सुकुम्बासीमा मानसिक समस्यादेखि ब्रेन स्ट्रोकसम्म
भक्तपुर : बागमती प्रदेश सरकारले सुकुम्बासीलाई राखिएको भक्तपुरस्थित होल्डिङ सेन्टरहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भक्तपुर प्रादेशिक अस्पताल र ख्वप नगरपालिका अस्पतालको प्राविधिक सहयोगमा जिल्लास्थित जनस्वास्थ्य कार्यालयले आइतबार र सोमबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
स्वास्थ्य परीक्षणका क्रममा केही विस्थापित सुकुम्बासीमा मानसिक समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। केही सुकुम्बासी चिन्ताबाट ग्रसित देखिएका एक स्वास्थ्यकर्मीले बताए। ३ जना बिरामीमा अनिद्रा, शरीर अनियन्त्रित रूपमा काम्ने र झट्का लाग्ने गम्भीर मानसिक समस्या देखिएको उनले जानकारी गराए। ४ जनामा भने श्वास फेर्न गाह्रो हुने समस्या देखिएको जनाइएको छ। शिविरमा उच्च रक्तचापका बिरामीका साथै ३ जना मुटुरोगीसमेत पहिचान गरिएको छ।
खरिपाटी सेन्टरमा रहेका एक व्यक्तिमा गम्भीर अल्कोहल विड्ड्रअल सिन्ड्रोम देखिएको छ। रक्सी नियमित खाइरहने व्यक्तिले अचानक रक्सी छोड्दा यस्तो समस्या आउने स्वास्थ्यकर्मीहरू बताउँछन्। खरिपाटीमा ब्रेन स्ट्रोकका बिरामी पनि भेटिएका छन्। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र सेन्टरमा एक ब्रेन स्ट्रोकका बिरामी फेला परेका छन्। उनलाई पनि गम्भीर किसिमको स्वास्थ्य हेरचाह आवश्यक देखिएको छ।
बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र सेन्टरमा एक गर्भवती तथा एकजना डेढ महिनाको सुत्केरीसमेत पहिचान गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। पाँच जना ४ वर्षमुनिका बालबालिकासमेत छन्। उनीहरूको लागि पोषणयुक्त खाना र हेरचाहको अभाव पाइएको छ।
स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा आँखाको जलन पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। विशेषगरी सरसफाइको अभावका कारण विस्थापित सुकुम्बासीमा आँखाको जलन देखिएको बताइएको छ। सेन्टरमा बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई विशेष निगरानी गरी स्वास्थ्य परीक्षण गरिएको थियो।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले शिविरमा स्वास्थ्य जोखिम मूल्यांकन, निःशुल्क औषधि वितरण र आवश्यक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको बताएकी छन्। सहभागीहरूको स्वास्थ्य अवस्थाबारे आवश्यक निगरानी गरिने बताउँदै उनले थप उपचार आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गरिएको र उनीहरूलाई भक्तपुर प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाइने जनाएकी छन्।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सेवा आवश्यक देखिएकोले आइतबार बिदाको दिन भए पनि स्वास्थ्यकर्मीहरूले सेवा दिएको जानकारी गराइन्। उपचार अभाव हुन नदिन प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको उनले बताएकी छन्।
सरकारले काठमाडौंका नदीकिनारका अव्यवस्थित सुकुम्बासी बस्ती हटाई काठमाडौंका अलावा विस्थापितका लागि भक्तपुरमा पनि दुई वटा होल्डिङ सेन्टर स्थापना गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी स्वरूप शर्माले जनाएअनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र सेन्टरमा हालसम्म १ सय ६८ जना सुकुम्बासीलाई राखिएको छ। बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र सेन्टरमा पनि सुकुम्बासीको संख्या ४७ पुगेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !