एक वर्षमा ७३ महिला हिंसाको सिकार

एक वर्षमा ७३ महिला हिंसाको सिकार
सुन्नुहोस्

बागलुङ : बागलुङमा एक वर्षमा ७३ जना महिला लैंगिक हिंसाको सिकार भएको तथ्यांक सार्वजनिक भएको छ । हिंसा प्रभावितका लागि सञ्चालित अल्पकालीन महिला सेवा केन्द्र बागलुङको वार्षिक समीक्षाको क्रममा आर्थिक वर्ष २०८१/०८२ मा ७३ जना हिंसापीडितले केन्द्रमार्फत न्यायको खोजीमा आएको जनाइएको हो ।

अल्पकालीन सेवा केन्द्र बागलुङका सञ्चालक समितिकी सदस्य सचिव तथा बागलुङ नगरपालिका महिला बालबालिका शाखा प्रमुख रचना आचार्यले गत आवको तुलनामा न्याय खोज्न आउने पीडितको संख्या घटेको बताइन् । उनले पछिल्लो तीन वर्षमा पीडितको संख्या घट्दै गएको पनि जानकारी दिइन् । आचार्यका अनुसार आव २०७८/०७९ मा ९९ जना र २०८०/०८१ मा ९२ जना पीडित न्यायका लागि आएकामा यो वर्ष कम देखिएको हो । तीमध्ये शारीरिक हिंसाका नौजना, मानसिक हिंसाका १३ जना, आर्थिक हिंसाका आठजना, यौनजन्य हिंसाका १० जना र अन्य हिंसामा परेका ३३ जना छन् ।

केन्द्रमा सेवा लिन आएकामध्ये सबैभन्दा बढी ३६ जना दलित समुदायका छन् । अन्यको तुलनामा हिंसाको सिकार हुने दलित समुदायका महिला नै बढी देखिएका छन् । त्यसैगरी, जनजाति समुदायको १७ जना र अन्य समुदायबाट २० जना हिंसापीडितले सेवा केन्द्रबाट सेवा लिएको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एवं अल्पकालीन सेवा केन्द्र व्यवस्थापन समितिकी सदस्य सचिव आचार्यले जानकारी दिइन् ।

सेवा लिन आउनेहरूमध्ये केही जिल्ला प्रहरी कार्यालय र धौलागिरि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत सेवा केन्द्रमा आउँछन् भने कतिपय सिधै केन्द्रमा आउने गरेका छन् । चालु आर्थिक वर्षमा १८ जना जिल्ला प्रहरी कार्यालयबाट सेवा केन्द्रमा पठाइएका छन् भने ५४ जना सिधै सेवा केन्द्रको सम्पर्कमा आएको सदस्य सचिव आचार्यले बताए । एकजना अन्य माध्यमबाट सेवा केन्द्रसम्म आइपुगेका छन् ।

सेवा केन्द्र बागलुङ नगरपालिकामा सञ्चालित भए पनि यसले जिल्लाभर र जिल्लाबाहिरका समेतलाई सेवा दिइरहेको आचार्यको भनाइ छ । चालु आर्थिक वर्षमा सेवा लिएकामध्ये २५ जना बागलुङ नगरपालिकाका छन् भने अन्य सेवाग्राही जिल्लाको विभिन्न पालिकाका छन् । जैमिनी नगरपालिकाका आठ, गलकोट नगरपालिकाका ६, ढोरपाटन नगरपालिकाका पाँच, काठेखोला गाउँपालिका पाँच, बडिगाड गाउँपालिकाका तीन, ताराखोला गाउँपालिकाका एक, तमानखोला गाउँपालिकाका चार, निसीखोला गाउँपालिकाका दुई, बरेङ गाउँपालिकाका चार र जिल्लाबाहिरका नौ जनाले अल्पकालीन सेवा केन्द्रबाट सेवा लिएका छन् ।

अल्पकालीन सेवा केन्द्र सञ्चालनसम्बन्धी सरोकारवालाको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागीले तथ्यांकमा घरेलु हिंसा घटे पनि समाजमा बढेको बताए । सहभागीहरूले तथ्यांकमा घट्दो देखिए पनि समाजमा जाँदा हिंसाका घटनाहरू बढ्दो देखिएको र सामाजिक असुरक्षाका कारण यस खालका घटना बाहिर आउन नसकेको बताएका थिए ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले हिंसाका घटना समाजमा लुकेका र लुकाइएका अवस्थामा रहेको हुन सक्ने बताए । उनले पीडितहरूले न्यायकर्ताहरू माथि विश्वास नगरेको कारण हिंसाका घटनाहरू बाहिर आउन नसकेको बताउँदै न्याय दिलाउने विश्वास दिलाउनुपर्ने बताए । स्थानीय तहले बनाएको संरचनाप्रति नागरिकको विश्वास र जनचेतना जगाउने काममा लाग्नुपर्ने थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.