घर भत्केर एकै परिवारका तीनको मृत्यु
कपिलवस्तुः घरको छत भत्केर कपिलवस्तुमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गुगौली गाविस– ५ तीनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा शुक्रबार राति तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नारायणका ६ वर्षका छोरा अरविन्द भर, २४ वर्षकी छोरी सत्यावती भर र १४ वर्षकी छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरविन्दको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
राति करिब साढे नौ बजेको समयमा घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए ।
घटनामा परी घाइते भएकी अर्की छोरी भकुरी भरको अवस्था भने सामान्य रहेको छ ।