अमेरिकामा जन्मसिद्ध नागरिकता हटाउने ट्रम्पको आदेश अदालतद्वारा रोक

वासिङटन डिसी : गैर-अमेरिकी आमाबाबुका सन्तानलाई जन्मकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले १४ दिनका लागि रोक लगाएको छ। संघीय अदालतका न्यायाधीश जोन कोफेनरले वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यबाट दायर गरिएको निवेदनमा यो फैसला सुनाएका हुन्।
सीएनएनका अनुसार बहसको क्रममा न्यायाधीश जोन कफेनरले न्याय विभागका वकिललाई रोक्दै सोधे, 'यो आदेशलाई कसरी संवैधानिक मान्न सकिन्छ? यो त दिमाग नै हल्लाउने खालको छ। यो स्पष्ट रूपमा असंवैधानिक आदेश हो।'
ट्रम्पले शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए। यो फैसलाले अमेरिकामा प्रत्येक वर्ष जन्मिने १.५ लाख नवजात शिशुहरूको नागरिकता खतरामा परेको आलोचकहरुले जनाएका छन्। उक्त आदेश कार्यान्वयन गर्न ३० दिनको अवधि, अर्थात् फेब्रुअरी १९ सम्म समय दिइएको छ।
ट्रम्पसँग संवैधानिक अधिकार नभएको दावी
ट्रम्पको उक्त निर्णयपछि मंगलबार २२ राज्यका महान्यायाधिवक्ताहरूले दुई संघीय जिल्ला अदालतमा उक्त आदेश उल्टाउन माग गर्दै मुद्दा दायर गरेका थिए। संयुक्त राज्य अमेरिका जन्मसिद्ध नागरिकता वा जस्ट सोली (माटोको अधिकार) को सिद्धान्त लागू हुने ३० देशहरू मध्ये एक हो।
उनीहरुले राष्ट्रपति र कांग्रेस (संसद) सँग १४ औं संशोधन अन्तर्गत जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने संवैधानिक अधिकार नभएको मुद्दा दायर गरेका छन्। न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लेट्किनले राष्ट्रपति शक्तिशाली व्यक्ति भए पनि राजा नभएको बताए। उनले संविधान पुनर्लेखन गर्न नसक्ने बताए।
अमेरिकामा जन्मसिद्ध नागरिकता बढ्दै
१८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी कांग्रेसले १४ औं संशोधनलाई अनुमोदन गरेको थियो। त्यसमा देशमा जन्मेका सबै अमेरिकीहरू नागरिक हुन् भनिएको थियो। यस संशोधनको उद्देश्य दासत्वको शिकार भएका अश्वेत मानिसहरूलाई अमेरिकी नागरिकता प्रदान गर्नु थियो।
संशोधनमा संयुक्त राज्य अमेरिकामा जन्मेका सबै बालबालिकाहरूलाई समावेश गर्ने गरी व्याख्या गरिएको छ। उनीहरूका आमाबाबुको आप्रवासन स्थिति जेसुकै भए पनि अमेरिकामा जन्मेकै आधारमा सबैले नागरिकता पाउने गरेका छन्।
यस कानूनको फाइदा उठाउँदै धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढेको छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
