम्म अविराम दौडिरहेका हुन्छन् उनका जोर आँखा । लाग्छ, उनको नजरबाट कोही/केही छिप्न मुस्किल छ ।
अल्छी लागेर या गर्मी भएर कोही झुल्न थाल्यो भने सम्झे हुन्छ, आक्रमणको तारो उही भयो अब । कोही बीचमा बोल्न थाल्यो भने प्वाक्कै भन्छिन् 'मलाई यो मन पर्दैन ।' अनि चूपचाप सुनिबस्दा पनि सुख छैन सहभागीलाई, 'किन आएको यहाँ ? स्पिभाकसँग कार्यशालामा बसेँ भनेर गफ दिन ? फेसबुकमा फोटो राख्न ? ' सजिलो छैन उनलाई झेल्न, सुन्न ।
सन् २०१३ को जयपुर फेस्टिभलमा उनको प्रवचनपछि प्रश्नोत्तरका लागि समय दिइएछ । दर्शकदीर्घाबाट निकै बेरसम्म कोही बोलेन । मौनता भंग गर्दै एक जर्मन नागरिकले आफ्नो जिज्ञासा राखेछन् । दिल्लीमा एक युवतीलाई गरिएको सामूहिक बलात्कारको घटनाले भारतका सडक, सदन, सोसल मिडिया एवं आमजनजीवन प्रभावित भएको समय थियो त्यो ।
त्यसै घटनाबारे एक विदेशीको सोधाइमा स्पिभाक गर्जिइन्, 'भारतीय दर्शकबाट एउटै प्रश्न सोधिएन यहाँ । पहिलोपटक देख्दैछु म यतिविघ्न उदासीनता । यस्तो जल्दोबल्दो मुद्दामा भारतीय चासो नरहनु लाजमर्दो होइन ? मलाई युरोपेली जिज्ञासा मेटाउने कुनै रुचि छैन ।'
सेन्स अव ह्युमर पनि बेजोड छ स्पिभाकको । एकपटक पाकिस्तानमा बोलाइएछ उनलाई । ट्याक्सीमा इस्लामाबाद जाँदै गर्दा चालकले सोधेछन्– 'आप कहाँकी रहनेवाली है ? ' उनले भनिछन्, 'कलकत्तामे पली बढी मै अभी तो अमेरिकामे रहती हुँ, विश्वविद्यालयमे पढाती हुँ ।' यो सुनेर उत्साहित हुँदै चालकले भनेछन्, 'तो, गोरे लोगोंको अंग्रेजी पढाती है आप ? सिखाइए सिखाइए । आखिर फिरिंगीओंको मात देही दिया आपने ।'
आफ्नो थरको प्रसंगलाई शक्तिसंघर्षमा यसरी जोड्छिन् उनी, 'चक्रवर्ती हो मेरा बाउबाजेको थर । इतिहासमा पढाइन्छ सफल सम्राट् चक्रवर्तीवारे । विस्तारै शक्तिशाली व्यक्ति या वस्तुलाई बुझाउने भयो चक्रवर्ती शब्दले । मलाई त अमेरिकाको नामको पछाडि जोडिदिऊँ जस्तो लाग्छ यसलाई । कस्तो सुनिन्छ हँ, संयुक्त राज्य अमेरिका 'चक्रवर्ती' भन्दा ? सबैतिर हमला गर्दै हिँड्ने, मानवअधिकारको दुहाई दिने चक्रवर्ती सम्राट् क्या ? कहिले एसिया, कहिले ल्याटिन अमेरिका, कहिले अरबभूमि । कहाँ थामिएको छ र अमेरिकी आक्रोश अझै ? '
धेरै भाषाकी ज्ञाता हुन् स्पिभाक, अ रियल पोलिग्लोट । सानैमा एकैसाथ सिकिन् बंगाली, हिन्दी र अंग्रेजी भाषा । पारिवारिक संगतकै कारण संस्कृतका केस्राकेस्रा केलाउने भइन् । युवाकालमै फ्रेन्च सिकिन् । काम चलाउ जर्मन पनि छ उनको । पछिल्लो समयमा चाइनिजसमेत सिकिभ्याइन् । विभिन्न कालखण्डमा विभिन्न भूगोलका मौलिक अनुसन्धानमा फराकिलो भाषाज्ञानको उपयोग भइरहेको छ, भरपूर ।
अन्य भाषाबाट अंग्रेजीमा अनुदित सामग्रीलाई त्यति भरपर्दो मान्दिनन् । त्यसैले त ज्ञानको प्रामाणिक स्रोत भेट्न यो अथक प्रयत्न । नतमस्तक त भइन्छ नै, ताज्जुबसमेत लाग्छ उनको यो सनक देख्दा । धेरै वर्षअघि आफैंले अनुवाद गरेको 'अव ग्रामाटोलोजी'बाट सन्तुष्ट रहन सकिनन् उनी । हालसालै मात्र यसलाई फेरि उल्था गरिभ्याइन् । 'म त्यस्तै छु, सजिलै सन्तुष्ट हुन सक्दिन', उनी सहजै सकार्छिन् आफ्नो जिद्दीपन ।
दक्षिण एसियाली नारीमाझ लोकप्रिय सारी स्पिभाकको पनि मनपर्ने पोसाक रहेछ । विश्वविद्यालय जाँदा सारीसँग लगाउँथिन् रे उनी कम्ब्याट जुत्ता । अमेरिकीहरूका थरीथरी टिप्पणी सुनिन् रे । 'कस्तो ड्रेसिङ एटिकेट नभएकी काली बंगाली ? ' आदि इत्यादि । निरुत्तर कहाँ बस्न सक्थिन् र उनी ?
हानिछन् उनले पनि भुइँसुल्के प्रहार, 'मेरा किताब पढेर, विचार सुनेर त्यसमाथि चर्चा गर्न चाहँदैनौ । अनि यस्तै झिनामसिना कुरामा अल्झन्छौ तिमी अमेरिकीहरू ।' अराजकता उनको अर्को चिनारी । चाहे जीवनशैलीबाट व्यक्त गरून् वा विचारबाट । तीनपटक बिहे गरिन् उनले । वैवाहिक वा अन्य व्यक्तिगत सन्दर्भलाई आफ्नो डिस्कोर्समा पाइन हाल्न बारम्बार प्रयोग गर्छिन् उनी ।
सुरुमा कम्युनिस्ट विचार नजिक रहिन् स्पिभाक । कालान्तरमा अधिकांश कम्युनिस्ट रूढिग्रस्त लाग्दै गएछ उनलाई । हजारौं वर्ष पहिलेदेखिका धार्मिक मान्यतालाई अन्धानुकरण गर्ने धर्मभीरु र डेढ दुई सय वर्षपहिलेको म्यानिफेस्टोमा वर्तमानका हरेक समस्याको समाधान खोज्ने कम्युनिस्टबीच धेरै समानता पाउँछिन् उनी ।
आफ्नै बुझाइमा रमाइबस्ने, निकासविहीन पोखरीमा जमेको पानीजस्तो । कम्युनिज्मबारेको उनको यो बुझाइ महाश्वेतादेवीकै छेउछाउ छ । महाश्वेताको 'एक्टिभिज्म'लाई पनि मन पराउँछिन् उनी । 'म पनि त लेखन, अध्यापनमार्फत एक्टिभिज्म नै त गरिरहेकी छु', उनी गम्किन्छिन् ।
नाम चलेका अमेरिकी विश्वविद्यालयमा पढाएको लामो विवरणले भरिएको छ स्पिभाकको प्राज्ञिक प्रोफाइल । कोलम्बिया विश्वविद्यालयमा 'तुलनात्मक साहित्य र समाज'को विभागीय प्रमुखको कुर्सीमा बसेको धेरै भयो उनी ।
जन्मथलोसँग कसिलो सम्बन्ध छ उनको । पश्चिम बंगालका गरिब गाउँमा शैक्षिक कार्यक्रम चलिरहेको छ उनको अगुवाइमा । बालबच्चाको सोचाइलाई अग्र्यानिक र अप्रदूषित बनाइराख्ने महत्त्वाकांक्षी उद्देश्यका साथ । यी अबोध केटाकेटीहरू 'आधुनिक नाम दिइएको पत्रु शैक्षिक पद्धति'को मारमा पर्दै गएकोमा चिन्तित छिन् उनी ।
त्यसैले त आफूजस्तै आलोचनात्मक चेत भएका शिक्षकगण तयार गरेकी छन् उनले । अमेरिकाबाटै सघाउँछिन् आफ्नै लगानीमा सञ्चालित यो शैक्षिक योजनालाई । बर्षेनि आफैं पुग्छिन् त्यहाँ, केटाकेटीको कल्पना तिखार्न । केटाकेटीको कल्पनालाई उजागर गर्ने उनी यसरी प्रश्नोत्तर गर्छिन्ः
स्पिभाकः भन त, म को हुँ ?
केटाकेटीः गायत्री आमा ।
स्पिभाकः हैन । म उच्च जातको मानिने बाहुन हुँ । अमेरिकामा बस्ने । पढेलेखेकी । तिमीहरूभन्दा धनी पनि ।
केटाकटीः नाइँ, त्यसो हैन । तपाईं त हामीलाई माया गर्ने मान्छे । त्यति टाढाबाट हामीलाई पढाउन आउनु भ'को ।
स्पिभाकः ध्यान दिएर सुन । तिमीहरूभन्दा म सबै किसिमबाट भिन्न र माथि छु । म तिमीहरूको शत्रु हुँ । वर्गशत्रु ।
केटाकेटीको दिमागमा करेन्टझैं कल्पना र विचारको अलग प्रवाह गराउँछिन् यसरी उनी । विद्रोही बन्न प्रेरित गर्छिन् उनीहरूलाई ।
'अनिमात्र उनीहरू आधुनिक शिक्षाको गरुडछायामा निसास्सिएर भ्रष्ट हुनबाट जोगिनेछन् । यसैलाई मैले एस्थेटिक एजुकेसन भनेको । यो अलग चेतनासहितको सौन्दर्य हो ।' तृप्त भावमा मुस्कुराउँदै अनुभव बाँड्छिन् उनी ।
रेप्रिजेन्टेसन अर्थात् प्रतिनिधित्व । यसबारे बारम्बार लेख्ने, बोल्ने गर्छिन् उनी तर उनको विज्ञ समूहमा सन्तुलित प्रतिनिधित्व नभएकोमा मेरो खसखस कायमै थियो । केही दिनको उनको प्रशिक्षणबाट उत्साहित हुँदै अन्तिम दिन मैले दुस्साहस गर्दै सोधेँ, 'हरेकपटक तपाईं नेपाल आउँदा दुई पश्चिमी स्कलर साथमा देख्छु । दुवै पुरुष अनि दुवै गोरा । यो इच्छाकृत छनोट हो कि संयोगमात्र ? '
अनपेक्षित यस प्रश्नबाट उनको छेउमा रहेका बेलायती रोवर्ट वार्नेट त झस्किए नै, उनी पनि सहज रहिनन् । स्कलरको छालाको रङसँगै भूगोल पनि जोडिएको थियो यो प्रश्नमा । 'अल्जेरिया, नाइजेरियाजस्ता अफ्रिकी देशका कालाहरूसँग काम गरेको धेरै भयो मैले । त्यसैले त गोराको संस्कार र संसारमा रिझेभिझेका चिमामान्डा अदिचि, टोनी मरिसनजस्ता लेखकको 'कलर कार्ड' पनि राम्रै बुझ्या छु मैले । त्यस्तो 'टोकनिज्म' मलाई मन पर्दैन', उद्विग्न भावमा उनले जवाफ फर्काइन् ।
अग्लो दारपातकी छिन् स्पिभाक । छोटो हेयरस्टायल छ । स्लिम बडीसेपको रहस्य के होला ? पछि थाहा भयो, ढाडको दुखाइ बल्झनु अघिसम्म नियमित जिमखाना धाउँथिन् रे । पचहत्तरको सँघारमा छिन् यतिखेर । शरीर कमजोर बन्दैछ । तर पनि संसार विचरण गरिरहेकी छिन् ज्ञान बाँड्दै, प्रशिक्षण दिँदै । नाइजेरिया र चीनमा चलिरहेको छ उनको काम, 'फिल्डवर्क'का लागि पुगिरहेकी हुन्छिन् त्यहाँ । 'म आर्मचेयरिस्ट स्कलर (कुर्सीमा टाँसी बस्ने बुद्धिजीवी) होइन ।
कक्षाकोठा, नियमित भ्रमण, अन्तरक्रिया मेरा ज्ञानका स्रोत हुन्', उनी प्रस्ट्याउँछिन् । नेपालको काम सकेर दक्षिण अमेरिकी देश चिलीमा छिन् यतिखेर । नयाँ भूगोलमा नयाँ विषय सिक्न सिकाउन, 'आई लर्न फ्रम माई मिस्टेक्स्' भन्दै । खिया लागिसकेकै किन नहून्– आफ्नै एकतर्फी बुझाइमाथि कहिल्यै पुनर्विचार नगर्ने, आफ्नै टाक्सिएको धारणाको पक्षपोषण गर्दै हिँड्नेका लागि चुनौती हुन् उनी । भारी चुनौती ।