विदेशमा वीर विक्रम
काठमाडौंः भदौ ३ गतेदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘वीर विक्रम'ले यसअघि नै हङकङ र बेलायतबाट लगानी सुरक्षित गरिसकेको छ । विदेशमा गएर चलचित्रको प्रिमियर गर्ने ट्रेन्ड चलिरहेको बेला वीर विक्रमले हङकङ र बेलायत प्रदर्शनमा सवा करोडको लगानी सुरक्षित गरेको हो । विदेशमा प्रदर्शनपछि नेपालमा प्रदर्शन गर्न लागिएको हो ।
नेपाली चलचित्रको बजार विदेशतिर बढिरहेको चलचित्रका निर्देशक मिलन चाम्स बताउँछन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारले गर्दा हाई बजेटका मुभी बन्न थाले ।' सुरुमै विदेशीलाई नेपाली चलचित्र देखाउन खोज्नुभन्दा अगाडि विदेशमा रहेका नेपालीमाझ चलचित्र पुर्याउनुपर्ने उनको भनाइ छ । विदेशमा रहेको नेपाली समाजमाझ पुग्ने चलचित्रले त्यहाँ जोडिएका अरू समाजमा पनि विस्तारै स्थान बनाउन सक्ने उनको भनाइ छ ।
पछिल्लो प्रविधि र करोडौं खर्च गरेर बनाइएका विदेशी चलचित्रसँग हाम्रो प्रतिस्पर्धा हुन सक्दैन । हाम्रो प्रतिस्पर्धा भनेको कथावस्तुबाट हुन सक्छ । मिलन भन्छन्, ‘मौलिकतामा समेटिनुपर्छ अनि मात्र क्वालिटी मुभी बन्छ ।' अहिले हिरो हिरोइनभन्दा पनि ब्यानर हेरेर दर्शकले चलचित्र रोज्ने गर्छन् । उनले भने, ‘सरकारले छुट्याउन नसकेको ग्रेड दर्शकले छुट्याउन थालेका छन् ।' दर्शक चलचित्रप्रति जागरुक भइसकेकाले मौलिकताबिना नेपाली चलचित्र नचल्ने उनको भनाइ छ ।
उनका अनुसार गाउँको कुनाकप्चाको नेपालीका जीवनशैली, आम भोगाइ नै चलचित्र वीर विक्रम हो । ‘गाउँको मौलिक अर्गानिक, मसालेदार चलचित्र हो', उनले भने । चलचित्रमा दयाहाङ राई कमर्सियल रूपमा प्रस्तुत भएका छन् । दयाको द्वन्द्व, नृत्य, रुवाइ, अर्पण थापाको कमेडी, नाजिर हुसेनको गाउँले भूमिका चलचित्रका फरक पक्ष हुन् । खलपात्रको रूपमा देखिने गरेका अनुप विक्रम शाहीलाई मुख्य पात्र ‘हिरो'को रूपमा प्रस्तुत गरिएको छ । दिया पुन, विवेक लिम्बू, वसन्त भट्ट, शिशिर रानालगायतले चलचित्रमा अभिनय गरेका छन् ।