गोरखाका हिमाली क्षेत्रमा हिउँ पर्ने समयमा हावाहुरीको वितण्डा
३ घर जलेर नष्ट, २ घर र गुम्बा उडायो

गोरखा : सिजनमा हिउँ नपरेर हावाहुरी अत्याधिक चल्न थालेपछि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका बासिन्दामा समस्यामा पर्न थालेका छन् । हावाहुरीले धुलो उँडाएपछि गाउँभरि बिरामीको संख्या बढेको स्थानीयहरूको भनाइ छ ।
हावाहुरी अत्याधिक चलेपछि बिहिबार वडा नं–६ ताजुस्थित कुन्साङ लामाको तीनवटा घर जलेर नष्ट भएको छ । बिहीवार दिउँसो करिव साढेँ चार बजेतिर भएको आगलागीबाट लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्पपश्चात निर्माण भएको एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
खाना पकाउन चुल्होमा बालेको आगो हावाहुरीले धुरीमा पुर्याएपछि आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाँडाकुँडा पनि सबै जलेका छन्,’ उनले भने, ‘घरको भुइ तलामा रहेका ११ वटा पशुचौपाय पनि मरेका छन् ।’
प्रहरीका अनुसार आठ वटा गाई र तीन वटा गोरु जलेर मरेका हुन् । त्यस्तै हावाहुरीले दुईजनाको घर उडाएको छ । ताजुका पासाङ लामा र धावा रिञजिन लामाको घर उँडाएको हो ।
सोही गाउँमा हावाहुरीले मङ्गङ गुम्बाको जस्ता उडाएको स्थानीय गोपाल लामाले जानकारी दिए । हावाहुरीले माने दुङ्गुर समेत उडाएको उनले बताए । ‘हावाहुरीका कारण उडेको धुलोले स्थानीयहरु बिरामी परेका छन्,’ उनले भने, ‘धेरै जसोलाई रुघाखोकी लागेको छ ।'
प्रतिक्रिया दिनुहोस !
