ठगी मुद्दाका प्रतिवादी अनिल पोखरेल ५ लाख धरौटीमा छुटे

विराटनगर : ठगी मुद्दाका प्रतिवादी मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिलकुमार पोखरेल ५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीसँग धरौटीबाट ५ लाख रूपैयाँ लिएर मुद्दाको पुर्पक्ष गर्न बिहीबार आदेश दिएको हो।
उनी संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन्। आदेशलगत्तै उनी धरौटीबापतको रकम बुझाएर छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी इजलासबाट आदेश भएको हो,’ बुढाथोकीले भने। उनका अनुसार अदालतले अनिलसँग बिहीबार नै बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। बहस सकिएपछि अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो।
अनिलविरुद्ध ३८ लाख ८० हजार रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो। उनी गत पुस २५ गते पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको थियो। मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर बुधबार ठगी मुद्दा दर्ता गरेको हो।
उनले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन्। पार्टीको कोटाबाट छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म रकम लिएको बयान बौआलालले दिएका छन्। एबीबीबीएसमा छोरीको नाम ननिस्किएपछि बौआलालले पैसा फिर्ता मागेका थिए।
पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ। बौआलालले २ वर्षअघि आफू ठगीमा परेको भन्दै अनिलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। तर, प्रहरीले लिन मानेन। हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए। उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेर अनिलमाथि ठगी मुद्दामा अनुसन्धान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
