मनोहरामा दिनभर चल्यो डोजर, ६० प्रतिशत संरचना भत्काइए

मनोहरामा दिनभर चल्यो डोजर, ६० प्रतिशत संरचना भत्काइए

भक्तपुर :  भक्तपुरको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा आइतबार दिनभर डोजर चलेको छ। सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियानअन्तर्गत डोजर लगाएर सुकुम्बासी बस्तीको संरचना भत्काएको हो।

करिब ८ सय घरटहरा रहेको सो बस्तीमा ६० प्रतिशत संरचना भत्काइएको प्रहरीले जनाएको छ। वर्षाको बाबजुद १४ वटा डोजर दिनभर चल्दा ६० प्रतिशत संरचना भत्काउन सफल भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सुवेश अधिकारीले जनाएका छन्। ‘४ सय ५० वटाभन्दा बढी घरटहरा भत्काउँदा ४६ वटा भने ढलान गरिएका घरहरू थिए,’ उनले भने, ‘अन्य संरचना भने इँटा र सिमेन्टको भित्ता भए पनि छानो जस्ताको थियो।’

संरचना भत्काउने क्रममा लडेर बेहोस  ४८ वर्षीय रमेश तामाङलाई उद्धार गरी  नेपाल कोरियामैत्री नगरपालिका अस्पताल पु¥याइएको अधिकारीले बताए। आफ्नो आँखा अगाडि बासस्थान उजाडिदा ९२ वर्षीया हीरामाया सुवेदी, ६० वर्षकी फूलमाया दर्जी र  ७४ वर्षीया राधिका खड्का पनि बेहोस भएका थिए। उनीहरूमाध्ये सुवेदी र दर्जीको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमै उपचार सम्भव भए पनि खड्कालाई भने वीर अस्पताल पुर्याउनु परेको थियो।

शनिबार साँझ बस्तीवासीले प्रतिकार गरेपछि पछि हटेको प्रहरी आइतबार दलबलसहित पुग्दा  बस्तीवासी निरीह बनेका थिए। शनिबार साँझ बस्तीवासीले ढुंगा मुढा गर्नथालेपछि जिल्ला प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानासहित ११ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाइते भएका थिए। अँध्यारो भएको र बस्तीवासी प्रतिकारमा उत्रिएपछि एक कदमपछि हटेका सुरक्षाकर्मी आइतबार बिहानैदेखि हजारौंको संख्यामा तैनाथ गरिएका थिए। 

भक्तपुरका १ हजार २ सय सुरक्षाकर्मी र काठमाडौंबाट थपिएका समेत गरी २ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिँदा बस्तीवासीले अवरोध गर्ने हिम्मत गरेनन्। सरकारलाई वर्षाले पनि साथ दिएकाले बस्तीवासी आफ्ना पोकापुन्तुरा सुरक्षित गर्नतर्फ लागे।

बस्ती खाली गराउनुअघि सुरक्षाकर्मीहरूले स्थानीय बासिन्दाहरूलाई आफ्ना सरसामान सुरक्षित रूपमा निकाल्न र अन्यत्र सार्न सहयोग गरेका थिए। बस्तीबाट चौपाया र पशुपन्छीको समेत उद्धारमा सुरक्षाकर्मीले सघाएका थिए। आफ्नै नगरपालिका अन्तर्गतको अवैध बस्ती हटाउँदा मध्यपुर थिमि नगरपालिकाका नगर प्रहरी भने मैदानमा देखिएनन्। काठमाडौं महानगरका प्रहरीको यसमा सक्रियता देखिएको थियो। मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत पर्ने यो क्षेत्रको जग्गा व्यवस्थापन उपसमितिमा काठमाडौं महानगरको प्रमुख अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिका प्रमुख उपाध्यक्ष रहने व्यवस्था छ।

यस क्षेत्रबाट प्रहरीको सम्पर्कमा आएर होल्डिङ सेन्टरको सम्पर्कमा पुगेका सुकुम्बासीको संख्या ५५ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सहायक सूचना अधिकारी रहेका प्रहरी निरीक्षक सुवेश अधिकारीले जनाएका छन्। उनले सोमबार बाँकी संरचना हटाइनेसमेत जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.