मरुभूमिमा कवि

मरुभूमिमा कवि

‘भुईंमा झरेको फूलजस्तो भइगो जिन्दगी
हावामा उडेको पातजस्तो भइगो जिन्दगी ...’

टुटेफुटेका शब्दहरूको त्यो जोडजाम कविताका पंक्तिजस्ता लाग्थे । ‘सलवा रोड’को स्काई ब्रिज प्रोजेक्टको सडक किनारमा भेटिएको कार्डबोर्डको टुक्रामा लेखिएका थिए ती पंक्तिहरू । तलपट्टि लेखिएको थियो– पंकु राई, धनकुटा ।

सडककिनारमा पंक्तिबद्ध खजुरका बुटाका अर्धछहारीमा मध्याह्नको खानापछि ढाड सोझ्याउन पल्टिन्थे निर्माण मजदुरहरू । तिनका लागि सडक नै कर्मथलो थियो र सडक किनार नै आ श्रयस्थल पनि । तिनले कार्डबोर्डका टुक्राहरू ल्याउँथे । जोडजाड गर्थे र पल्टिन्थे त्यसैमा केहीबेर । तिनले गर्मीको ताप बिर्सेर सायद मनको ताप अनुभूति गर्थे । चिम्लेर आँखा, मानौं आफ्नै जीवनको सिंहावलोकन गर्थे ।

पंकु राई त केवल प्रतीक थिए मरुभूमि–मजदुरका । सुनिल्याउँदा तिनका कथा अन्त्यहीनजस्तै लाग्थे र हरकथामा हुन्थ्यो पुनरावृत्ति । एक छाक खान नपुग्ने खेतबारी, । वर्षा नओत्ने झुपडी, । रोगले ग्रस्त बाबा आमा । ऋणको जञ्जीर । कर्तव्यबोध, प्रियजनका सपना र लालाबालाका भविष्य अनि सेना–प्रहरी र माओवादीहरूको दोहोरो अत्याचार ।

दुःखैदुःखका पहाडमुन्तिर गाउँमा बस्नै नसक्ने परिस्थिति अनि ऋण थाप्दै मेनपावरलाई एक लाख रुपैयाँसम्म नगद बुझाएर कतार हानिएको कथा । कथाको हरेक इपिसोड वियोगको नालीबेलीजस्ता लाग्थे । कविताका पंक्तिजस्ता लाग्ने पंकु राई प्रवृत्तिका वेबारिसे अभिव्यक्ति त दुःख–कथाका इपिसोडमात्र थिए । ऐ“ठन त्रासदी भोगेर बा“चिरहेका दुःखीहरूद्वारा अभिव्यक्तिको खोजी ।

हो त नि, आँसुमा भिजेका उकुसमुकुसको अभिव्यक्ति खोज्दो रहेछ मान्छे । बाँड्नलाई धेरै दुःखहरू छन् तर बाँड्ने कोसँग हो ? सडकमा, निर्माणाधीन टावरहरूमा, कारखानाहरूमा, इन्धन प्रशोधन केन्द्रहरूमा, मरुभूमिमा या समुद्रमा जहाँ हेरे पनि दुःखले निथ्रुक्क नेपाली नै देखिन्थे । परदेशमा दुःख बाँड्नका लागि आफूजस्तै दुःखियाबाहेक अरु कोही थिएनन् स्वजनहरू । ती पनि घडीको घन्टीमा दगुरादगुर गर्ने यन्त्रमानव बनेका देखिन्थे ।

अनि छियाछिया मनबाट उकुसमुकुस भावना पोखिन्थे कहिले कविताको रूपमा, कहिले गजलको स्वरूपमा । त्यसै प्रसंगलाई इंगित गरेर होला त्यतिबेला कान्तिपुर दैनिकमा ‘रेगिस्तानबाट सप्रेम’ नामक स्तम्भको एउटा अंकमा देवेन्द्र भट्टराईले लेखेका थिए- नेपालमा तीन लाख नेपाली रहे पनि झन्डै ६ लाख नेपाली कवि छन् ।

ती ६ लाख नेपाली कवि जहाँ फुर्‍यो त्यहीं लेख्थे । कार्ड बोर्ड पेपरमा । सिगरेटका खोलहरूमा । कोठाका भित्ताहरूमा । डायरीका पानाहरूमा । प्रियसीका तस्बिरमा । पोखिएका ती भावनामा आहत र वेबारिस कविहरू रोइरहेका भेटिन्थे । सपनाका आयतन सागरका छालजस्तै भएर फैलिँदा मरुभूमिमा लाखौं कविहरू भेटिन्थे ।

तिनै बेवारिस अभिव्यक्तिहरूको कथा भन्दैछु म । जीवनको यौटा कालखण्डमा डायरीमा टिपिराखेका शब्दहरूले बनेको छ यो कथा । धेरै अघिको कथा हो यो तर भइसकेको छैन पुरानो किनभने वर्तमान पनि विगतजस्तै छ । सन् २००९ मा म थिएँ कतारमा । म कहिले कारखानामा काम गर्दथेँ । कहिले इन्धन प्रशोधन केन्द्रमा । कहिले ऊर्जा र ग्यास प्लान्टहरूमा । बसाइ भने दोहामै थियो ।

मरुभूमिको सुदूर एकान्तका भेडीगोठमा गोठाले जीवन बिताइरहेकासँग रातको अन्धकारलाई हटाउन लालटिनको उज्यालो रहन्छ तर जिन्दगीको विराट अन्धकार हटाउने ज्योतिको स्रोत कहाँ छ ? ५० डिग्री सेल्सियसको गर्मीमा बाटो खन्नेहरूको आफ्नै जीवनको बाटो खन्ने साधन के हो ?

रुकुम स्यालापाखाका निरक्षर नरे मगर प्रियजनको मृत्युपीडा सहँदै कतार पुगेका थिए । २०६० साउनमा माओवादीको आरोपमा बहिनी मारिई । दोहोरो त्रासले नरेले घर छोड्नुपर्‍यो । आमा पीरैपीरले मरिन् । पत्नी र नाबालक छोरा बेसहारा भए । २०६२ को वैशाखमा ऋणको लाख रुपैयाँ खर्चेर कतार उत्रिए उनी । तर थाहा भयो/जीवन त रुकुममा भन्दा पनि कष्टप्रद रहेछ त्यहाँ । पीडाछपनीले दुःखीलार्ई जहाँ गए पनि थिचिरहने त रैछ नि । नौ सय रियाल तलब भने पनि मासिक पाँच सयमात्र पाउने भए , त्यो पनि कहिले पाउने अनिश्चित ।

महिनौंसम्म ‘खबुज’ (त्यताको सबैभन्दा सुलभ र सस्तो रोटी) र पानीको भरमा प्राण धाने । सडक किनारमा फालिएको थोत्रो बसमा सुत्नुपथ्र्यो । रातको एकान्तमा मुटु भक्कानिएर आउँथ्यो । कैयौं रात ननिदाई कटाए । उखरमालो गर्मी र उष्णताले आकुलव्याकुल उनलाई रुकुमको चीसो पानीको तृष्णाले रुवाउँथ्यो । अहिल्यै भागेर जाउँ जस्तो हुन्थ्यो तर त्यो सम्भव थिएन । झन्डै दुई वर्ष हाड घोट्दा पनि ऋण तिर्न सकेनन् उनले ।

२१ औं महिनामा ‘रिलिज’ लिए र अर्को कम्पनीमा काम गर्न थाले । दुःखका दिनहरू त उस्तै नै थिए । नयाँ कम्पनीमा नयाँ काम सुरु गरे । एकजना सहृदयीको संगतले ‘क, ख’ पढ्न थाले । महिनौंको मिहिनेतपछि कनीकुथी गरी पढ्न, लेख्न सक्ने भए । लेख्न सक्ने भएपछि मानौं थुनिएको मनको बा“ध फुट्यो र लेख्न थाले गुम्सिएका भावना प्रियजनका सम्झनामा । र अर्को एउटा नेपाली, कवि जन्मियो ।

‘नाउँ मेरा नरे हजुर रुकुम मेरो ठाउँ
कइले निको हुनी हो दुखिरने घाउ’

तनहुँ मिर्लुंङ गाविस–७ का टेकेन्द्र बानियाँको कथा पनि छ कथासागरमा । गरिबी थियो र प्रेम पनि । गरिबीमा पनि इच्छाहरूको उडान थियो । तर थिएन इच्छापूर्तिको अपेक्षित अवतरण । त्यसैले बेरोजगार टेकेन्द्र हिँडे रोजगारीको खोजीमा । २०६२ फागुन ३ गते आइपुगे कतारमा । औंला भा“चेर बस्थे घर फर्कने दिनको प्रतीक्षामा । वियोगमा जल्दै गरेको उनको जीवनमा तर आँधीहुरीजस्तो खबर लिएर आयो- २०६३ पुस १७ गतेको बिहान । पत्नीले छोडेर गइछन् टेकेन्द्रको जीवन डुंगा र जोडिछन् आफ्नो नाम अरू कुनै पुरुषसँग । जसको खुसीका लागि सप्तरंगी सपना सजाउँदै टेकेन्द्रले त्यता दुःखको पहाड उठाउँदै थिए, उसैले घात गर्दा टेकेन्द्र चेतनाशून्य भए । अनि फेरि अर्को एउटा कवि जन्मियो कतारमा ।

‘रोपी गयौ छुरी मेरो विश्वासमाथि
खुसी खोज्न टेकी गयौ मेरो लासमाथि ।’

सन् २००९ को जनवरीमा कतार उत्रिएकी झापा दमक– ११ की राधिका लिम्बूले घरेलु कामदारको रूपमा काम गर्न नसकेर फेब्रुअरीमै दोहास्थित नेपाली नियोगमा शरण लिएकी थिइन् ।

लोग्नेको कुबेहोराबाट आजित भएर छोराछोरीको भविष्य सोच्दै ‘जस्तै दुःख नि गरौंला’ भनी दिल्ली हुँदै कतार आएकी थिइन् बाँकेकी सुकमाया । घरेलु कामदारको रूपमा ६ महिनासम्म नरकको सास्ती भोगिन् र एकदिन मौका छोपी भागेर शरण लिइन् ।

‘बहुत बडा पिलेनमा बैठेर आइयो’ भन्ने सप्तरीको राजु महतोका साना सपना पनि कहिल्यै पूरा भएनन् उनले आत्महत्या गरे २००९ कै जुन महिनामा । मुक्तिनाथ घिमिरेले आत्महत्या गरे त्यही महिनामै । सुर्खेत वीरेन्द्रनगर-५ का नरबहादुर राना र धनकुटा मुगा–६ का रुद्रबहादुर घिमिरे कामबाट फर्केपछि सुतेका थिए, फेरि कहिल्यै उठेनन् ।
यी सबै नामहरू त मात्र प्रतीक थिए दुःखका । दुःखको फेहरिस्त त सकिँदैन बाबै । यसो गमिल्याउँदा दुःखमाथि महादुःखको अनुभूतिले भत्भती पोल्छ किनभने मिडियाका अनुसार कतारमा मात्रै २४ जनाले प्राण त्यागेका थिए सन् २००९ को मई १ देखि जुन ४ तारिखसम्म । त्यहाँका दुःखी नेपाली रोइकराई गरेर लास पठाउन चन्दा उठाइरहेका थिए र यताका दुःखीहरू सपनाको मूच्र्छनामा प्रियजनको लासको प्रतीक्षा गरिरहेका थिए ।

त्रिभुवन विमानस्थलको हातामा आँसुको झरी आयोजना भइरहेको थियो । विदुषकहरूको टोलीजस्तो लाग्ने सरकार नामक ‘नीरो’ भने जीवनको मूल्यमा प्राप्त ‘रेमिट्यान्स’मा लात्तीको पार लगाएर नयाँ नेपालको नाममा पुरातन् भजन गाइरहेथ्यो । जीवनको सौन्दर्य अनुभूति गर्नै नपाई ‘इडिपस’ वियोगान्तजस्तो मृत्युवरण गर्ने ती नेपालीहरू सम्झिल्याउँदा एकएक कवि त थिए नि बाबै ।

बाल्यकालमा जस्तै एकपल्ट आमाको काखमा पल्टिएर मनभरि रुने इच्छा कहिल्यै पूरा गर्न नसक्ने जन्महाराहरू बरा कति थिए कति । वर्षौंदेखि दसैंको टीका थापेर कानमा जमरा पहिरिने आकांक्षाहरू जमराजस्तै पहेँलिएका, बरा कति थिए कति वर्षा प्रतीक्षारत तिहारे फूलका मालाजस्तै ओइलाएका इच्छाहरू, बरा कति थिए कति पत्नीका यौवनजस्तै सुक्दै गएका तृष्णा र नानीहरूको रहरजस्तै अभिशप्त हु“दै गइरहेको भविष्यले एक डल्लो परेर ऐठन गरिरहन्थ्यो

मरुभूमि-मजदुरहरूलाई । ऐँठनले आक्रान्त तिनले अभिव्यक्तिको माध्यम खोज्दै घाउजस्तै दुख्ने शब्दहरूमा पोख्थे भावना । जसमध्ये केहीलाई मात्र पढ्न पाइन्थ्यो ‘कान्तिपुर’ र ‘राजधानी’ को प्रवास संस्करणको साप्ताहिक सिर्जना स्तम्भमा । तथापि ती हुन्थे दर्जनौंका संख्यामा ।

दीपक भेटवाल, तीर्थ संगम राई, बद्रीप्रसाद पराजुली, ईश्वर दाहाल, महेन्द्र राई, चर्चित ढुंगेल, राजेश्वर ढकाल, विक्रम चेतनशील राई, भोजराज श्रेष्ठ लगायतहरूको सक्रियतामा दोहामा मोबाइल पुस्तकालय सञ्चालनमा थियो । तिनकै क्रियाशीलतामा हरमहिनाको दोस्रो शुक्रबार दोहाको जेद्दा पार्क (कवि कुनो) मा कवि गोष्ठी हुन्थ्यो । बाफ रे बाफ ! कति भीड हुन्थ्यो त्यहाँ ।

जुलाईको दोस्रो साताको शुक्रबार सदा झैं म पनि पुगेको थिएँ । सहभागीहरूले केही दिन पहिले मृत सागरमा डुबेका १२ नेपालीको मृत्युमा शोकसभा गरे । शोकाकुल हुँदै कविता सुनाए । सयौं नागरिक झाडापखालाबाट मरिरहँदा पनि कान/ध्यान नदिने सरकारलाई त्यति टाढाका नेपालीको मृत्युले किन पो छुन्थ्यो र ? तर आफ्नै प्रतिविम्ब लाग्ने नेपाली सहकर्मीको मृत्युले ती मजदुर कविहरू भने विचलित भए । तिनले पीडाबोध गरे त्यसमा र आफ्नै केटाकेटीका भविष्य डुबेको अनुभूति गरे जहाजसँगै ।

समयले वर्षहरूको सुई नाघ्दै गर्दा सोंचिरहेछु म- तिनको त्यो संवेदना मर्ने छैन कहिल्यै । सुदूरसम्म दुःखपूर्ण कथाहरूको त्यो अपरम्पार महासागरबाट निस्किइरहनेछन् कविहरू किनकि वर्तमानको पीडादायी परिदृश्यमा सोचिल्याउँदा यस्तो लाग्छ, दुःखान्तको यो इपिसोड दिव्य १२ वर्षसम्म चली नै रहनेछ ।
समीक्षकका दृष्टिमा तिनका भावना होइन होला कविता । तर भावनाको उचाइँ नाप्ने कुन स्केलले ? हो, आँसुका प्रतीक बनिसकेका ती दुःखीहरूको अभिव्यक्ति नितान्त लाग्न सक्छ, जसमा शिल्प छैन । व्यञ्जनावृत्ति छैन । लयविधान छैन ।

तर के तिनका भावनामा कविताको विराटता छैन ? खोज्ने हो भने त तिनका भावनामा महाकाव्य छ र सके तिनै दुःखी भीडमा होलान् कति गोर्कीहरू पनि । आखिर दुःख-कथाको महासागरबाट नै निसृत हुन्छन् कवि लेखकहरू । विडम्बना दुःखको यो शृंखला जारी छ र यसैगरी जन्मिरहेछन् कविहरू ।

मान्छेको जात नै कविको जात हो । मान्छे पहिले अभिव्यक्तिको माध्यम खोज्छ अनि मात्र स्वतन्त्रता । त्यसैले अक्षरमाथि विश्वास रहेसम्म श्रापित वनबासजस्तो त्यो मरुभूमिमा छट्पटीको अभिव्यक्तिको लागि टुटेफुटेका शब्दमै सही, तिनले केही न केही लेखेर कवि आरोपित भइरहने छन् । ती दुखियाका आँसुले अरेवियन सागरको पानीलाई अरू नुनिलो बनाउँदै आँसुसँगै झरिरहनेछन् कविताका पंक्तिहरू । त्यसैले मरुभूमिमा कविहरूको जन्म एउटा अलिखित परम्परा भएको हो ।

मरुभूमिको सुदूर एकान्तका भेडीगोठमा गोठाले जीवन बिताइरहेकासँग रातको अन्धकारलाई हटाउन लालटिनको उज्यालो रहन्छ तर जिन्दगीको विराट अन्धकार हटाउने ज्योतिको स्रोत कहाँ छ ? ५० डिग्री सेल्सियसको गर्मीमा बाटो खन्नेहरूको आफ्नै जीवनको बाटो खन्ने साधन के हो ?

जहाँबाट ती दुःखीजनहरूले यी प्रश्नमाथि घोत्लिदै रगत, पसिना र आँसुको रेमिट्यान्सको मूल्य खोज्न थाल्नेछन्, तिनको कविता लेखनको रुन्चे शैलीमा परिवर्तन आउनेछ । तिनले दुःखको महासागरमा डुब्न अस्वीकार गर्दै दुःख विरुद्धको विद्रोहलाई कविता लेखनको विषय बनाउनेछन् । तब तिनको जीवनमा नभेटिएला त कविताको सौन्दर्य ?

कृपया नसोध्नु होला- सन् २००९, जुलाईमा कतारमा रहेका तीन लाख नेपालीमध्ये ६ लाख जति कवि र गजलकार किन थिए ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.