देशभर दर्जन बढी सुरुङमार्ग बन्ने : नागढुंगाको प्रगति ८४ प्रतिशत,  सिद्धबाबाको ‘ब्रेक थ्रु’ माघ ११ गते

देशभर दर्जन बढी सुरुङमार्ग बन्ने : नागढुंगाको प्रगति ८४ प्रतिशत,  सिद्धबाबाको ‘ब्रेक थ्रु’ माघ ११ गते

 बुटवल : नागढुंगा र सिद्धबाबासहित देशभर १८ वटा सुरुङमार्ग बन्ने देखिएको छ। संघीय सरकार मातहत रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार कतिपय सुरुङमार्ग निर्माणाधीन छन् भने कतिपय अध्ययनकै सिलसिलामा छन्।

केहीको डीपीआर भइरहेको छ। बहुचर्चित सुरुङमार्ग मध्येको नागढुंगाको प्रगति करिब ८४ प्रतिशत भएको छ भने सिद्धबाबाको काम हाल २४सैं घण्टा भइरहेको छ। यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय गरिएको छ। 

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको प्रगति हालसम्म ८३ दशमलव ७५ प्रतिशत भएको छ। यो सुरुङमार्ग २०८० साउनभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो। २ किलोमिटर ६ सय ८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङको १ हजार ७ सय ५२ मिटर खनिसकिएको छ। यो सुरुङको कुल वित्तीय प्रगति ७६ दशमलव ६८ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ।

आर्थिक प्रगति ठेकेदार कम्पनीको मोबिलाइजेसन सहितको हो। २०७६ साल कात्तिक २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने यस सुरुङमार्गको उद्धाटन गरेका थिए। नेपालमा सडकतर्फ निर्माण गरिएको यो नै पहिलो सुरुङमार्ग थियो। २०७६ असोजमा हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण सक्ने गरी सम्झौता भए पनि कोरोना र लकडाउनका कारण समय लम्बिएको हो। 

आयोजनाको कुल लागत २२ अर्ब स्टिमेट गरिएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको यस सुरुङमार्गमा नेपाल सरकारको तर्फबाट ६ अर्ब लगानी भएको छ। यो सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा आइसकेपछि संघीय राजधानी काठमाडौं छिर्ने मुख्य द्वारमा वर्षौंदेखि यात्रुहरूले भोग्दै आइरहेको ट्राफिक जामको सास्ती रोकिने छ। रातभर यात्रामा निस्किएका यात्रुहरू काठमाडौंको मुखैमा आउँदा ट्राफिक जामले रातभरसम्मै यात्रा गरेजस्तै सास्ती भोग्नुपरेको छ। 

सिद्धबाबा सुरुङमार्ग माघ ११ गते ‘ब्रेक थ्रु’, उद्धाटन प्रधानमन्त्रीबाट

मृत्युमार्गको उपमा पाइरहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ। यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए। 

nullबुटवल पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग । फाइल तस्बिर

‘प्रधानमन्त्रीबाट ‘ब्रेक थ्रु’ गर्ने योजना भइसकेको छ’, अधिकारीले भने, ‘२४ सैं घण्टा काम भइरहेको छ।’ सुरुङमार्गको हालसम्म भौतिक प्रगति ३९ दशमवल २ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ९ प्रतिशत भएको उनले जानकारी दिए। मुख्य टनेलको १ हजार १ सय २६ मिटर खनिसकिएको छ भने बाइपाससहित १ हजार ५ सय ३० मिटर खनिएको छ। सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले लिएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रहेको छ। पाँच वर्षभित्र निर्माणको सबै काम पूरा गर्ने गरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता गरिएको थियो। सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ। 

सम्झौता अवधिभित्रै काम पूरा गर्ने लक्ष्य लिइएको प्रमुख अधिकारीले बताए। उनका अनुसार १ सय ५० बढी कर्मचारीहरूले रातदिन काम गरिरहेका छन्। दुवै तिरको भाग छिचोलिए पछि नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र अन्तिम लाइनिङको काम हुने उनले जानकारी दिए। बिस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको हो। 

पश्चिम नेपालमा निर्माण भएको एकमात्र सुरुङमार्ग भएकाले यस क्षेत्रका नागरिकहरू उत्साहित भएका छन्। बुटवल पाल्पा सीमाक्षेत्रमा निर्माण भएको सुरुङमार्गले लुम्बिनीसहित गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। बर्खाको समयमा मृत्युमार्गको रूपले चिनिने सिद्धबाबा सडक सुरुङमार्ग निर्माणले त्यसको परिचय बदलिने यात्रुले आशा गरेका छन्। कडा चट्टान सहितको सडकमा बर्खाभरी दिनहुँ पहिरो झरेर दुर्घटना हुने गरेको छ। null

बुटवल गुल्मी दैनिक जिप चलाइरहेका गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका २८ वर्षिय कृष्ण सुनार (बेले) ले सुरुङमार्ग निर्माणले खुसी बनाएको प्रतिक्रिया दिए। बुटवलमा पहाडी क्षेत्रका ६ जिल्लामध्ये गुल्मीका बहुसंख्यक नागरिकहरू बसोबास गर्छन्। गुल्मीसहित अर्घाखाँची, प्यूठान, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, स्याङजा, बागलुङ, पर्वतका नागरिकहरू बसोवास गर्छन्। 

सुरुङमार्ग सहितको सडक भएर पर्यटकीय स्थल पोखराका लागि पर्यटकहरू दिनहुँ ओहोरदोहोर गर्छन्। लुम्बिनीदेखि मुक्तिनाथको यात्रा गर्नेहरूका लागि पनि मुख्य सडक यही हो। भैरहवास्थित भारतीय सिमानाका नजिक भएकाले पनि यस क्षेत्र अन्य जिल्लाका नागरिकहरूको व्यापारिक थलो हो। बर्खाको समयमा यात्रुहरू त्रासैत्रासमा यात्रा गर्न बाध्य छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडककै कारण दुर्घटनाको जोखिम बढ्दो छ। 

  •     नागढुंगा र सिद्धबाबासहित देशभर १८ वटा सुरुङमार्ग बन्ने।
  •     कतिपय अध्ययनकै सिलसिलामा, केहीको डीपीआर भइरहेको।
  •     नागढुंगा सुरुङमार्गको प्रगति करिब ८४ प्रतिशत।
  •     सिद्धबाबाको काम द्रुत गतिमा, २४सैं घण्टा खटिँदै कर्मचारी।
  •     प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा माघ ११ गते सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गरिने।  
  •     २०७६ साल कात्तिक २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धाटन गरी नागढुंगा सुरुङमार्ग निर्माण आरम्भ।
  •     नागढुंगा सुरुङमार्ग नेपालमा सडकतर्फ निर्माण गरिएको पहिलो।
  •     आयोजनाको कुल लागत २२ अर्ब। जसमा जाइकाले दिएको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब लगानी।

पश्चिम नेपाल बस व्यवसायी संघ रुपान्त्रित प्रालि बुटवलका अध्यक्ष दधिराम खरेलले डराएर यात्रा गर्ने यात्रुलाई बन्दै गरेको सुरुङमार्गले आत्मबल बढाएको प्रतिक्रिया दिए। यो गाडीलाई मात्र नभएर पैदल यात्रीका लागि पनि त्रासको सडक हो। सिद्धबाबा सडक क्षेत्रमा माथिबाट ढुंगा खस्ने र पहिरोको धेरै जोखिम खेप्नुपरेको अनुभव सुनाए। पश्चिम नेपालअन्तर्गतका सवारीसाधनहरू पाँच/पाँच मिनेटको अन्तरमा यसै सडक भएर विभिन्न जिल्लामा आउजाउ गर्छन्। 

सुरुमार्ग क्षेत्रबाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नतिको काम अघि बढेको छ। पहिरो खस्ने क्षेत्रमा सडकमाथि छत (रकसेड) लगाउने योजना छ।

नेपाल सरकारका अर्थमन्त्री रुपन्देहीकै संघीय सांसद् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको निरन्तरको चासो र जोडबलका कारण सुरुङमार्ग निर्माणको काम अघि बढेको हो। व्यापारिक एवं औद्योगिक हिसावले बुटवल, भैरहवा क्षेत्र लुम्बिनी प्रदेशको प्रमुख थलो हो। लुम्बिनीका सबै र गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरूको पुरानो व्यापार गर्ने थलोसमेत हो बुटवल। 

देशभर १८ सुरुङमार्ग

नागढुंगा र सिद्धबाबासहित देशभर १८ वटा सुरुङमार्ग बन्ने देखिएको छ। संघीय सरकार मातहत रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार कतिपय सुरुङमार्ग निर्माणाधीन छन् भने कतिपय अध्ययनकै सिलसिलामा छन्। केहीको डीपीआर भइरहेको छ। null

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्ग ।  फाइल तस्बिर

कास्कीको हेम्जा नयाँपुल सडक खण्ड सुरुङमार्ग र नवलपरासीको दुम्कीबास बर्दघाट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चलिरहेको छ। हेम्जामा ७ किलोमिटर र दुम्कीबासमा ५ दशमलव ३ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने सरकारको लक्ष्य छ। हेम्जाका लागि २२ अर्ब ९३ करोड र दुम्कीबासका लागि ३८ अर्ब ६९ करोड लागत स्टिमेट गरिएको छ। 

कुलेखानी भीमफेदी सुरुङमार्ग (मकवानपुर), खुर्कोट सिन्धुली सुरुङमार्ग (सिन्धुली), लामाबगर सडक सुरुङमार्ग (दोलखा), धरान लेउती सुरुङमार्ग (सुनसरी), रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला ईकिमी लचा खोला सुरुङमार्ग (जुम्ला, जाजरकोट), ताथली अविओपी सुरुङमार्ग    (भक्तपुर) र फुस्रेखोला छोरेपाटनदेखि स्याङजा गुडीकोला सुरुङमार्ग (कास्की) को विस्तृत भौगोर्विक अध्ययन हुँदै छ। 

त्यस्तै, खुटिया बीपी नगर दियायल सुरुङमार्ग, गोदावरीकुण्ड काभ्रे मनेदोभान सुरुङमार्ग, बाग्लुङ ब्यु नरेठाँटी सुरुङमार्ग, प्रवास जोर्ते (पाल्पा) सडक सुरुङमार्ग, बबई छिन्चु सुरुङमार्ग, सुनमाई राजदुबोल सुरुङमार्ग (इलाम) र माझीम्तार शक्तिखोर सुरुङमार्ग पनि अध्ययनकै क्रममा रहेको निर्देशक झाले जानकारी दिए। ‘सुरुङमार्ग बनाउन चुनौती त तर बनेको ठाउँमा मानवीय क्षति हुनबाट जोगाउन भरपर्दो छ’, झाले भने, ‘दुईवटा बाहेक अरू निर्माणको क्रममा छैनन्। अध्ययनकै सिलसिलामा छन्।’

उनले सम्बन्धित जिल्लाको भौगोलिक अवस्थाअनुसार सुरुङ मार्ग निर्माणको योजना अघि बढेको जानकारी दिए। उनका अनुसार आर्थिक रूपमा सुरुङमार्गले राज्यलाई प्रत्यक्ष लाभ दिँदैन्। तर, सामाजिक रूपमा नागरिकलाई लाभ दिइरहेको हुन्छ। 

सुरुङमार्ग बनाउन पनि खर्चिलो, चलाउन पनि खर्चिलो
देशभर सुरुङमार्ग निर्माण धेरै खर्चिलो भएको सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ थापाले प्रतिक्रिया दिए। ‘बनाउनुभन्दा अझ बढी चलाउन महंगो छ’,थापाले भने, ‘जहाँतहीँ सुरुङमार्ग बनाउनु राम्रो होइन। अध्ययन र आवश्यकता हेरेर मात्र बनाउनुपर्छ।’

सुरुङमार्ग बनिसकेपछि २४ सैँ घण्टा कर्मचारीको खटनपटन, विद्युतीय अवस्था, आकस्मिक सेवा, भेन्टिलेटरलगायत काम गर्नका लागि जनशक्ति आवश्यक पर्ने उनले जानकारी दिए। 

‘सडक निर्माण गरिसकेपछि यी सबै खर्च लाग्दैन’, उनी भन्छन्, ‘तर, सुरुङमार्गमा खर्च छ। जो निरन्तर छ।’ सडकमा एक पटक लगानी गरिसकेपछि पूरा भए पनि सुरुङमार्गमा सधैंभरि खर्च हुन्छ। उनले अत्यधिक सवारीसाधनहरू चल्ने जोखिमपूर्ण क्षेत्रमा सुरुङमार्ग आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.