अक्षरमा उघ्रेको आत्मसम्मान

अक्षरमा उघ्रेको आत्मसम्मान
सुन्नुहोस्

कृति केवल कलाको विवरणमात्र होइन, बरु सामाजिक न्याय र आत्मसम्मानको पक्षमा गरिएको एउटा वैचारिक हस्तक्षेप हो।

गंगाप्रसाद भेटवालद्वारा लिखित उपन्यास ‘विश्वकर्मा भोजनालय’ले समकालीन नेपाली समाजको जटिल यथार्थ, गहिरो सामाजिक असमानता र जरा गाडेर बसेको जातीय विभेदलाई निकै निर्ममतापूर्वक चिरफार गरेको छ।

केवल समस्याको चित्रणमा मात्र सीमित नरही यस उपन्यासले पछिल्लो युवा पुस्ताको रूपान्तरणको आकांक्षालाई कसरी संस्थागत गरिनुपर्छ भन्ने पक्षमा पैरवी गरेको छ। ‘अनुसन्धान विमर्श नेपाल’, काठमाडौंद्वारा प्रकाशित कृति नेपाली समाजको राजनीतिक घटनाक्रम, सामाजिक संरचना, व्यावसायिक चेतना र पहिचानको प्रश्नलाई कथावस्तुमा उन्दै पाठकलाई गम्भीर चिन्तनतर्फ डोर्‍याउने वैचारिक दस्तावेज बनेको छ।

केन्द्रीय पात्र र सपनाको अवतरण  :  उपन्यासको सम्पूर्ण कथानक सुरज विश्वकर्माको वरिपरि घुम्छ। उनी एक प्रतिनिधिपात्र हुन्, जसले प्रवास र स्वदेशबीचको द्वन्द्व, सम्भावना र उत्तरदायित्वलाई जीवन्त रूपमा अभिव्यक्त गर्छन्। अढाई दशकसम्म अस्ट्रेलियाको सुविधायुक्त जीवन बिताएर अनुभव, सीप र पुँजी संकलन गरेपछि सुरज नेपाल फर्किन्छन्। उनी केवल व्यक्तिगत सम्पन्नता वा विलासितामा हराउन चाहँदैनन्। सुर्खेतमा पुख्र्यौली घर निर्माण, नेपालगन्ज र काठमाडौंमा घर–घडेरी विस्तार गरे पनि उनीभित्र अतृप्त प्यास बाँकी रहन्छ। यही मोडबाट उपन्यासले व्यक्तिगत सफलता र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई मिहिन ढंगले उजागर गर्छ।

सुरजले स्थापना गरेको ‘विश्वकर्मा भोजनालय’ उपन्यासको मूल प्रतीकका रूपमा देखा पर्छ। यो केवल व्यावसायिक उद्यम मात्र होइन, बरु सामाजिक विद्रोह, आत्मसम्मान र समानताको एउटा बलियो घोषणापत्र पनि हो। नेपाली समाजमा जातीय विभेद र छुवाछूतको अभ्यास यति गहिरो छ कि, कथित ‘अछूत’ समुदायलाई पानीसमेत बर्जित गरिने परम्परा कतिपय स्थानमा जीवितै छ। यस्तो परिवेशमा ‘विश्वकर्मा’ नाम जोडेर भोजनालय सञ्चालन गर्नु आफैंमा साहसिक र क्रान्तिकारी कदम हो। यसले स्थापित सामाजिक संरचनामाथि प्रत्यक्ष प्रश्न खडा गर्छ। परिणामत :  यो भोजनालय केवल खानपानको थलो मात्र रहँदैन, बरु समाजमा बहस, विवाद र परिवर्तनको केन्द्र बन्छ।

संरचनागत विभेद र मानसिक नाकाबन्दी  :  लेखक भेटवालले जातीय विभेदलाई सतही रूपमा मात्र नभई यसको संरचनागत र मानसिक पिँधसम्म पुगेर चित्रण गरेका छन्। आदिमवासी शिल्पी समुदायले भोग्नुपरेको सामाजिक नाकाबन्दी, पेसा छनेटमा हुने अवरोध र श्रमप्रति समाजको हेपाहा दृष्टिकोणलाई कथाले गम्भीरताका साथ उठाएको छ। यसले पाठकलाई केवल एउटा काल्पनिक कथा पढिरहेको महसुस हुँदैन, बरु आफ्नै समाजको ऐना हेरिरहेको अनुभूति दिलाउँछ। उपन्यासको मौलिक शक्ति र ऊर्जा नै यसको यथार्थपरक चित्रणमा निहित छ, जसले मनोरञ्जनसँगै पाठकमा जागरण पैदा गरिदिन्छ।

‘दलित’ शब्दप्रतिको वैचारिक विमर्श हो। लेखकले पात्रहरूको संवाद, अनुभव र दृष्टिकोणमार्फत के देखाउन खोजेका छन् भने– आधुनिक युवा पुस्ता आफूलाई अपमानजनक रूपमा परिभाषित गर्ने शब्दको बोझबाट मुक्त हुन चाहन्छ। यसले पहिचानको पुनर्संरचना र भाषिक पुनर्विचारको आवश्यकतालाई औंल्याएको छ। विकल्पका रूपमा ‘आदिमवासी, रैथाने, श्रमिक, शिल्पी वा शिल्पकार’जस्ता शब्दको प्रयोग र भारतीय संविधानमा जस्तै ‘अनुसूचित जाति, जनजाति वा पिछडा वर्ग’ भनी चिनारी दिन सकिने तर्क उपन्यासले अघि सारेको छ। ‘शब्द नै शक्ति हो’ भन्ने मान्यतालाई यसले सामाजिक र वैचारिक मञ्चमा बहसका लागि ल्याइदिएको छ।

ऐतिहासिक पृष्ठभूमि र शिल्प सभ्यताको जरो  :  उपन्यासको उत्तरार्धतिर लेखकले ऐतिहासिक तथ्यहरूमार्फत शिल्पी समुदायको गरिमालाई पुनस्र्थापित गर्ने प्रयास गरेका छन्। श्री ३ चन्द्रशमशेरको पालामा भारतबाट प्रकाशित ‘जांगिलोत्पति’जस्ता पुस्तक र त्यसले विश्वकर्मालाई ‘वास्तुविशारद’ वा ‘योगशास्त्रका ज्ञाता’ भनेर गरेको व्याख्यालाई यहाँ सन्दर्भका रूपमा ल्याइएको छ। २००४ सालमा भगत सर्वजितले ‘विश्व सर्वजन संघ’ खोलेपछि र २०३१ सालमा हीरालाल विश्वकर्मा मन्त्री भएपछि यो समुदायमा ‘विश्वकर्मा’ लेख्ने लहर चलेको इतिहासलाई उपन्यासले सम्झाएको छ।

तर, लेखकले एउटा महत्त्वपूर्ण प्रश्न उठाएका छन्— के ‘विश्वकर्मा’ लेख्नु नै समाधान हो ? कतिपयले यसलाई ‘ब्राह्मणीकरण’ मार्फत उपल्लो वर्गको तहमा उक्लिने जातीय अहंकारको रूपमा पनि विश्लेषण गर्छन्। उपन्यासले जोड दिएको छ कि, नेपाली जातीय चिनारी र रैथाने शब्दका हिसाबले ‘कामी’ शब्द आफैंमा गौरवपूर्ण छ, जसको अर्थ कर्मशील, श्रमिक र मेहेनती भन्ने हुन्छ। प्राचीन हिन्दु ग्रन्थ ऋग्वेदमा समेत ‘कामी’ जातिलाई ‘कर्मन’ (कर्म) भनेर उल्लेख गरिनुले यसको आदिमता र सभ्यताको जरो कति बलियो छ भन्ने पुष्टि गर्छ। पुख्र्यौली इतिहाससँगको विच्छेद र श्रमप्रतिको घृणाका कारण नै आज यो समुदायले संकट भोगिरहेको छ।

सभ्यताको जननी कर्णाली र भेरी  :  ऐतिहासिक तथ्यका आधारमा हिमाल, पहाड र तराईका अनादिवासी शिल्पी समुदाय अधिकांशत :  अनार्य नाग र द्रविड वंशका मूलवासी हुन्। इतिहासकारहरूका अनुसार खस र बाहुनहरू छैटौं शताब्दीमा सुदूरपश्चिम क्षेत्रमा आउनुभन्दा शताब्दीयौं अघि नै यो समुदायले यहाँ शिल्प सभ्यताको विकास गरिसकेको थियो। सिन्धुघाँटीको सभ्यतासँग नाता गाँसिएको यो शिल्प सभ्यताको जरो कर्णाली र भेरी नदीको जलाधार क्षेत्रसँग जोडिएको छ। रोचक तथ्य त के छ भने, आदिमवासी दमाईं जातिले बजाउने र कामी तथा सार्कीद्वारा बनाइने ‘कर्नाल’ र ‘भेरी’ बाजाकै नामबाट यी नदीहरूको नामकरण भएको ऐतिहासिक प्रमाणहरू पाइन्छन्। तर, १२औं शताब्दीपछि खस साम्राज्यको विस्तारसँगै यी पहिचानहरूलाई ‘खसकरण’ गरियो र यसको वास्तविक श्रेयबाट शिल्पी समुदायलाई वञ्चित गरियो। लुगाकपडा, गरगहना, हातहतियार, मठमन्दिर, मुकुट र सिंहासन निर्माण गर्ने यी वास्तविक ‘देवशिल्पी’ हरूको अस्तित्व र इतिहास कसरी नष्ट पारियो भन्ने लेखाजोखा उपन्यासले खोज्न खोजेको छ।

निष्कर्ष  :  भाषाशैलीका दृष्टिले ‘विश्वकर्मा भोजनालय’ सरल, प्रवाहयुक्त र संवादप्रधान छ। लेखकले अनावश्यक आलंकारिकताको सट्टा यथार्थपरक शैली अपनाएका छन्, जसले गर्दा कथा विश्वसनीय र आत्मीय लाग्छ। यद्यपि, केही ठाउँमा कथानक सोचेजस्तै (पूर्वानुमेय) लाग्न सक्छ, तर त्यसले उपन्यासको मूल उद्देश्य र सन्देशमा कुनै बाधा पुर्‍याउँदैन। प्रवासबाट फर्किएका नेपालीहरूको मनोविज्ञान, उनीहरूले स्वदेशमा भोग्नुपर्ने सामाजिक अवरोध र ‘रिटर्नी माइग्रेन्ट’ पुस्ताको द्वन्द्वलाई बुझ्न यो पुस्तक सहयोगी छ। समग्रमा, यो कृति केवल एउटा उपन्यासमात्र नभई सामाजिक न्याय, समानता र आत्मसम्मानको पक्षमा उभिएको एउटा बलियो आवाज हो। नेपाली साहित्यमा यस्ता यथार्थवादी र विचारप्रधान कृतिहरूले समाजलाई सही दिशा दिन महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.