युवाहरूको क्षमता विकासका लागि अन्नपूर्ण मिडिया र नेपाल जेसीजबीच सहकार्य

काठमाडौं : युवाहरूको नेतृत्वसहित व्यक्तित्व विकासमा काम गर्दै आइरहेको नेपाल जेसीज र अन्नपूर्ण मिडिया नेटवर्क बीच युवाहरूको क्षमता अभिवृद्धि गर्ने सहकार्य भएको छ । मंगलबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वाटरमा आयोजित एक समारोहमा सहकार्य साझेदारी सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष रजनी थापाले हस्ताक्षर गरेका थिए । सम्झौता समारोहमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष बबिता पाण्डे, अभिषेक दुलाल, नेपाल जेसीजका प्रमुख प्रशासकीय अधिकृत प्रभात श्रेष्ठ, इटहरी जुनीयर जेसीजका सदस्य मानवराज बराल, माडी जेसीज वर्ष २०२४ का अध्यक्ष सन्तोष भट्टराई सहितले सहभागिता जनाएका थिए ।
‘युवासँग सहकार्य गरेर पछिल्लो समय अन्नपूर्ण मिडिया नेटवर्कले निकै राम्रो काम गरिरहेको छ’, नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष रजनी थापाले भनिन्, ‘जेसीज पनि युवाहरूकै संस्था र उनीहरूका लागि नै काम गरिरहेकाले अन्नपूर्णसँग सहकार्य गरेका हौं ।’, देशभर संजाल रहेको नेपाल जेसीजमा हाल ३ लाख युवाहरू सदस्य रहेका छन् ।
युवाहरूसँग सहकार्य गरेर मिडिया हाउसका रूपमा हामी विविध विधामा काम गरिरहेका युवालाई मिडियासँग जोड्न नेपाल जेसीजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धक बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस !
