बजारको ढल विमानस्थलमा

हुम्ला : सिमकोट बजारबाट दैनिक रूपमा निस्कने ढलको फोहोरले सिमकोट विमानस्थलमा भल बगेको छ। बजारबाट बग्ने ढलको फोहोरले सिमकोट विमानस्थल भरिने गरेको छ।
फोहोरको कारण विमानस्थलमा समस्या निम्त्याएको सिमकोट विमानस्थलले जनाएको छ। फोहोर सफा गर्दागर्दै हैरान भइसकेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिहंले बताए।
पहिला जेसिबि स्काभेटरबाट सफाइ गरे पनि दैनिक बजारबाट बगेर फोहोर आउने भएकोले फोहोर व्यवस्थापन गर्न समस्या भएको प्रमुख सिहंको भनाइ छ।
'स्थानीय तहले बजारका ढलमा जाली हालेको भए पनि प्लास्टिक जन्यवस्तु रोकिन्थ्यो। अहिले ढलसँगै बजारमा भएका फोहोर सिधै विमानस्थल आउँछ', सिहंको भनाइ छ ।
विमानस्थलका प्रमुखले गुनासो गरेपछि विमानस्थल अनुगमन गरेका हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले फोहोरको समस्या भएको बताए। स्थानीय तहसँग कुराकानी भएको जनाउँदै उपाध्यक्ष ज्यू जिल्ला बाहिर भएकोले छलफल हुन नपाएको प्रजिअ पाण्डेयले उल्लेख गरे। फोहोर व्यवस्थापन अब छिटै गर्न पहल गर्ने प्रतिवद्वता पनि जनाए ।
विमानस्थलमा ढलको फोहोर थुप्रिएपछि जिल्ला बाहिरबाट आउने अन्तरिक तथा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ। बजारको ढलबाट निस्कने फोहोरले विमानस्थल गेटदेखि धानवमार्गसम्म नै समस्या बनाएको छ। स्थानीय तह, स्थानीय प्रशासनले फोहोर व्यवस्थापन गर्न सोच्नुपर्न अवस्था देखिएको नागरिकहरूले गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
