राजस्व संकलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन्। भन्सार विभागले आइतबार आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए।
'अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन,' अर्थमन्त्री पौडेलले भने,' हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ।'
उनले भने,'अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने,उत्पादन–उत्पादकत्व र आर्थिक वृद्धिका लागि सरकारले चालेको यो कदम अन्तिम होइन । यस्ता कदम थप चाल्दै जानेछौँ। सरकार बन्दैगर्दा अर्थतन्त्रमा जुन निराशा र शिथिलता थियो,त्यसलाई चिर्न सरकार सफल भएको छ । निराशालाई आशामा बदलेर अर्थतन्त्रमा गतिशीलता दिनुपर्छ भन्ने दिशामा सरकार निर्देशित छ । सबैले यही भावनाका साथ काम गरौँ ।'
भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।
यसैगरी राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको बताए। भन्सार प्रशासनलाई पूर्ण स्वचालित बनाउनका लागि प्रविधिको प्रयोग बढाउँदै लगिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
