कोदो : कठिन परिस्थितिको खाद्य समाधान

कोदो : कठिन परिस्थितिको खाद्य समाधान

कोदो जुन कठिन पर्यावरणीय परिस्थितिमा पनि उत्पादन गर्न सकिन्छ। कम लागत, पानी कम साथै उर्वर माटो नभएका ठाउँमा पनि यसको खेती सम्भव छ। नेपालमा कोदो चौथो महत्त्वपूर्ण अन्नको रूपमा परिचित छ। दुनियाँभरि क्यालोरी र प्रोटिनको लगभग आधा भाग केवल तीन बालीहरू गहुँ, धान र मकैबाट प्राप्त हुन्छ। जबकि केवल ३० प्रजातिका वनस्पतिले विश्वव्यापी खाद्य आवश्यकताको ९५ प्रतिशत आपूर्ति गर्छन्।

तथ्यांकअनुसार, लगभग १२ हजार ६ सय ५० वनस्पति खाद्ययोग्य छन् भनेर वर्गीकृत गरिएको छ। यस्ता धेरै कम परिचित बालीहरू, जुन पहिले खाद्य र अन्य प्रयोजनका लागि प्रयोग गरिन्थे, हाल यी बालीहरू उपेक्षित अवस्थामा छन्। कृषि वैज्ञानिक, वनस्पति प्रजनक तथा नीतिनिर्माताहरूबाट पर्याप्त ध्यान प्राप्त गर्न सकेका छैनन्। यी बालीहरूको अज्ञात सम्भावना अझै पनि पूर्णरूपमा उपयोग भएको छैन।

यदि उचित रूपमा उपयोग गरिएमा यी बालीहरूले खाद्य आपूर्ति, पहुँच, उपयोगिता र खाद्य सुरक्षामा स्थिरता, पोषण, स्वास्थ्य र आयस्तर सुधार गर्न मद्दत पुर्‍याउन सक्छन्। यस्तै, वातावरणीय सेवाहरूमा योगदान पुर्‍याउन सक्छन्। तर, केही बाधाले यी बालीहरूको उपयोगमा कमी ल्याएका छन्। उदाहरणका लागि, उपलब्धता सीमितता, उपभोगको सीमितता, छिट्टै बिग्रिने उत्पादन, कम उपभोक्ता जानकारी स्तर र नकारात्मक धारणा जस्तै ‘खडेरीको खाना’ वा ‘गरिबहरूको खाना’ भन्ने बुझाइ छ।

कृषि प्रणालीहरूको विश्वव्यापीकरणले यस्ता नकारात्मक धारणा चाँडै फैलाएको छ। आधुनिक कृषि प्रविधिप्रति पनि यस्तै नकारात्मक धारणा रहेको पाइएको छ। उदाहरणका लागि गहुँ, मकै र धानजस्ता बालीहरूलाई उर्वरभूमि, प्रशस्त पानी आपूर्ति र अनुकूल मौसम चाहिन्छ। तर, कम उपयुक्त माटो, खराब भौतिक गुण भएका जमिन र वर्षा आधारित कार्यक्रमहरूसहित न्यूनतम उपायहरूमा पनि प्रयोग गरिन सक्ने हुनाले उपेक्षित बालीहरूको खेती सम्भव छ। 

यस्ता बालीहरू सजिलै भण्डारण गर्न सकिन्छ, पौष्टिक मूल्य अधिक हुन्छ। सामान्य प्रविधिबाट उत्पादन गर्न सकिन्छ। यी बालीहरू कम विकसित राष्ट्रहरू, विशेषगरी उष्ण क्षेत्रका निम्न आय भएका व्यक्तिहरूको आर्थिक आधार र खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण हुन सक्छन्। उदाहरणका लागि, कोदोलाई उपेक्षित बाली मानिन्छ तर यो मुख्यत: एसिया र अफ्रिकी राष्ट्रहरूमा उत्पादन हुने बाली हो। यस्ता बालीहरूलाई उचित प्रवद्र्धन र प्रोत्साहन दिइएमा स्थानीय समुदाय र वातावरण दुवैका लागि लाभदायक सिद्ध हुन सक्छ।

कोदो एक कम अनुसन्धान गरिएका बालीमध्ये पर्छ। यसका बारेमा थोरै मात्र औपचारिक रूपमा लेखिएको छ, सिकाइएको छ अनि विकासका पहलहरूमा समावेश गरिएको छ। यद्यपि, कोदोले खाद्य आपूर्ति, आहार, स्वास्थ्य र आम्दानी सुधारमा महत्त्वपूर्ण योगदान दिन सक्ने सम्भावना देखाएको छ। माथि नै भनिसकें, विशेषगरी कठिन माटो र प्रतिकूल मौसमी परिस्थितिहरूमा यो राम्रोसँग उत्पादन गर्न सकिन्छ। यो जिंक र ओर्थो फस्फोरसको कमी, कम वर्षा र हिमालय क्षेत्रको कमजोर पर्यावरणीय अवस्थाहरूमा पनि अनुकूलित छ।

धान, मकै र गहुँपछि कोदो हिमालय क्षेत्रका लागि चौथो महत्त्वपूर्ण बाली हो। जहाँ जल आपूर्ति र उर्वर भूमिको अभावमा हुने भोकमरी सामान्य मानिन्छ। नेपालको खाद्य आपूर्ति र पोषण सुरक्षामा योगदान पुर्‍याउन कोदोले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। नेपालमा सन् २०३० सम्ममा खाद्यान्नको माग ८.८५४ मिलियन मेट्रिकटन र वनस्पति तेलको माग १०.०७ मिलियन मेट्रिकटन हुने प्रक्षेपण गरिएको छ। यसको वृद्धि २.२६५ वार्षिक उत्पादन दर र १.३५ जनसंख्या वृद्धिका आधारमा गरिएको हो।

कोदो उत्पादनका लागि मल प्रयोगलाई महत्त्वपूर्ण तत्त्वको रूपमा चिनाइएको छ। अनुसन्धानले देखाएको छ कि थोरै मात्रामा मलको प्रयोगले कोदो उत्पादनमा उल्लेखनीय वृद्धि गर्दछ। उदाहरणका लागि कुनै पनि समयमा मल प्रयोग गर्दा कोदो उत्पादनमा सकारात्मक असर देखिन्छ। अर्कोतर्फ बालीका अवशेषहरू र खनिज मल प्रयोगले कोदो उत्पादनमा उल्लेखनीय वृद्धि हुने उल्लेख गरेका छन्।

जलवायु परिवर्तनले कोदो उत्पादनमा पारेको असरसम्बन्धी केही अनुसन्धानले देखाएका छन् कि भारी वर्षा र अत्यधिक गर्मीले कोदो उत्पादनमा नकारात्मक असर पार्न सक्छ। तर, न्यून वर्षा र मझौला तापक्रमले मध्य नेपालको कोदो उत्पादनमा सकारात्मक असर देखाएको छ। घाना, इथियोपिया र नेपालको उदाहरणले देखाएका छन् कि कोदोजस्ता बालीले जलवायु परिवर्तनको सामना गर्न सक्ने सामथ्र्य राख्छन्। त्यसैले, कोदोलाई हिमालय क्षेत्रका खाद्य सुरक्षाको स्थिर आधारको रूपमा अगाडि बढाउन कृषि व्यवस्थापन, पोषण सुधार र जलवायु अनुकूलन रणनीतिहरू आवश्यक छन्। यसले न्यून आय भएका ग्रामीण क्षेत्रका समुदायहरूको जीविका सुधार्न र खाद्य सुरक्षामा योगदान दिन सक्छ।

कोदो बाली भण्डारणका लागि निकै उपयुक्त मानिन्छ। यसलाई प्राकृतिक अवस्थामै मुख्य खाना र पशु आहारको रूपमा संसारभर खपत गरिएको छ। कोदो कम उर्वर माटो र न्यून जल उपलब्धताका प्रतिकूल अवस्थामा खेती गर्न अनुकूल हुन्छ। यसले अफ्रिका र एसियाका केही क्षेत्रमा प्रतिकूल अवस्थामा पनि उच्च उत्पादन दिन सक्ने छोटो रोपाइँ अवधि भएकाले दैनिक आहारमा महत्त्वपूर्ण भूमिका खेल्छ। कोदो मुख्यत: सुक्खा र अर्धसुक्खा क्षेत्रका खाना र पशु आहारका लागि खेती गरिन्छ।

कोदो खेती ४००–५०० मिलिमिटर वार्षिक वर्षा हुने क्षेत्रमा र रासायनिक मल तथा महँगा कृषि इनपुटहरूको आवश्यकताबिनै गर्न सकिन्छ। जसले कठिन वातावरणमा काम गर्ने किसानहरूको पहुँच बाहिरका विकल्पलाई सहज बनाउँछ। यस्ता तथ्यहरूले देखाउँछन् कि कोदो उत्पादनको माध्यमबाट खाद्य अभाव कम गर्न सम्भव छ। नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो महत्त्वपूर्ण अन्न हो। जसले पहाडी क्षेत्रमा जहाँ कृषि भूमि र खाद्य अभाव छ। किसानहरूको जीविका धान्न महत्त्वपूर्ण भूमिका खेल्छ।

सन् २०३०, २०४० र २०५० मा नेपालमा खपत गर्न सकिने अन्नको अनुमानित उत्पादन क्रमश: ८.८५४, १०.०७५ र ११.४६ मिलियन मेट्रिकटन हुने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण सन् २०१९ लाई आधार वर्ष मान्दै प्रतिहेक्टर ३.१० टन उत्पादन र वार्षिक २.२६५ उत्पादन वृद्धिको स्थिर दर र १.३५ जनसंख्या वृद्धिको आधारमा गरिएको हो। नेपाल १ सय २१ देशमध्ये ८१औं स्थानमा रहेको छ, जसले १९.१ को ग्लोबल हंगर इन्डेक्स स्कोरका साथ मध्यम भोकमरीको संकेत गर्दछ। यस्तो अवस्थामा, अन्न बालीहरूको निर्धारणको अध्ययन महत्त्वपूर्ण देखिन्छ।

नेपालमा आगामी दशकहरूमा खाद्यान्नको मागमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि पूरा गर्न कोदोजस्ता बालीहरूको भूमिका महत्त्वपूर्ण हुनेछ। कोदो खेतीले सीमित स्रोतसाधनमा पनि किसानहरूको आय र पोषणमा सुधार ल्याउन सक्छ। साथै, कम लागतमा खेती गर्न सकिने भएकाले यसले न्यून आय भएका किसानहरूका लागि आर्थिक रूपमा समेत लाभदायक समाधान प्रदान गर्दछ। भविष्यमा, कोदो खेतीको अध्ययनले नीति निर्माण, खाद्य सुरक्षाको रणनीति र कृषि प्रणाली सुधारका लागि आधार तयार गर्न सहयोग पुर्‍याउन सक्छ। यसले नेपालको खाद्यान्न संकट समाधान गर्न कोदो खेतीको महत्त्व अझ स्पष्ट रूपमा देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.