अब एकताबद्ध एमाले

अब एकताबद्ध एमाले

२०४६ को जनआन्दोलनपछि नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरण भई नेकपा (एमाले) स्थापना भएको थियो। त्यसको केही वर्षपछि नै आन्तरिक एवं बाह्य शक्ति संघर्षको चपेटामा पर्दै आएको छ। खासगरी विगतमा एमालेले मुट्ठीभर नेताहरूको व्यक्तिवादी प्रवृत्ति, चरम गुटबन्दी र सत्ताकांक्षाका कारण थुप्रै पटक विभाजनको पीडा खेप्दै आयो। पार्टीमा हुँदै आएको टुटफुट र विभाजन नेताहरूको भूमिकामा मात्रै सीमित रहेको ठानिँदैन।

केही हदसम्म बाह्य शक्ति केन्द्रको दबाब र प्रभावमा समेत पार्टी विभाजन हुन पुगेको चर्चा राजनीतिक वृत्तमा छ। यद्यपि लामो समयदेखि एमालेभित्र विकसित भएको आन्तरिक संघर्ष, गुट–उपगुट र नेताहरूको महŒवांकाक्षा नै पार्टी विभाजनको मूल जिम्मेवार कारक थिए। तर व्यक्ति एवं गुटगत समूहरूको एमालेबाट बेलाबेला भइरहेको अलगीकरण तथा बर्हिगमन सैद्धान्तिक–वैचारिक र नीतिगत–कार्यक्रमिक विमतिका कारण भएको पाइँदैन। बरु, ती परिघटनाहरूलाई नितान्त सत्तास्वार्थ, पदीय आकांक्षा र शक्तिसंघर्षको परिणामको रूपमा बुझ्नु नै वस्तुवादी हुन्छ।

आफैंमा केन्द्रदेखि टोल–बस्तीसम्म बलियो संगठन, इमान्दार कार्यकर्तापंक्ति, पार्टीको युग सुहाउँदो सैद्धान्तिक–वैचारिक मार्गदर्शन र दूरदर्शी नेतृत्व रहेको एमालेले राष्ट्रवादी–विकासप्रेमी पार्टीको छवि बनाएको छ। एमालेले समानता, समृद्धि र सामाजिक न्यायप्रतिको दृढ संकल्प बोकेको छ। देशमा विभिन्न कालखण्डमा विशिष्ट र निर्णायक राजनीतिक भूमिका खेल्दै आएको पार्टीले पटक–पटक विभाजन र टुटफुटका बाबजुद पनि राष्ट्रनिर्माणको प्रक्रियामा अपेक्षित योगदान गर्दै आएको छ। बलियो राजनीतिक शक्तिबिना लोकतन्त्रको रक्षा, स्थिरता, क्षेत्रीय शान्ति, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता हुन सक्दैन। बरु अराजकता, द्वन्द्व र अस्थिरता पैदा हुन जान्छ। विकास विरोधी र पश्चगमनकारीहरू सल्बलाउने खतरा हुन्छ। लोकतन्त्र र मानवाधिकारमाथि धावा उत्पन्न हुन पुग्छ। 

यद्यपि विभाजन र टुटफुटको बाबजुद कयौं आरोह–अवरोहलाई चिर्दै निरन्तर शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माणमार्फत मुलुकको समृद्धिको अभियानमा निरन्तर क्रियाशील हुनु एमालेका निम्ति कम चुनौतीपूर्ण छैन।

वामदेव नेतृत्वमा एमाले विभाजन : एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा नेपालमा कम्युनिस्ट पार्टीको पहिलो अल्पमतको सरकार गठनपश्चात् पार्टीको लोकप्रियता ह्वात्तै बढ्यो। ‘आफ्नो गाउँ, आफैं बनाऔं’ र ‘सामाजिक सुरक्षा’सँग सम्बन्धित महŒवपूर्ण कार्यक्रमहरू लागू भएसँगै एमालेले प्रमुख राष्ट्रिय शक्तिको रूपमा लामो समयसम्म देशमा शासन गर्ने स्थिति देखा पर्‍यो। त्यससँगै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहमा एमालेको शक्ति र संगठनविरुद्ध षड्यन्त्र भए। त्यहीबेला वामदेव गौतम समूहले विभाजनको नेतृत्व गर्‍यो। तब मनमोहन नेतृत्वको सरकारले गरेका विकासका कार्यहरूबाट अत्तालिएका एमालेविरोधी शक्तिहरूका निम्ति विभाजनले राहत प्रदान गर्‍यो।

वामदेव नेतृत्वको समूहले देशको बलियो राजनीतिक शक्तिको रूपमा स्थापित एमालेलाई २०५४ सालमा विभाजित गरेको घटना एमालेजनका निम्ति भने निकै पीडादायी थियो। उनीहरूले महाकाली नदीका विषयमा नेपाल–भारतका बीचमा भएको द्विपक्षीय सम्झौतालाई राष्ट्रघाती करार गरे। उक्त सम्झौतामाथि प्रश्न गर्दै वामदेव समूहले तत्कालीन नेकपा (एमाले) को मूल नेतृत्वको निर्णयप्रति चर्को आलोचना गरेको थियो। अन्तत्वोगत्वा: नेकपा (एमाले) बाट वामदेव समूह आफूलाई राष्ट्रवादी र क्रान्तिकारी घोषित गर्दै अलग भयो। जबकि उनीहरूले छोटो अवधिमै ठूलो तामझामका साथ नेकपा (माले) नामको पार्टी स्थापना गरे।

संसदीय चुनावमा पार्टीले सबैजसो निर्वाचन क्षेत्रहरूमा उम्मेदवार उठायो। तर एक सिट पनि जित निकाल्न सकेन। पार्टीको महासचिव रहेका वामदेव गौतमसमेत निर्वाचनमा पराजित हुन पुगे। तब राष्ट्रिय राजनीतिमा उनको प्रभाव विस्तारै कमजोर हुँदै गयो। त्यसपछि उनी २०५७ सालमा पुन: एमालेमै फर्किए। यद्यपि एमालेका तत्कालीन नेता सीपी मैनालीको नेतृत्वमा रहेको (माले) नामको पार्टी यद्यपि अस्थित्वमै छ। तर मैनाली र माले दुवैको राजनीतिक जीवन घर न घाटको स्थितिबाट गुज्रिरहेको छ। वामदेव भने पुन: शक्ति आर्जनका लागि प्रयासरत देखिन्छन्।

अशोक राई समूहद्वारा एमाले परित्यागको घटना : एमालेका तत्कालीन उपाध्यक्ष रहेका अशोककुमार राईको समूह (पाँच सयभन्दा बढी) ले पार्टीमा ब्राह्मणवाद हाबी रहेको आरोप लगाउँदै २०६९ मा पार्टी परित्याग गर्‍यो। जसको मूल मुद्दा पहिचान र समावेशिताको थियो। त्यससँगै उनीहरूले संघीय समाजवादी नामको पार्टी गठन गरे। परिणामत: राई नेतृत्वको पार्टीको २०७० को संसदीय चुनावमा प्रत्यक्ष निर्वाचनतर्फ शून्य परिणाम आयो। केवल पाँच सिट मात्रै प्रतिनिधिसभामा समानुपातिकतर्फ हात लाग्यो। पार्टीलाई बलियो संगठनमा रूपान्तरण गर्न र स्पष्ट सैद्धान्तिक राजनीतिक दृष्टिकोणको विकास गर्न नसकेकैले मधेस आधार क्षेत्र रहेको उपेन्द्र यादव नेतृत्वको जसपासँग एकता गर्न बाध्य भयो।

अहिले उनै राई जसपाबाट समेत अलग रही आफ्नै नेतृत्वको पार्टी गठन गरेका छन्। परिस्थितिमा यसरी बदलाव आयो कि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले–जसपाको गठबन्धन भएकाले सुनसरीमा एमालेकै मतबाट राई निर्वाचित हुन पुगे। एमालेबाट बाहिरिएको यो १२ वर्षको अवधिमा उनको पार्टी कहिले कुन पार्टीसँग विलय त कहिले पुन: विभाजनको अन्त्यहीन शृंखलाबाट निरन्तर गुज्रिँदैछ। यो समूहले एमाले परित्याग गर्नुको औचित्यता अझै पुष्टि गर्न सकेको देखिँदैन।

नेकपा विभाजनपश्चात् गौतमको एमालेसँग पुन: विच्छेद : २०५४ सालमा एमाले विभाजनपश्चात् छोटो अवधिमै पुरानोघर फर्किएका गौतम नेकपा विभाजनपश्चात् पुन: एमालेको कित्ता बाहिर उभिए। अदालतको फैसलाले दुवै पार्टीलाई पूर्ववत् अवस्थामै फर्काई दिएपश्चात् पुरानै स्वरूपमा एमाले र माओवादी केन्द्र ब्युँतिए। तर गौतम भने एमाले र माओवादी केन्द्र दुवैतर्फ बस्न अस्वीकर गरी अलग्गै बसे। उनले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान नामको संगठन बनाए। त्यही संस्थामार्फत उनी राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका खोजी रहेका देखिन्छन्। उनी पूर्ववत् अवस्थामा भोग गरी आएको सत्ता–शक्तिको रवाफ पुन: हासिल गर्ने ध्याउन्नमा छन्। त्यसकै सिलसिलामा अहिले आफ्नै पूर्वघर एमालेमा फर्कने निष्कर्षमा पुगेका छन्।

नेपाल–खनाल समूहको फुट : एमालेका तत्कालीन संस्थापक महासचिव मदन भण्डारीको दुर्घटनापश्चात् महासचिव बनेका माधव नेपाल पार्टीभित्र करिब १५ वर्षसम्म निरन्त एक्लै हाबी रहे। एमालेले बहुपदीय प्रणालीलाई अंगीकार गरेसँगै सम्पन्न भएको पार्टीको आठौं महाधिवेशनबाट झलनाथ खनाल पार्टीको अध्यक्षमा आए। जबकि एमालेकै राजनीतिबाट माधव नेपाल र झलनाथ खनाल दुवै जना देशको कार्यकारी प्रधानमन्त्री पनि बने। विडम्बना, एमालेको पार्टी संरचनाको सबैभन्दा माथिल्लो तह मानिने महासचिव÷अध्यक्ष र देशकै प्रधानमन्त्री भइसकेका नेपाल–खनाल दुवैजनाको नेतृत्वमा २०७८ सालमा एमाले विभाजित हुन पुग्यो। पार्टी विभाजनलगत्तै भएको संसदीय निर्वाचनमा नेपाल नेतृत्वको पार्टीले जम्मा प्रत्यक्षतर्फ १० सिटमात्रै प्राप्त गर्‍यो। यत्तिसम्मकि राष्ट्रिय दलको मान्यता प्राप्त गर्न आवश्यक पर्ने ३ प्रतिशत थ्रेसहोल्डको सीमासमेत कटाउन सकेन। यसरी एमालेको राजनीतिको केन्द्रमा दशकौं बिताएर केपी ओली एमालेको नेतृत्वमा आए। त्यसपछि पार्टी नै विभाजन गरेर अलग पार्टी गठन गरेका नेपाल–खनालको निर्णयलाई जनताले अनुमोदन गरेको देखिँदैन। अझ खनाल पक्षले त एमालेमै फर्किने चाहना बेलाबेला व्यक्त गर्दै आएको समेत देखिन्छ।

भीम रावलको निष्कासन : एमालेमा पाँच दशक सक्रिय राजनीति गरेका नेता भीम रावललाई केही हालैमात्र अनुशासनविपरीत काम गरेको भनी पार्टीले निष्कासन गर्‍यो। उनीमाथि अनुशासनको नाममा पार्टीले चलाएको कारबाहीको डण्डाबारे अनेकौं कोणबाट बहस र टीकाटिप्पणी भइरहेका छन्। केहीले दसौं महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा केपी ओलीको चाहनाविपरीत उनको प्रतिस्पर्धीको रूपमा रावलले उम्मेदवारी दिएपछि मूल नेतृत्वसँग असमझदारीको परिणामको रूपमा निष्कासनको घटनालाई अतिरञ्जित बनाएर व्याख्या गर्ने गरेका छन्। तर सत्यचाहिँ के देखिन्छ भने उनलाई निर्वाचनपश्चात् सक्रिय राजनीतिमै रहन र पार्टी नेतृत्वले विभिन्न पदहरूमा बस्न निरन्तर आग्रह गरिरहेको थियो। त्यसका विपरीत रावलले पार्टी कमिटीका सबै निर्णय र आग्रहहरूलाई अस्वीकार गर्दै पार्टीपंक्ति र नेतृत्वलाई नै चुनौती दिने कार्य गरे। उनको त्यस किसिमको व्यवहारबाट पार्टी नेतृत्व झस्किनु अस्वाभाविक थिएन। प्राय: रावलले सार्वजनिक मञ्चहरूमा पनि पार्टीको मूल नेतृत्व र एमालेप्रति निरन्तर असन्तुष्टि र तिक्तताहरू पोख्दै आएका थिए। त्यसपश्चात् पार्टीले रावललाई स्पष्टीकरण सोध्नु कसैगरी नाजायज देखिँदैन। तब रावलले पार्टीले सोधेको स्पष्टीकरणको बदला पार्टीको मूल नेतृत्वलाई नै स्पष्टीकरण सोध्नु आफैंमा प्रणालीगत हिसाबले चल्ने पार्टीका निम्ति अनौठो थियो। तसर्थ, एमालेले रावललाई गरेको निष्कासनको निर्णयप्रति आश्चर्य मान्नुपर्ने कारण देखिँदैन।

अन्त्यमा : मूलत: एमाले स्थापना एताको अवधिमा पार्टीका ठूला र प्रभावशाली भनिएका नेताले नै पार्टी विभाजन र फुटको शृंखला चलाएको देखिन्छ। यद्यपि एमालेलाई त्यस्ता फुट, विभाजन र वर्हिगमनले ठूलो क्षति पुगेको चाहिँ देखिँदैन। बरु फुटपरस्त प्रवृत्ति नै उनीहरूका निम्ति घातक सावित हुँदै आएको छ। पार्टी विभाजन गर्नेहरूले त्यसको औचित्यता पुष्टि गर्न सकेको देखिँदैन। न त जनताले नै फुट परस्त प्रवृत्तिलाई स्वीकार गरेको देखिन्छ। पटक–पटकको पार्टी विभाजन, टुटफुट र वैयक्तिक एवं सामूहिक रूपमा हुने नेताहरूको अलगीकरणले एमालेले देशको पहिलो राजनीतिक शक्ति बन्ने अवसर चाहिँ गुमाउँदै आएको सत्य हो। त्यसबाट पार्टी अनुकूलको सरकार निर्माण हुन नसक्नुले एमालेले लिएको नीति र योजना अनुरूपको परिणाममुखी विकास गर्न सकेको पाइँदैन। अन्ततोगत्वा: देशमा जन अपेक्षित आर्थिक उन्नति र राजनीतिक स्थायित्व कायम हुन सकेको छैन। 

अर्कोतर्फ, कम्युनिस्ट पार्टीहरूमा भइरहेको लगातारको विभाजनको शृंखलाका कारण जनताको कम्युनिस्ट पार्टीहरूप्रतिको बुझाइमा नकारात्मक दृष्टिकोण र नैराश्यता विकास हुने खतरा बढ्दै गएको छ। केही नेताहरूको सन्कीपन, महत्वाकांक्षा र व्यक्तित्वको टकरावका कारण पार्टी नै विभाजनको तहसम्म पुर्‍याउने अराजनीतिक चरित्र र गलत प्रवृत्तिमाथि कार्यकर्ता र जनताले औंला उठाइरहेका छन्। यस्ता विषयप्रति एमालेको वर्तमान नेतृत्वले सचेततापूर्वक ‘राइट पर्सन, राइट प्लेस’को नीतिलाई अनुसरण गर्नुपर्ने देखिन्छ। जहाँ पुन: विभाजन र फुटको पीडा सहनु नपरोस्। यसरी प्रगतिशील, लोकतान्त्रिक र समृद्धिको वाहक मानिएको एमालेजस्तो बलियो राष्ट्रिय राजनीतिक शक्ति आगामी दिनमा गुटबन्दी, सत्ताकांक्षा र आन्तरिक शक्ति संघर्ष चपेटाबाट मुक्त हुन सकेमा पहिलो राजनीतिक शक्ति बन्न कसैले रोक्न नसक्ने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.