भारतको प्रजनन दर किन झर्यो तल ? बढ्दै चिन्ता
भारत : भारतमा पहिलो पटक कुल प्रजनन दर जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ सन्तान प्रतिमहिलाको प्रतिस्थापन स्तरभन्दा तल झरेर १.९ पुगेको छ । यसले भविष्यमा श्रमिक अभाव, वृद्ध जनसंख्या वृद्धि र आर्थिक चुनौतीहरू निम्त्याउन सक्ने चिन्ता बढाएको छ ।
किन घटिरहेको छ प्रजनन दर ?
विशेषज्ञहरूका अनुसार यसका प्रमुख कारणहरू यस्ता छन् :
–गर्भनिरोधक साधनको सहज पहुँच
–परिवारभित्र निर्णय गर्ने महिलाको अधिकार बढ्नु
–बालबालिका हुर्काउने खर्च बढ्नु
–शिशु मृत्यु दरमा उल्लेख्य कमी आउनु
भारतमा शिशु मृत्यु दर सन् २०१९ मा प्रति १,००० जीवित जन्ममा ३० बाट घटेर सन् २०२४ मा २४ मा पुगेको छ । जब बच्चाहरूको बाँच्ने सम्भावना बढ्छ, परिवारले धेरै सन्तान जन्माउने आवश्यकता कम महसुस गर्छन् ।
कुन राज्यमा प्रजनन दर बढी र कम छ ?
बिहार : २.९ (सबैभन्दा बढी)
उत्तर प्रदेश : २.६
दिल्ली : १.२ (सबैभन्दा कम)
केरल र तमिलनाडु : १.३
दक्षिणी राज्यहरूमा शिक्षा, स्वास्थ्य सेवा र महिलाको सामाजिक अवस्था राम्रो भएकाले त्यहाँ प्रजनन दर कम रहेको विज्ञहरूको भनाइ छ ।
यसका असरहरू के हुन सक्छन् ?
सन् २००५ देखि भारतले ‘जनसांख्यिकीय लाभांश’ को चरण अनुभव गरिरहेको छ, जहाँ काम गर्ने उमेरका मानिसहरूको संख्या आश्रित जनसंख्याभन्दा बढी हुन्छ । तर प्रजनन दर निरन्तर घटिरहेमा भविष्यमा कामदारको संख्या घट्न सक्छ, वृद्ध जनसंख्या तीव्र रूपमा बढ्न सक्छ, पेन्सन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा दबाब बढ्न सक्छ, आर्थिक वृद्धिदर प्रभावित हुन सक्छ । विशेषज्ञहरूका अनुसार अहिले जन्मिने बालबालिकाको संख्या कम हुँदा ३०–४० वर्षपछि श्रमशक्तिमा कमी देखिन सक्छ ।
राजनीतिक प्रभाव पनि हुन सक्छ
उत्तरी भारतका राज्यहरूमा प्रजनन दर अझै उच्च भएकाले भविष्यमा त्यहाँको जनसंख्या हिस्सा बढ्ने सम्भावना छ । यसले संसदमा सिट बाँडफाँड र केन्द्रबाट राज्यहरूलाई दिइने आर्थिक स्रोतको वितरणमा राजनीतिक विवाद निम्त्याउन सक्छ । दक्षिणी राज्यहरूमा जनसंख्या वृद्धिदर कम भएकाले उनीहरूको संसदीय प्रतिनिधित्व घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
धर्मसँग सम्बन्धित बहस
भारतमा केही हिन्दू राष्ट्रवादी समूहहरूले मुस्लिम जनसंख्या तीव्र रूपमा बढिरहेको दाबी गर्दै आएका छन् । तर सरकारी तथ्यांकले मुस्लिम समुदायको प्रजनन दर सबैभन्दा छिटो घटिरहेको देखाएको छ ।
मुस्लिम प्रजनन दर : १९९२ मा ४.४१
२०२१ मा २.३६
हिन्दू प्रजनन दरः ३.३
२०२१ मा १.९४
यसले सबै धार्मिक समुदायमा प्रजनन दर घटिरहेको संकेत गर्छ ।
भारतले के गरिरहेको छ ?
हालसम्म भारत सरकारले राष्ट्रियस्तरमा कुनै विशेष नीति ल्याएको छैन । तर केही राज्यहरूले जन्मदर बढाउन प्रोत्साहन कार्यक्रम सुरु गरेका छन् । उदाहरणका लागि ः आन्ध्र प्रदेशले तेस्रो सन्तान जन्माउँदा ३०,००० भारतीय रुपैयाँ र चौथो सन्तान जन्माउँदा ४०,००० रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको छ । गोवा, कर्नाटक र तेलंगानाले सरकारी खर्चमा (कृत्रिम गर्भाधान) सेवा सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !