३९ वर्षदेखि फलामका औजार बनाइरहेका ‘देउवीर’

३९ वर्षदेखि फलामका औजार बनाइरहेका ‘देउवीर’

बागलुङ : तमानखोला गाउँपालिका–२ मा पर्छ ‘खोलेस्वाङ गाउँ’। गाउँपालिकाको केन्द्र बोंगादोभान बजारदेखि करिव एक घण्टाको उकालो पैदलपश्चात पुग्न सकिन्छ खोलेस्वाङ। त्यही गाउँको बीच भागमा पर्छ देउवीर रसाइलीको माटो, ढुंगा र टिनले बनाइएको छाप्रो अर्थात् ‘आरन’। आरनभित्र यत्रतत्र छरिएका छन् फलामका औजारहरू। देउवीर आरनको एक छेउमा बसेर घरी औजार तताउनका लागि देब्रे हातले हातेपंखा घुमाउँदै दाइने हातले आगोमा औजार मिलाइरहेका हुन्छन् त घरी त्यही ओजारलाई आकार दिँदै।

उमेरले ५५ वर्ष लागेका रसाइली ३९ वर्षदेखि एकाबिहानैदेखि साँझसम्म आरानमै औजार बनाउन तल्लीन हुन्छन्। आरन पेशाबाटै गाउँमा जग्गा खरिद गरेर घर समेत बनाएका रसाइली देशमै कर्म गरेर सुख पाउन सकिन्छ भन्ने उदाहरण हुन्। ‘१६ वर्षको उमेरमा गाउँमै आरन व्यवसाय सुरुवात गरेको हुँम्,’ रसाइलीले भने, ‘फलामका औजार बनाएरै गाउँमा जग्गा किनेर घर बनाएँ।’ 

आरन व्यवसायबाटै तीन जनाको परिवारको सहज जीविकोपार्जन गर्दै आएको रसाइलीले बताए। यही व्यवसायको आम्दानीले दुई छोराको विवाह गराएको र एउटा छोरालाई अहिले कक्षा १० मा अध्यापन गराउँदै आएको जानकारी दिए। ‘आरन पेशाको कमाइले दुई छोराको विवाह गराएँ। अहिले छोराहरू छुट्टै बस्छन्,’ उनले भने, ‘छोराहरू छुट्टै बस्न लागेपछि रोजगारीका लागि विदेशिएका छन्। मैले कान्छो छोरालाई आरन व्यवसायबाटै कक्षा १० मा अध्यापन गराइरहेको छु। छोराले फुर्सदको बेला सघाउँदै आएको छ।’

बालिघरे प्रचलनबाट व्यवसाय सुरु गरेका देउवीर अहिले ज्यालामा काम गर्छन्। ‘पहिले बालिघरे प्रचलन थियो। वर्षभरी काम गरेपछि एकपटक गाउँका स्थानीयले आफ्नो क्षमताअनुसार अन्नबालीहरू दिन्थे,’ उनले भने, ‘अहिले ज्यालादारीमा काम गर्छु। आफूले जति काम गर्न सक्यो त्यति आम्दानी हुने गर्छ।’ गाउँमा अन्य आरन व्यवसाय नहुँदा रसाइलीलाई भ्याइनभ्याइ हुने गर्छ।

रसाइलीले आरन पेशाबाट मासिक ३० हजार रूपैयाँ आम्दानी गर्दै आएको बताए। अहिले सामान्य हँसिया जपेको १ सय रूपैयाँ लिने रसाइलीले जानकारी दिए। तमानखोला गाउँपालिकाको सिल्गुम, भयरबुंगा, हिजा, स्याउला, पहिरा तथा नर्जाखानीबाट समेत औजार बनाउन उनीकहाँ आउने गरेका छन्। बढ्दो आधुनिकीकरणमा पनि आफूले घरेलु औजारबाट नै हँसिया, कोदालो, बन्चरो, फाली लगायत स्थानीय औजार निर्माण गर्ने गरेको रसाइलीको भनाइ छ। देउवीरले निर्माण गर्ने फलामे औजार ग्राहकले मन पराउने उनले बताए। ‘देउवीरले निर्माण गरेको औजार भन्नेबित्तिकै स्थानीयले विश्वासका साथ जहाँबाट भए पनि किन्न हिचकिचाहट गर्दैनन्,’ उनको भनाइ छ। 

गाउँमा स्थानीयले पनि सम्मानपूर्वक व्यवहार गर्ने गरेको देउवीरसँग अनुभव छ। ‘बजारमा फलामका विभिन्न औजार किन्न पाइन्छ,’ उनले भने, ‘मैले बनाएको औजार स्थानीयले खोजीखोजी किन्न आउनुहुन्छ। विभिन्न मेला महोत्सवमा स्थानीय औजार निर्माण गरेको भन्दै सम्मान गर्नुभएको छ। यसले गाउँमै काम गर्दा सम्मान महशुस गरेको छु।’

आरन व्यवसायप्रति अहिलेका युवाहरूले चासो नदिँदा रसाइलीलाई चिन्ता बढेको छ। ‘अहिलेका पुस्ताले यो पेशा प्रति खासै वास्ता गर्दैनन्,’ उनले भने, ‘आरनप्रति नयाँ पुस्ताको आकर्षण घट्दो छ। त्यसैले पेशा नै लोप हुन्छ कि भन्ने चिन्ता लागेको छ।’ बाबासँग काठको काम गर्दा गाह्रो भएपछि आरन व्यवसायमा लागेका रसाइली फलामका औजार बनाउने गाउँका चर्चित कालिगढ हुन्।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारमा पलायन हुने संख्या बढी रहेको बेलामा पुख्र्यौली पेशालाई आधुनिकीकरण गरेर काम थालेमा मनग्ये आम्दानीसमेत गर्न सकिने रसाइलीको भनाइ छ। 

सरकारले आधुनिक विद्युतीय माध्यमबाट औजार उत्पादन गर्न सकिने प्रविधियुक्त सामग्री र सिपमा सहयोग गरे युवा पुस्ताको पनि आकर्षण बढ्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.