स्वस्थानीको सामाजिक पक्ष

स्वस्थानी व्रतकथा पुस २९ गतेबाट सुरु भएर माघ शुक्लपूर्णिमासम्म मनाइँदैछ। हिन्दु धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ। यसमा खासगरी व्रतालु महिलाले पौष शुल्कपूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत सुरुआत गर्छन्।
यसर्थ माघ शुक्लपूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ। सो व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मीत छोरालाई, मीत छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा बिसर्जन गरी बाँकी आफूले खाने चलन छ। यो स्वस्थानीको व्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ। यसमा खासगरी काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। ती स्थानहरूमा माघभर मेला लाग्छ।
स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घरघरमा पनि गरिन्छ। नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रतकथा हो। यो नेपालमा स्वस्थानी भगवानीको पूजाको ठूलो महŒव छ। यस व्रतको प्रभावले अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ। स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ। स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन्। यसलाई प्रत्येक घरले प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ। यो कथा एक महिनामा सक्नुपर्छ। नसकिएमा कुनै दिन दुई–दुई अध्याय भनेर पनि सक्नुपर्छ।
यद्यपि माघस्नानको नियम र महŒव छिमेकी देश भारतमा पनि देखिन्छ। स्वस्थानी भगवतीको पूजा नेपालीको आआफ्नो विशेषता पनि हो। यद्यपि, धर्मप्राण नेपालीमा स्वस्थानीको कथाले महŒवपूर्ण प्रभाव पारेको देखिन्छ। जुन स्वस्थानी व्रतको कथामा शिव शर्मा ब्राह्मण र उनकी ब्राह्मणी सती नामकी नारीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले त्यहाँ आइपुगेकी एउटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन्। तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्न्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ‘असी वर्षको बूढो तेरो पति होस्’ भन्ने श्राप पाइन्।
त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रहर्यो। फलतः बृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन्। वस्तुतः यसरी गोमाले छोरो पाइन् र उनको छोराको नाम नवराज राखियो। त्यसपछि विस्तारै छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानुभयो ? भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन्। त्यसपछि छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के। उता गोमाले ऋषिहरूको उपदेशले स्वस्थानी भगवतीको ‘मेरो छोरो चाँडै फर्कोस्’ भनेर पूजा व्रत गरिन्। नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए। त्यसपछि घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले उनले त्यहाँको राज्य चलाउन पाए।
त्यसपछि उनले आमालाई बोलाए। त्यसैको केही दिनमा नवराजले अर्को विवाह पनि गरे। उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन्। राजकाजको झमेलाले गर्दा जेठी श्रीमतीलाई बिर्सिरहेका थिए। फेरि उनलाई सम्झना आएपछि बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्टी भएर शालीनदीको तीरको भुइँमा खसेर बसिन्। यसैक्रममा स्वर्गबाट आएका अप्सरा रायसल्लाह बमोजिमपछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन्। यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन् र पछि उनै भगवतीको व्रत र पूजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन्। यसर्थ त्यसो हुँदा स्थान च्यूत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ। अतः स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा पनि हो। यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ। त्यसैले स्वस्थानी कथाजस्ता धार्मिक कृत्य गर्न छोड्न हुन्न भन्ने ज्ञान यसबाट प्राप्त हुन्छ।
हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ। यसमा अहंकारले विनाश गराउँछ भन्ने उपमाका लागि महादेवको बाहिरी स्वरूपलाई मात्र हेरेर आफ्नी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसंग स्वस्थानीमा छ। यसमा महादेवलाई नाना प्रकारले गाली एवं निन्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कुण्डमा हाम्फाली प्राणत्याग गरेको एकातिर छ भने अर्कोतिर नवराजकी स्त्री चन्द्रावती आफ्ना पति राजा भएको खबर सुनी चाँडोभन्दा चाँदो भेट्न लालायित भएकी चन्द्रावतीले स्वस्थानीको प्रसाद अहंकार गरेका कारण ठूलो दुःख र कष्ट पाउनु पर्यो।
त्यसरी नै यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नीबीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा छ। सतीदेवीले पतिले खाने भाङ, धतुरोको हिफायतसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ। यसर्थ देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंग पतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम एकपक्षीय मात्र होइन भन्ने सन्देश पाइन्छ। कथामा परस्त्रीलाई आँखा गाड्नु हुँदैन भन्ने कुराको बोध पनि यहाँ स्पष्ट हुन जान्छ। जब कि जालन्धरले पार्वतीलाई छल गर्न गएको प्रसंगबाट छर्लंग हुन्छ। यस कथामा पितृभक्तिको राम्रो किसिमको सन्देश पनि दिएको पाइन्छ।
समग्रमा, नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महŒवपूर्ण छ। जसकारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत एवं पूजा गर्ने परम्परा छ। स्वस्थानी माहात्म्यको पूर्वभागमा दक्ष प्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्ष प्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्यागेको प्रसंग छ। मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग छ।
स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट समाजमा पनि नयाँ पुस्तालाई मौका दिनुपर्ने सन्देश पाइन्छ। काम र उमेरले पाका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गर्नुपर्छ। यसरी स्वस्थानी व्रतकथाले अनिमात्र स्वस्थ समाज बन्ने कुराको अनुभूति दिनेछ।
प्रतिक्रिया दिनुहोस !
