विपद्मा यस्तो हुनू, लक्ष्मणजस्तो

पनौती (काभ्रे): आकाशबाट अविरल वर्षा भइरहेको थियो। वरपरका डाँडापाखाबाट पहिरो गइरहेको थियो। विपद्को परवाह नगरी काभ्रेपलाञ्चोक, पनौती–११ बल्थलीस्थित थुम्की रिसोर्टमा पुगे, युवा व्यवसायी लक्ष्मण न्यौपाने।
असोज १० गतेदेखिको निरन्तर वर्षाले वरिपरिको बस्ती नै बगाउला झैं गरी सलाङ्दु खोला उर्लिएको थियो। वारिपारि डाँडामा पहिरो जाने क्रम सुरु भइसकेको थियो। गइरहेको थियो। ‘चारैतिरका डाँडाबाट पहिरो खसेको आवाज आउँथ्यो। कता भाग्ने, कहाँ जाने अन्योल थियो। सबै आत्तिएको अवस्था थियो,’ असोज ११ गतेको त्रासदी चित्रण गर्दै न्यौपानेले भने, ‘मध्यरातमा कहाँ जानु ? जाने पनि कहाँ ? बत्ती छैन। कसै कसैको हातमा टर्चलाइट थियो। पारिपट्टि जंगलमा मान्छेहरू रोइरहेको खबर आएको थियो। जहाँ गयो, त्यहीँ पहिरो गइरहेको थियो।’ बाढीपहिरोबाट पनौतीलगायतका विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढीको ज्यान गइसकेको थियो। अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध थियो। न्यौपानेले स्मरण गरे, ‘मेरो जीवनको कहालीलाग्दो घटना थियो। जुन घटनाबाट धेरै ठूलो शिक्षा पाइयो।’
साँझ पर्दै जाँदा सलाङ्दु खोला झन्–झन् बढ्दै गयो। छिमेकीका घर भत्किरहेका थिए। कतै व्यक्ति त कतै चौपायाहरू पुरिने क्रम जारी थियो। ‘भागेर जाउँ, कुन ठाउँ जाउँ। मान्छे नमर्ने सहर छैन भन्ने बोलको गीतको जस्तो अवस्था थियो,’ उनले भने, ‘त्यो कहालीलाग्दो अवस्थाले पिरोल्यो। बस्ती त सखाप हुने भई नै हाल्यो, मान्छेलाई कसरी बचाउने ? भन्ने चिन्ता थपियो।’ सुरक्षाकर्मीसँग फोन सम्पर्क भइरहेको थियो। तर, स्थलगत आउन सक्ने अवस्था थिएन। त्यो भयावह अवस्थामा उनी कान्छो भाइ जगन्नाथलाई लिएर टोलतिर पसे। युवाहरूलाई एकजुट बनाए। छिमेकीका घर खोज्दै उद्धारमा लागे। प्रयत्न गर्दागर्दै पनि छिमेकी अर्जुन भण्डारी, मैयाँ भण्डारी, निर्मल सापकोटा र सीता सापकोटालाई बचाउन नसक्दा उनलाई अहिले पनि मन दुख्छ।
‘हामी माथिबाट उद्धार गर्न जाँदै थियौं। उहाँहरूको घर तल थियो। रातिको १ बज्दै थियो। हाम्रो कुनै उपाय नै लागेन। पहिरोले घरसहित बगायो,’ उनले भने, ‘पुरिएका व्यक्तिको उद्धार गर्न लाग्यौं। शव व्यवस्थापन गर्न थाल्यौं।’
यो कार्यका लागि उनले अगुवाइ गरे। भाइ जगन्नाथसहित भतिजाहरू सन्दीप, मन्दीप, प्रज्ज्वल, शंकर, सुशील, भोला, दामोदर, माधवलगायतका युवाहरूले साथ दिए। ज्युँदाको जन्ती र मर्दाको मलामी बन्दै छिमेकीहरूलाई सघाए। सरकारी संयन्त्रसँग समन्वय गर्नेदेखि शवको अन्तिम संस्कारमा समेत उनी सामेल भए।
चार दिनपछि असोज १४ गते सुरक्षाकर्मीहरू घटनास्थल बल्ल पुगेका थिए। त्यसअघिसम्म न्यौपानेलगायतका युवाहरू उद्धारक बने। विपद्मा ज्यान गुमाएकाहरूलाई पनौती घाटसम्म पुर्याए। ‘थुम्कीका ७०/८० घर त भत्किए। पहिलो दिन हजुरबुवा र नातिको शव फेला पार्यौं। भोलिपल्ट फेरि आमा र छोरीलाई खोज्न थाल्यौं। सबैको शवमात्र भेटियो,’ राहत र उद्धारमा खटिँदाको अनुभव सुनाउँदै न्यौपानेले भने, ‘आफू मात्र बाँचेर हुँदैन। सकेसम्म सबैलाई बँचाउनु पर्छ भन्ने भावनाले उद्धार र राहतमा खटियौं। भोक, निद्राको बेवास्ता गर्दै खटियौं।’
आश्रयस्थल बनेको थुम्की रिसोर्ट
विपद्मा घर भत्केकाहरू बिचल्लीमा थिए। निरूपाय थिए। त्यो बेला आ श्रयस्थल बन्यो, थुम्की रिसोर्ट। जुन रिसोर्ट न्यौपानेलगायतले दुई वर्षअघि सञ्चालनमा ल्याएका थिए। काठमाडौंबाट झन्डै ४० किलोमिटर टाढा रहेको थुम्की रिसोर्टको हल र कोठाहरू विस्थापितले भरिए। गाउँ नै एउटै परिवार बन्यो। विस्थापित गाउँलेहरूले सामूहिक खाना खाए।
आफ्नै कृषि फार्मलाई सखाप पारे पनि त्यसको परवाह नगरी उनले छिमेकीको उद्धारलाई प्राथमिकतामा राखे। असहाय बनेका छिमेकीहरूलाई उनले थुम्की रिसोर्टमा ल्याए। विस्थापितहरूलाई अर्गानिक खाना खुवाए। न्यौपानेका अनुसार, विपद्को त्यो घडीमा सयभन्दा बढी छिमेकीहरूलाई रिसोर्टमा आश्रय दिइयो। पानीका मूल फुटेकोले सबैतिरको खानेपानी दूषित थियो। थुम्की रिसोर्टमा ४० हजार लिटर क्षमताको पानीट्यांकी थियो। शुद्ध पिउने पानीको व्यवस्था सहजै भयो।
‘घरबाट विस्थापितहरूमध्ये अधिकांश त ८/१० दिनसम्म आश्रय लिनुभयो। अलि सहज भएपछि मात्र सबैजना आआफ्नो घरतिर जानुभयो,’ न्यौपानेले थपे, ‘उमेरले सानो भए पनि अभिभावकीय भूमिका निर्वाह गर्न पाउँदा खुसी लाग्यो।’
अहिले पनि न्यौपाने बेलाबखत थुम्की गइरहन्छन्। तर, गाउँवासीहरू विस्थापित हुन थालेकामा उनी खिन्न छन्। ‘काठमाडौंबाट म गाउँ फर्केको छु। थुम्कीमै केही गर्न खोजिरहेको छु। तर, गाउँलेहरू घर रित्तो पारेर बसाइँ सर्न लागे झैं देखिरहेको छुँ,’ न्यौपानेले विपद्पछिको बसाइँसराइतर्फ संकेत गर्दै भने, ‘गाउँलेहरूलाई सुरक्षित बसोबास र सुनिश्चित भविष्य कसरी गराउन सकिएला भन्ने चिन्ता छ।’
प्रतिक्रिया दिनुहोस !
