सामुदायिक विद्यालयका शिक्षकले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाए

वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूले विद्यालयमा ताल्चा लगाएर त्यसको चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाई दिएका छन्।
६ महिनादेखि तलबभत्ता नपाएको भन्दै नगरपालिकामा रहेका २० वटा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाले जिल्ला प्रशासन कार्यालयमा पुगेर आइतबार चाबी बुझाएका हुन्।
बहुदरमाई नगरपालिकामा मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरूले गत साउनदेखि नै तलबभत्ता पाएका छैनन्। मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई आर्थिक कारोबारको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरूले ६ महिनादेखि तलबभत्ता नपाएका हुन्।
नेपाल शिक्षक महासंघ पर्साको अगुवाइमा जुलुशसहित पुगेका शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरूको घर खर्च टार्न समस्या परेको भन्दै बाध्य भएर विद्यालयमा ताल्चा मारेर त्यसको चाबी प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइ दिएको बताए।
प्रजिअ अर्याललाई विद्यालयको चाबी बुझाउन पुगेका बहुदरमाई नगरपालिका–२ नगरदाहास्थित महावीर साह माविका शिक्षक पन्नालाल साहले भने,‘साउनदेखि नै तलबभत्ता पाएका छैनौं। भोको पेट कति महिनासम्म पढाउने ? अहिले त घरमा बालबच्चालाई मुखमा माड लगाउन पनि गाह्रो भइसक्यो। अत्ति नै भएपछि बाध्य भएर आज स्कूलहरूमा ताल्चा मारेर चाबी सिडिओलाई बुझाई दियौं।’
यस्तै बहुरमाई नगरपालिका–८ रामनगरीको मुखदेव सुशीला प्राविधिक माविका शिक्षक लक्ष्मीकान्त साहले पनि ६ महिनादेखि तलबभत्ता नपाउँदा घरपरिवारमा कोहि बिरामी पर्दा उपचार गराउन पनि नपाएको दुखेसो पोखे। उनले भने,‘गाँउघरमा सरपाटी माँगेर अहिलेसम्म परिवार चलाइयो। अब त कसैसँग सापटी माग्न पनि लाज लाग्न थालेको छ। पैसा नहुदाँ परिवारका सदस्य बिरामी पर्दापनि उपचार गर्न सकिएको छैन।’
६ महिनासम्म तलबभत्ता नआउँदा अहिलेसम्म जसोतसो गरेर थेगिएको तर अब थेग्नै नसक्ने अवस्था भएपछि बाध्य भएर विद्यालयमा ताल्चा मारेर चाबी प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाइएको उनले बताए। उनले भने,‘मेयर र हाकिमलाई हामीले पटक पटक गुहार्यौ। तर उनीहरू आफ्नो जुँगाको लडाइमा छन्। त्यसैकारण जिल्लाको अभिभावक सिडिओ साबलाई स्कुलको चाबी बुझाइ दिएका हौं।’
नगरपालिकाले ६ महिनादेखि विद्यालयहरुमा रकम निकासा नगरेकाले विद्यालयमा विद्यार्थीहरुलाई पढाउन चाहिने चकडस्टर पनि नभएको बहुदरमाई नगरपालिका–२ पिपराको नेराप्राविका शिक्षक मनोज पटेलले बताए। उनले भने,‘स्कुलमा अहिले चक डस्टर पनि छैन। मेयर र हाकिमको आपसी लडाईले दुई सयभभन्दा बढी शिक्षक र विद्यालय कर्मचारी भोकभोकै पर्न थालेका छन्। ७ महिना भयो तलब नआएको। बाहिर पढ्न पठाएका छोराछोरीको शुल्क तिर्न नसक्दा उनीहरु घर फर्किने तरखरमा छन्। बैंकमा ब्याज र किस्तापनि तिर्न सकेको छैन।’
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार नगरपालिकाका शिक्षक–शिक्षिकाहरुको समस्याका बारेमा महासंघकै अगुवाइ त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकारीलाई भेटेर पटक पटक ध्यानाकर्षण गराइएको बताए। यस्तै महासंघकै अगुवाइमा गत पुसमा पनि प्रमुख जिल्ला अधिकारी अर्याललाई पनि ध्यानाकर्षण गराइएको तर कुनै सुनुवाइ नभएको उनले गुनासो गरे।
शिक्षक–शिक्षिकाहरुले बुझाएको विद्यालयका चाबी जिम्मा लिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले नगरपालिकाका शिक्षक र कर्मचारीहरूको समस्याबारे आफूले यसअघि मेयर र प्रमुख प्रशासकीय अधिकृतका साथै त्यहाँका जनप्रतिनिधिसँग पटक पटक छलफल गरेको बताए।
चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइ दिएपछि १० हजार भन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको वडा नम्बर २ का युवा नेता राकेश यादवले बताए। यसअघि तलब नपाएको भन्दै शिक्षकहरूले चरणबद्ध आन्दोलन गरेका कारण पठन पाठन प्रभावित भएपछि त्यसको आक्रोशमा गत पुस ५ गते बिहानै विद्यार्थीहरूको एक समूहसँगै बाहिरका पनि व्यक्तिहरूले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए। जसका कारण नगरपालिकाको कार्यालयमा १ करोड भन्दा बढीको भौतिक क्षति भएको थियो।
नगरपालिकाका मेयर तेलीले भने समस्या समाधानका लागि आफू निरन्तर लागि रहेको बताए। उनले भने,‘अब छिट्टै शिक्षक र कर्मचारीहरूलाई परेको समस्या समाधान हुन्छ।’ यता प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने पुस ५ गते नगरपालिका कार्यालयमा तोडफोड र आगजनीको घटना भएपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा त्यस दिनदेखि नै आफू कार्यालयमा नगएको बताए।
मेयर तेलीले आफूलाई कार्यालयमा हाजिर नै हुन नदिने उर्दी जारी गरेको भन्दै उनले भने,‘यदि मलाई कार्यालयमै हाजिर हुन नदिने हो भने मेयर साबले आफ्नो हाकिम खोजेर ल्याए हुन्छ। मलाई कुनै आपत्ति छैन।’
प्रतिक्रिया दिनुहोस !
