उर्जा क्रान्तिका अभियन्ता डा. लामा
अँध्यारोमा उज्यालो खोज्ने डा. राम लामाजस्ता व्यक्तिहरू नीति निर्माणमा पुगेकाले ऊर्जा विकासलाई केवल कल्पनामा मात्र होइन, वास्तविकतामा बदल्ने एउटा सुनौलो अवसर आएको छ।
नयाँ निर्वाचनपछि बनेको संघीय प्रतिनिधिसभामा केही यस्ता अनुहारहरू देखिएका छन्, जसको विज्ञता, अनुभव र दृष्टिकोणले देशको नीति निर्माणमा गुणात्मक परिवर्तन ल्याउने संकेत गरेको छ। विगतका दिनहरूमा संसद्मा गहिरो बुझाइभन्दा भाषणप्रधान राजनीति हाबी भयो। तर, अहिलेको प्रतिनिधिसभामा विविध क्षमताको एक प्रकारको सम्मिश्रण देखिएको छ। यसले अब नीति निर्माणमा ज्ञान, तथ्य, अनुसन्धान र प्रमाणको भूमिका बढ्ने आशा जगाएको छ।
यही आशाभित्रको एक नाम हो– डा. राम लामा। ऊर्जा क्षेत्रमा विद्यावारिधि गरेका उनी काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालाका पहलकर्ता पनि हुन्। उनी अहिले प्रतिनिधिसभा सदस्यका रूपमा कानुन निर्माणमा सक्रिय छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका उनी कार्यव्यवस्था परामर्श समितिमा समेत रहेर संसदीय कार्यसूची र बहसको दिशा निर्धारणमा संलग्न छन्। साथै, उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सदस्यको महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हालिरहेका छन्।
डा. लामाको जीवनकथा बुझ्न संसद्को वर्तमानभन्दा टाढा, काभ्रेको चौरीदेउरालीस्थित एक विकट गाउँ मादन कुँडारीसम्म पुग्नुपर्छ। जहाँ बिजुली थिएन, सडक थिएन र आधारभूत सुविधाहरूको अभाव थियो। विद्यालय जान दैनिक एक घण्टाभन्दा बढी पैदल हिँड्नुपथ्र्यो। कलेज पढ्दा पहिलोपटक बिजुली बत्ती देखेका लामाको बौद्धिकतालाई त्यसले यसरी ब्युझाइदियो कि ‘ऊर्जा’ शब्द उनको जीवनमा केवल प्राविधिक अवधारणामात्र रहेन, एउटा गहिरो जीवन दर्शन नै बन्यो।
नवीकरणीय ऊर्जाको क्षेत्रमा ३३ वर्षमै विद्यावारिधि गरेका र ऊर्जा क्षेत्रमा १३ वर्षभन्दा बढी अनुभव बटुलेका ३७ वर्षीय डा. लामा एक साधारण विज्ञमात्र होइनन्, उनी ऊर्जा नीतिलाई व्यावहारिक रूपमा बुझ्ने र त्यसलाई समाधानमा रूपान्तरण गर्ने क्षमता भएका वैज्ञानिक हुन्। उनको सोचमा एउटा स्पष्ट मोड तब आयो, जब उनले महसुस गरे– नेपालसँग पानी छ, तर प्रयोग छैन; स्रोत छ, तर सपना छैन। उनी जलविद्युत् उत्पादन बढाउनुमात्रै पर्याप्त छैन, त्यसलाई रूपान्तरण गरेर मूल्य सिर्जना गर्नु आवश्यक छ भन्ने निष्कर्षमा पुगे। यही सोचले उनलाई ग्रिन हाइड्रोजनतर्फ डोहोर्यायो– त्यो ऊर्जा, जसलाई आज विश्वका विकसित राष्ट्रहरूले भविष्यको प्रमुख विकल्पका रूपमा अंगीकार गरिरहेका छन्।
आजको सन्दर्भमा यसको महत्त्व झनै बढेको छ, किनकि विश्व जलवायु संकटसँग जुधिरहेको छ। कार्बन उत्सर्जन घटाउने दबाबले गर्दा स्वच्छ र नवीकरणीय ऊर्जाको खोजी तीव्र बनेको छ र हाइड्रोजन त्यसको केन्द्रमा आइपुगेको छ। डा. लामाले यही वैश्विक प्रवृत्तिलाई नेपाली सन्दर्भसँग जोड्ने प्रयास गरिरहेका छन्। डा. लामाको संलग्नता रहेको हाइड्रोजन कार परियोजनाले यस सम्भावनालाई थप स्पष्ट बनाएको छ। हाइड्रोजनबाट चल्ने सवारीसाधन विकासको चरणमा पुगेको यो परियोजनाले नेपाललाई केवल ऊर्जा उपभोक्तामात्र होइन, प्रविधि विकासकर्ताका रूपमा स्थापित गर्न सक्ने सकेतत दिएको छ।
नेपालले दशकौंदेखि उत्पादन बढाउने लक्ष्य त राख्यो, तर ‘ऊर्जा प्रयोग कसरी गर्ने?’ भन्ने प्रश्नलाई सधैं दोस्रो स्थानमा राख्यो। परिणामस्वरूप, आज उत्पादन बढ्दै जाँदा पनि खपत, भण्डारण र मूल्य अभिवृद्धिका स्पष्ट रणनीतिको अभाव देखिन्छ। यस्तो अवस्थामा डा. लामाको दृष्टिमा संसद्भित्र यी तीन तहमा प्रभावकारी भूमिका खेल्न सकिन्छ :
पहिलो, नीति निर्माणको गुणस्तर सुधार
यसले तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासले कानुन निर्माणलाई यथार्थपरक बनाउँछ। हाइड्रोपावरबाट उत्पादित अतिरिक्त ऊर्जा खेर जाने अवस्थालाई ग्रिन हाइड्रोजनमा रूपान्तरण गर्ने नीतिले प्रत्यक्ष रूपमा उद्योग, रोजगारी र निर्यातमा सकारात्मक प्रभाव पार्छ।
दोस्रो, दीर्घकालीन राष्ट्रिय दृष्टिकोण निर्माण राजनीतिक चक्र प्रायः पाँच वर्षको छोटो अवधिको हुन्छ। तर ऊर्जा पूर्वाधार र प्रविधि विकासको चक्र २०–३० वर्षको हुन्छ। विज्ञहरूले दीर्घकालीन सोच संसद्मा स्थापित गर्न सक्छन्, जसले सरकार परिवर्तन हुँदा पनि नीतिको निरन्तरता सुनिश्चित गर्छ।
तेस्रो, अनुसन्धान र नीतिबीचको पुल निर्माणः नेपालमा विश्वविद्यालय, अनुसन्धान संस्था र सरकारबीचको समन्वय कमजोर छ। अनुसन्धान प्रायः नीतिमा रूपान्तरण हुँदैन। तर जब त्यही अनुसन्धानमा संलग्न व्यक्ति संसद्मा पुग्छन्, त्यो दूरी स्वतः घट्न थाल्छ। डा. लामाजस्ता व्यक्तिले यही पुलको भूमिका खेल्न सक्छन्, जहाँ प्रयोगशालामा जन्मिएको विचारले संसद्मा उचित स्थान र कानुनी मार्ग पाउँछ। यसको प्रत्यक्ष प्रभाव देशको समृद्धिमा देखिन्छ। डा. लामा भन्छन्, ‘यदि नेपालले जलविद्युत्, सौर्य ऊर्जा र ग्रिन हाइड्रोजनलाई एकीकृत रूपमा विकास गर्न सक्यो भने यसले तीनवटा ठूला परिवर्तन ल्याउन सक्छ।’
पहिलो– आर्थिक रूपान्तरण, दोस्रो– औद्योगिक विकास र रोजगारी, अनि तेस्रो– ऊर्जा आत्मनिर्भरता र रणनीतिक शक्ति। ऊर्जा आयातमा निर्भर देश सधैं कमजोर हुन्छ। तर ऊर्जा निर्यात गर्ने देशसँग कूटनीतिक शक्ति पनि बढ्छ। भारत र चीनजस्ता ठूला बजारबीच रहेको नेपाल यदि ऊर्जा हब बन्न सक्यो भने यसको भूराजनीतिक महत्त्व पनि बढ्नेछ। अँध्यारोमा उज्यालो खोज्ने डा. राम लामाजस्ता व्यक्तिहरू नीति निर्माणमा पुगेकाले ऊर्जा विकासलाई केवल कल्पनामा मात्र होइन, वास्तविकतामा बदल्ने एउटा सुनौलो अवसर आएको छ।
प्रतिक्रिया दिनुहोस !