स्वदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि अध्यादेश ल्याइएको हो : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्न र बाह्य लगानीलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबारदेखि काठमाडौंमा नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ को उद्घाटन गर्दै उनले प्रदर्शनीले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुर्याउने बताएका हुन्।
लगानीलाई प्रोत्साहित गर्नका लागि कानून बनाउन अध्यादेश जारी गरिएको उनले जानकारी गराए। नियन्त्रणमूखी कानुनलाई परिमार्जन गर्दै स्वदेशी लगानीलाई प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालले धेरै राम्रा वस्तुको उत्पादन गर्न सकेको भन्दै यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताए। नेपालको पश्मिना धेरै मुलुकमा निर्यात हुने भएकाले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा उनले जोड दिए।
नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ। पश्मिना एक्स्पोको साथै मेक इन नेपाल एक्स्पो २०२५ समेत भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू रहेका छन्। मेला आयोजना अवधिभर २० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।
प्रतिक्रिया दिनुहोस !
