बैंकको खराब कर्जाले सीमा नाघ्यो, नाफा प्रभावित

काठमाडौं : ऋणीहरूबाट किस्ता र ब्याज संकलन हुन नसक्दा समग्रमा वाणिज्य बैंकहरूको खराब अर्थात् निष्क्रिय कर्जा (एनपीएल) वृद्धि भएको छ। बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिस्किृत वित्तीय प्रतिवेदनअनुसार बैंकको खराब कर्जाको सीमा नाघेर झन्डै ७ प्रतिशत आसपासमा पुगेको छ।
औसतमा करिब साढे ४ प्रतिशत एनपीएल देखिन्छ। जबकी गत आवको सोही अवधिमा बैंकहरूको निष्क्रिय कर्जा औसतमा बढेर ३.२७ प्रतिशत पुगेको थियो। सामान्यतया बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथिलाई राम्रो मानिँदैन। अर्थात् बैंकको कुल कर्जाको ५ प्रतिशतमाथि कर्जा खराब भएमा समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंककै नीति छ।
समग्रमा खराबकर्जाको आकार बढ्दा यसको असर बैंकको नाफामा हुँदै वितरण योग्य नाफामा संकुचन आएको छ। परिणाम स्वरूप अधिकांश बंैंकले लाभांश वितरण गर्न नसक्ने स्थिति सिर्जना भएको छ। यसपटक २० वाणिज्य बैंकहरूको नाफा करिब २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ हाराहारीमा छ। यो कमाई गत आवको सोही अवधिको तुलनामा ४.३६ प्रतिशतले कम हो। किनभने गत आवको दोस्रो त्रैमाससम्म बैंकहरूले २८ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नाफा गरेका थिए। समग्रमा नाफामा कमी देखिए पनि सञ्चालनमा रहेका ११ बैंकले भने नाफा वृद्धि गर्न सफल भएका छन्। जसमा सबैभन्दा बढी नाफा गर्ने अग्रपंक्तिमा नबिल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिन्छ। जसले क्रमशः नबिल बैंकको नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४३ लाख, ग्लोबल आईएमईको नाफा ४९.५१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५ करोड ३५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ५७ प्रतिशले बढेर २ अर्ब ८३ करोड २३ लाख पु¥याउन सफल भएको छ। यससँगै, एभरेष्ट बैंक, एनएमबी बैंक लगायतको नाफा बढेको छ। तर एनआईसी, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक लगायतका ९ बैंकको नाफा घटेको छ।
खराब कर्जाका कारण २४ अर्ब प्रोभिजन
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) पनि थपिँदै गएको हो। चालु आवको पुससम्म सबै वाणिज्य बैंकहरूले २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्नु परेको छ।
यसैक्रममा नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सन्तोष कोइराला समग्रमा वाणिज्य बैंकको प्रवाहित कर्जाको रिकभरीमा दबाब परेको र निष्क्रिय कर्जा बढेकाले अवस्था त्यत्ति सहज नभएको बताउँछन्। ‘यसले अर्थतन्त्र प्रभावित बनेको छ। केही बैंकको निष्क्रिय कर्जाले सीमा नाघेको छ। कुनै बैंकको एनपीए ७ प्रतिशत हाराहारीमा पुगेको छ। कुमारीको निष्क्रिय कर्जा ६.९६ प्रतिशत हाराहारीमा पुगिसकेको छ। औसतमा बैंकहरूको निष्क्रिय कर्जा औसतमा साढे ४ प्रतिशत हाराहारीमा आइसकेकाले दबाबमूलक अवस्था बैंकहरूले सामना गर्नुपरेको हो’, उनले अन्नपूर्णसँग भने। माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष कोइरालाकाअनुसार खराब कर्जा बढ्दा कर्जा नोक्सानी प्रोभिजन बापतको पैसा छुट्ट्याउनु पर्दा नाफा घटेको हो। उनी भन्छन्, ‘जसको प्रभाव वितरण योग्य नाफामा पर्दा लगानीकर्ताहरूले प्राप्त गर्ने लाभांश घट्ने क्रममा छ। अहिलेको वित्तीय विवरणअनुसार करिब आधा दर्जन बैंकहरूले लाभांश बाँड्न नसक्ने अवस्था देखिएको छ। धेरैको नाफा नकारात्मक छ। प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, राष्ट्रिय वाणिज्य बैंकको धेरै नकारात्मक छ। यी बैंकले खराब कर्जालाई रिकभर गरेर लाभांश वितरण गर्नं निकै मुस्किल छ।’
आधा वर्षमा यस्तो देखिँदा वार्षिक लाभांश आशा लाग्दो नहुने देखिन्छ। लामो समय सहकारीमा परेको असर क्रमशः बैंकमा देखिएको भन्ने सरोकारवालाहरूको टिप्पणी पनि छ। यद्यपि बैंकहरू सहकारीमा देखिएको तलको कमजोर नभएको अध्यक्ष कोइरालाको दाबी छ। किनभने बैंकहरूले एनपीएल बढे पनि त्यसबापतको रकम नाफाबाट कटाएर प्रोभिजनमा राखेका हुन्। भोलिका दिनमा कर्जा उठेपछि उक्त प्रोभिजन नाफामै देखिने भएकाले यो जोखिम नभई सुरक्षित भएको उनको भनाइ छ। यसले बैंकहरू कमजोर भएर गए भन्ने अर्थ लाग्दैन। बैंकले नोक्सानीबापत रकम छुट्ट्याएर प्रोभिजन राख्दा संस्था बलियो बनेको उनको तर्क छ।
बैंकहरूको आम्दानीको मुख्य स्रोत भनेकै खुद ब्याज आम्दानी हो। ऋणीबाट साँवा त परै जावस ब्याज पनि समयमा नउठ्दा समग्र आम्दानी घट्यो।
प्रतिक्रिया दिनुहोस !
