आमाको मृत्युपछि दुबईमा अलपत्र बालिका नेपाल फर्किइन्
दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा आमाको मृत्युपछि अलपत्र परेकी चार वर्षीया नेपाली बालिका अन्ततः नेपाल फर्किएकी छन् । दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सक्रिय पहल र विभिन्न व्यक्तिहरूको निरन्तर प्रयासपछि बालिकालाई नेपाल पठाउन सफल भएको हो । मदाने–२ गुल्मी स्थायी घर भएकी गीता घर्ती मगरको गत बर्ष नोभेम्बर २८ तारिखमा हृदयघातका कारण मृत्यु भएको थियो ।
करिब एक दशकदेखि यूएईमा कार्यरत मगरको निधन भएपछि उनीसँगै शारजाहमा बस्दै आएकी नाबालिका ४ वर्षीया छोरी अभिभावकविहीन बनेकी थिइन् । बालिकाको जन्मदर्ता, राहदानी तथा अन्य कानुनी कागजातको अभावका कारण उनलाई तत्काल नेपाल फर्काउन सम्भव भएको थिएन । विवाह दर्ता प्रमाणपत्र नहुँदा नेपाली राहदानी जारी गर्न समेत समस्या देखिएको थियो । त्यसपछि बालिकाको नेपाली नागरिकता र पारिवारिक सम्बन्ध पुष्टि गर्न आमासँगको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको थियो ।
समस्याको समाधानका लागि नेपाली समाजका संरक्षक बेदप्रसाद अर्याल र सामाजिक अभियन्ता रोमा अधिकारीले निरन्तर फलोअप गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । विभिन्न सामाजिक अभियन्ता र समुदायका व्यक्तिहरूले समेत बालिकाको उद्धार र स्वदेश फिर्तीका लागि पहल गरेका थिए । निधन भएकी गीता यसअघि नै पटक–पटक अवुधावी दूतावास धाए पनि आवश्यक सहयोग नपाएको रहस्य खुलेको थियो ।
दूतावासकी तत्कालीन श्रम काउन्सिलर निर्मला शर्माले समस्याको समाधानमा अपेक्षित सहयोग नगरेको आरोप छ । त्यसको ४ बर्ष पछि आमा गीताको मृत्यु भएको थियो । समयमै आवश्यक समन्वय र सहजीकरण भएको भए बालिकाले लामो समयसम्म अन्योल र असुरक्षाको अवस्था भोग्नुपर्ने थिएन भन्ने उनीहरूको भनाइ छ। कागजात अभावमा उनले स्कुलमा भर्ना हुन समेत वन्चित हुनु परेको थियो । घट्ना बाहिर आएपछि दुबईस्थित नेपाली महावाणिज्यदूतावासले आवश्यक कागजी प्रक्रिया अघि बढाउँदै सम्बन्धित निकायसँग समन्वय गरेपछि बालिकाको ट्राभल डकुमेन्ट तयार गरिएको थियो।
त्यसपश्चात उनी सुरक्षित रूपमा सोमवार मात्र नेपाल फर्किन सफल भएकी हुन् । आमाको मृत्युले अभिभावकविहीन बनेकी बालिकाको स्वदेश फिर्तीसँगै एउटा जटिल मानवीय संकटको अन्त्य भएको छ । यो घटनाले विदेशमा रहेका नेपाली श्रमिक परिवारका कानुनी कागजात व्यवस्थापन, बालबालिकाको पहिचान तथा संरक्षणका विषयमा सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस !