हात्ती–मानव द्वन्द्व !

चितवन राष्ट्रिय निकुञ्ज अनेक वन्यजन्तुको बासस्थान हुँदै हो, त्यसमा पनि यहाँ हात्ती र गैंडाजस्ता विशेष जंगली जनावर यहाँका आकर्षण हुन्। नेपालभरिका जंगलमा २ सय ५० को संख्यामा हात्ती रहेको अनुमान छ। अनि चितवनको सौराहमा त होटल व्यवसायी थुप्रैले हात्ती पालेका पनि छन्। घरपालुवा हात्तीको संख्या दुई सय जति हुन सक्छ। चितवनमा हात्ती प्रजनन केन्द्र पनि छ। जसको स्थापनायता ६ दर्जन छावा जन्मिए। चितवनमा हात्ती आकर्षणमात्रै नभई कहिलेकाहीँ आतंक पनि बनिदिन्छ। भीमकाय जनावर हात्तीलाई धेरै आहारा चाहिन्छ। अनि आहारको खोजीमा गाउँ पस्छ। अनि भाले हात्तीहरू चाहिँ पोथी हात्ती अर्थात् ढोईको खोजीमा पनि बस्ती पस्छन्, होटलहरूमा पालिएका हात्तीहरू पोथीहरू जो हुन्।
कारण जुनसुकै होस्, पछिल्लो समय मकुना, गोविन्दे र रोनाल्डोजस्ता चर्चित हात्तीहरू यहाँका स्थानीयवासीका लागि त्रासका कारण बनेका छन्। गाउँघरतिर पस्ने हात्तीले बालीनाली नष्ट गरिदिन्छन्। आहाराको खोजीमा आउनेहरूले त्यसो गर्छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्र जंगली हात्तीहरूको प्राकृतिक बासस्थान हो। यहाँ विचारणीय कुरा के हो भने जंगली हात्ती मान्छेलाई दुःख दिने नियतबाटै बस्ती पस्ने होइन, बरु जंगलमा उसको आहारा घटेको छ। मानवीय अतिक्रमण जताततै छ। ऊ हिँड्ने बाटोहरू छेकिएका छन्। आहारा खोसिएको छ। बासस्थान हडपिएको छ। उसका आन्तरिक कारण पनि छन्। जसको पूर्तिका लागि उपाय खोज्ने स्वयंले हो। त्यसैले हात्ती आफैंमा समस्या होइन, मानव अस्तित्वको एउटा महत्त्वपूर्ण तत्त्व हो, जसरी अरु वन्यजन्तु र पर्यावरण हो। पर्यावरणीय सन्तुलनका लागि वन्यजन्तुको अस्तित्वको महत्त्वपूर्ण छ।
तसर्थ हात्ती पनि बाँच्ने वातारवण बनाउनु चाहिँ मानव जगत्को आफ्नै हितका लागि छ। प्रकृतिका अनुपम देन हात्तीजस्ता वन्यजन्तुलाई उसकै प्राकृतिक बासस्थानमा रमाउने वातावरण बनाइनुपर्छ। आहारासँगै भाले हात्तीले खोज्ने पोथीहरू पनि जंगलमा प्रशस्त हुने गरी उनीहरूको संख्याका सन्तुलन मिलाउन पनि मानवीय योगदान हुन सक्छ। हात्ती सफारीका लागि पोथी हात्तीलाई घरपालुवा बनाइदिएपछि भालेहात्ती सहर पस्नु स्वाभाविक हो। हात्तीको पनि यौनअधिकार कतै न कतै र कुनै न कुनै रूपमा मानव जातिले हनन् गरिदिएकै होला।
त्यसो हुँदा भाले हात्ती उत्तेजित रूपमा मान्छेमाथि पनि जाइलागिरहेको छ। तसर्थ हात्ती आतंकबाट बच्न वनमै उसलाई रमाउने वातावरण बनाउनु पर्छ।
प्रतिक्रिया दिनुहोस !
