वैदेशिक रोजगारमा वार्षिक साढे १४ प्रतिशत वृद्धि

काठमाडौं : सरकारले युवालाई स्वदेशमै टिकाउने योजनाअनुरूप विभिन्न नीति अवलम्बन गर्दै आए पनि बर्सेनि वैदेशिक रोजगारमा बाहिरिने युवाको संख्या झन् बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनासम्ममा मात्रै ३ लाख ९३ हजार ६७ जना वैदेशिक रोजगारमा गएका छन्। यो कुल संख्यामध्ये नयाँ श्रम स्वीकृति लिएर २ लाख २५ हजार ६ सय २५ र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन्। अझ बिदेसिने कुल संख्यामा पुरुषको हिस्सा ८९ प्रतिशत (६० हजार १ सय ५३) छ भने महिला ११ प्रतिशत (७ हजार १ सय ५) छन्।
चालु आवको बिदेसिनेको तथ्यांक गत आर्थिक वर्षको तुलनामा १४.४६ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा नेपालबाट ३ लाख ४३ हजार ४ सय ५ युवाहरू बिदेसिएका थिए। यसअनुसार गत आवको तुलनामा चालु आवको ६ महिनामा ४९ हजार ६ सय ६२ थप बिदेसिने युवा बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। विगत ४ आवको ६ महिनासम्म बिदेसिएको संख्यालाई आधार मान्दा वार्षिक ३ लाख ६३ हजार युवा विदेश उडेको देखिन्छ।
चालु आवको आधा वर्षमा बाहिरिएका श्रमिकको संख्याबाहेक ईपीएस कोरिया र इजरायलमा भने कुल ४ हजार ८ सय १४ युवा बिदेसिएका छन्। अझ यसरी बिदेसिएको तथ्यांकमा अध्ययनमा बिदेसिएका युवाको संख्या समेटिदैन। समग्रमा सबैलाई जोड्ने हो भने नयाँ अवसर र राम्रो आम्दानीका लागि युवाहरूको रोजाइ विदेश बनेको देखिन्छ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो अर्थात् साउनमा मात्रै ५९ हजार ५ सय ७५ जना युवा वैदेशिक रोजगारीमा बाहिरिएका छन् । यसपछि क्रमशः भदौमा ५७ हजार ४ सय ९३, असोजमा ५३ हजार ५ सय २५, कात्तिकमा ७० हजार ९ सय ९०, मंसिरमा ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना युवा रोजगारीमा बाहिरिएका छन्। ६ महिनामा औसत हेर्दा मासिक साढे ६५ हजार युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन्।
यसैक्रममा वैदेशिक रोजगारीमा जाने युवा कतिपय रहर त कतिपय बाध्यताले जाने गरेको बताउँदै वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री धेरैजसो यहाँ भनेजस्तो रोजगार नभएपछि अझै राम्र्रो अवसर र राम्रै कमाईका कारण बाहिरिएको बताउँछन्। उनका अनुसार धेरैजसो नेपालमा राम्रै अवस्था भए पनि रहरले अझै राम्रो अवसरको खोजीमा बाहिरिएका छन्। ‘वैदेशिक रोजगारीमा जाने, अन्तर्राष्ट्रिय बसाइँसराइ भन्ने कुराहरू नेपालमा मात्रै बढी होइन संसारभरि नै छ। अमेरिकाका मान्छे जापान क्यानडा, अस्ट्रेलियामा पनि छन्। यसर्थ अन्तर्राष्ट्रिय स्तरमै माइग्रेसनको उस्तै प्रवृत्ति देखिन्छ,’ उनले अन्नपूर्णसँग भने।
वैदेशिक श्रमिकमा जाने जनशक्ति पहिलाको भन्दा विस्तारै दक्ष जनशक्ति जाने क्रम बढ्दै गएको उनको दाबी छ। वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री भन्छन्, ‘राम्रा मुलुकमा जानेहरूले भाषा र केही सीप सिकेर जाने गरेका छन्। विशेष गरेर होटलको हस्पिटालीटी, कुकिङ, वेटर, प्याकिङलगायतबारे जानेर र अन्य तालिम केन्द्रबाट तालिम प्राप्त गरेर विदेशी रहेका छन्।’ दक्ष बनाएर वैदेशिक रोजगारमा पठाउनुपर्छ भन्ने सरकारको धारणा रहेको उनको भनाइ छ। यससँगै उनले केही सीप सिकेर जाने दक्ष जनशक्ति बढेका कारण मुलुक भित्रिने रेमिट्यान्स पनि बढेकोे दाबी गरे। ‘दक्ष भएकाले राम्रो आम्दानी पनि भएको छ,’ उनले थपे।
सबैभन्दा बढी रोजगारको रोजाइ दुबई(यूएई)
नेपाली युवाहरूको रोजगारको मुख्य देश अर्थात् गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको विभागको तथ्यांकमा उल्लेख छ। चालु आवको पुस महिनामा मात्रै उक्त मुलुकमा २१ हजार १ सय २१ जनाले श्रम स्वीकृति लिएर कामदार बनेका छन्। जसमा पुरुष १८ हजार ७ सय ९ जना र महिला २ हजार ४ सय १२ जना रहेका छन्।
यसैगरी क्रमशः साउदी अरब १३ हजार ६ सय ४२, कतार ११ हजार ९ सय ८३ , कुवेत ६ हजार ५०, मलेसिया ३ हजार १ सय ७५, जापान १ हजार ९ सय ४६, रोमानियामा १ हजार ७ सय ४३, क्रोएसियाका लागि १ हजार १ सय ३४ जना विदेशी रोजगारमा छन्। यसबाहेकका अन्य मुलुकमा हजारभन्दा कम युवा रोजगारमा उडेका छन्। माल्दिभ्समा मात्रै यो महिना ९ सय ६ जना रोजगारीमा गए। विभागको तथ्यांकअनुसार करिब १ सय मुलुकमा नेपालीहरू कामदारका रूपमा श्रम स्वीकृत लिएर उडेका छन्।
धेरै जस्तो विकसित मुलुकमा विद्यार्थी भिसामा बाहिरिए पनि कामदारका रूपमा श्रम स्वीकृति लिएर पुस महिनामा मात्रै अमेरिकामा ३० जना, अष्ट्रेलियामा २२, क्यानडामा ३२ जना बिदेसिएका छन्।
वैदेशिक रोजगारमा गएका मध्यबाट यो ६ महिनामा कुल ९ सय ५४ जनाको उजुरी परेको ६ सयमध्ये ६४ जना श्रमिकको उद्धार गरिएको र ४ सय १९ मा क्षतिपूर्ति दिन लगाएको छ। यससँगै यसबीच २ हजार १६ दर्ता भएको र २ सय ९७ मुद्दामा मिलापत्र भएको विभागले बताएको छ।
यससँगै, यसअवधिमा ९८ मुद्दा अदालतमा दायर भएको र प्रहरी शाखामा २ हजार १ सय ४६ उजुरी दर्ता र १२ मिलापत्र भएको देखिन्छ। वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री सरकारले श्रमिक अनुकूलको वातावरण तय गरेको बताउँछन्। उनका अनुसार संस्थागत रूपमा वैदेशिक रोजगारमा गएकाहरूले सम्झौताअनुसार सेवासुविधा नपाएमा सम्बन्धित कामदारले विभागसमक्ष उजुरी दिनसक्ने अवस्था हुन्छ। उनी भन्छन्, ‘यसअवस्थामा विभागले राहात दिने उद्धार गर्नै गरेको छ। संस्थागत दक्ष जनशक्ति जाँदा भने कमाई पनि बढेको देखिन्छ।’
मुलुकभरबाट सबैैभन्दा बढी जनसंख्या धनुषाको अधिक छ। पुसमा बिदेसिएका कुल संख्यामा बढी हिस्सा भएको धनुषाको ३ हजार ३ सय ३० जना वैदेशिक रोजगारमा उडेका छन्।
कुल संख्यामा ३४ जना मात्रै महिला छन भने यो जिल्लाको पुरुष बढी विदेश कामदारमा गएका देखिन्छ। यसपछि बढी बिदेसिएको जिल्ला झपा हो। जहाँका ३ हजार ६६ जना जनसंख्या उडेका छन्। यसैगरी क्रमशः मोरङबाट २ हजार ७ सय ७२, सिरहाबाट २ हजार ६ सय ३९, महोत्तरीबाट २ हजार ३ सय ४९, सुनसरीबाट २ हजार २ सय ६८ र रुपन्देहीबाट २ हजार ९५ जना कामका लागि बिदेसिएका छन्। यसबाहेकका जिल्लाको संख्या २ हजारभन्दा कम छ। सबैभन्दा कम मुस्ताङ मनाङ जिल्लाका बासीन्दा वैदेशिक रोजगारमा गएका छन्। मुस्ताङबाट ३० जना र मनाङबाट २६ जना युवा रोजगारका क्रममा उडेका छन्।
प्रतिक्रिया दिनुहोस !
