रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
सुप्रिम सहकारी ठगी प्रकरण : एक अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बढी बिगो माग

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी अभियोगमा आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
गत बैशाख ३ गते अदालतमा पेश भएको मूल अभियोगपत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भइसकेको छ । गत माघ ३ गते अदालतमा पेश भएको थप अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जना मध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धीकरण र अन्य १६ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
उनका अनुसार आइतबार पुरक अभियोगपत्रबाट २८ जनामध्ये आठ जना कायम भइसकेका प्रतिवादी र रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना नयाँ प्रतिवादीहरुविरुद्ध पनि सहकारी ठगी र संगठित अपराध मुद्दा जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको छ ।
दर्ता भएको पुरक अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, कर्मचारी लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ । यी चार जनाबाट कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ ।
रुपन्देही जिल्लाका न्यायाधिवक्ता पौडेलका अनुसार मुल अभियोगपत्रबाट २८ जना उपर दर्ता भएको सहकारी ठगी मुद्दामा २८ जना प्रतिवादीहरुसँग ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
त्यस्तै थप अभियोगपत्रबाट १७ जना प्रतिवादीहरूसँग २ करोड सात लाख ९४ हजार ५ सय ४० रुपैयाँ र पुरक अभियोगपत्रबाट २२ जना प्रतिवादीहरुसँग ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४१ रुपैयाँ विगो मागदावी गरिएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार हालसम्म सहकारीको रकम ठगी गरेको अभियोगमा कुल ४२ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
