बालगीतभित्रको झंकार

विश्व पृष्ठभूमिमा बालबालिकाको समग्र अवस्था सन्तोषजनक छ। तर सम्पूर्ण विश्वमै चाहिँ फरक रहेकोमा द्विविधा नहोला। अधिकांश देश त्यसमा पनि खासगरी अल्पविकसित र विकासोन्मुख देशका बालबालिका सानै उमेरदेखि भोकमरी, दु:ख, युद्ध, उत्पीडनले ग्रसित हुँदा तिनको शारीरिक एवं मानसिक अवस्था कमजोर भएको पाइन्छ।
विशेषत: दक्षिण एसियाली देशमा र युद्धग्रस्त मध्यपूर्व एसियाका खाडी राष्ट्र अनि अफ्रिकी अधिकांश देशमा बालबालिकाको हविगत दयनीय पाइन्छ। यस्तो विषम परिस्थितिबाट उम्कन पारिवारिक प्रयासले मात्र पुग्दैन। बालबालिकाका लागि सुरक्षित वातावरण सिर्जना गर्न सम्बन्धित देश नै लाग्नु पर्नेमा दुई मत रहँदैन।
वातावरणको कुरा गर्दा अन्य राष्ट्रको तुलनामा नेपाल केही अपवादलाई छाडेर बालबालिकाको सुरक्षित स्थल नै मान्न सकिन्छ। आमाबुवाको न्यानो काख र मायालु परिवेशमा हुर्केका नेपाली बालबालिकालाई उसो त विद्यालयबाट पनि भरपूर भरथेग प्राप्त भएकै छ, अपवाद छाडेर। यसबाहेक खासगरी यसअघिको पुस्ता हेर्ने हो भने तिनलाई यसका लागि परम्परागत रूपमा बालगीत सुन्दै हुर्कने अवसरले पनि व्यक्तित्व बनाउने वातावरण पाएभन्दा अत्युक्ति हुँदैन।
गीतको इतिहास केलाउँदा सम्भवत: पहिलो नमुना इ.पू. ४६०० वर्षअघिको सन्दर्भ फेला पर्छ। जसअन्तर्गत तत्कालीन मानवीय प्रवृत्तिअन्तर्गत शक्तिका लागि स्तुति÷भक्ति र भोगिएका दु:खका लागि शोक गीतहरू रचिएको पाइन्छ। वयस्क बाहेक बालगीतहरू समयसान्दर्भिक रूपमा बालमनोविज्ञानमा आधारित हुन्छन्। जस्तै उनीहरूका रुचि, क्षमता, विषय रोजाइ र भाव आदि तत्त्वहरू समेटेर लेखिन्छन्। गेयात्मक, सुललित शब्द पदावलीहरूको चयन, विषय र अवस्थामा आधारित भएर पद्य संरचनामा लेखिएका गीतहरू वास्तवमा कविताकै उपविधा हुन् भन्ने तथ्य सर्वजनीन नै छ।
हालै नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको ‘प्रज्ञा नेपाली बालगीत’ नामक ग्रन्थबारे चर्चा गर्ने प्रयास गरिएको छ। हरेक कृतिको जन्म विभिन्न संरचनागत हिसाबले फरक हुन्छन्, पाइन्छन्। त्यसरी नै यस कृतिको स्वरूप पनि भिन्न प्रकृतिको अर्थात् आफ्नै स्वरूप रहेको छ। शीर्षकअनुसार नै प्राप्य स्रोत र प्रकाशित रचनाहरूको संकलन गरी बृहत् आकारमा प्रकाशनमा ल्याइएको छ यो।
साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले यस संग्रहको सम्पादन गरेका हुन्। यो कृतिभन्दा पहिले उनले ‘शब्दबिम्बमा सत्यमोहन’ नामक बृहत् पुस्तकको सम्पादन गरिसकेका छन्। त्यसो त उनले सात दर्जन पुस्तकको सम्पादन गरिसकेका छन्। डेढ दर्जन बालकृतिका लेखक ढुंगानाका कैयौं बालगीत रेकर्ड भएका छन् भने केही बालगीत पाठ्यक्रममा पनि समेटिएका छन्। त्यसैले सायद उनको रुचि बालगीतमा बढी देखिन्छ। उनै लेखक÷सम्पादक ढुंगानाले यस पुस्तकलाई तीन अध्यायमा विभाजन गरी लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन्।
बालकविता वा बालगीतको आधार वा पृष्ठभूमि भानुभक्त आचार्यदेखि गंगाधर शास्त्रीको गोर्खा पैह्ला किताब (१९४९ साल)बाटशुरु भई १९९६ सालसम्मको अवधिलाई मान्न सकिन्छ। तत्पश्चात् आजको मितिसम्मलाई आधुनिक युग मानिएको छ। यहाँ प्रज्ञा नेपाली बालगीतको पहिलो अध्यायमा स्वतन्त्र तवरले रचित गीतबाहेक नेपाली बालगीतको सिद्धान्त, परम्परा र प्रवृत्ति केलाइएको छ। जहाँ बालगीतको इतिहास र वर्तमान केलाउने प्रयास भएको छ।
बुँदा र उपबुँदा गरी सम्पादक गोपीकृष्ण ढुंगानाले लामो अनुसन्धानात्मक लेख पुस्तकमा लेखेका छन्। जसमा आजपर्यन्त बालरचनामा समर्पितहरूको नालीबेली प्रस्तुत गरिएको छ। विषय परिवेश, गीत, बालगीत र नेपाली बालसाहित्य, बालगीतको सैद्धान्तिक स्वरूप, नेपाली बालसाहित्यमा बालगीतको प्रवर्तन र विकास, संकलित नेपाली बालगीतका प्रवृत्तिहरू र निष्कर्षसमेत गरी व्यापक खोजीका विषयलाई समेटेर लेखिएको समालोचनात्मक उक्त लेख पठनीय र प्रशंसनीय छ।
कविता विधाको उपविधा भए तापनि गीत आफैंमा पूर्ण विधात्मक सिर्जना हो। गीतले बाल, वृद्ध र युवालाई समेटेको हुन्छ। विशेषत: युवा पुस्ताको ढुकढुकी र भावनात्मक संवेदनाहरू पोखिने गीतहरू सर्वथा लोकप्रिय भएका पाइन्छन्। हिजोआज बालगीतले केही फड्को मारेको पाइन्छ। दोस्रो अध्यायमा तीसको दशकदेखि आजसम्म सिर्जना गरिएका एकसय ५९ गीतकारका दुई दुई बालगीत समेटिएका छन्।
२०४० सालभन्दा अगाडि तुलनात्मक रूपमा नगण्य प्रकाशित र स्वरबद्ध भएका थिए। झन्डै पछिल्ला दुई दशकयता बालकविताका साथै बालगीतले पनि सन्तोषजनक गति लिएको पाइन्छ। विभिन्न मिडियाबाट प्रसारण र प्रकाशित हुने अनि विभिन्न वेभसाइटमा पनि बालगीत राखिने भएकाले यसको भविष्यप्रति आशा गर्न सकिन्छ। त्यसो त बालगीतका संग्रह फाट्टफुट्ट रूपमा सानो आकारमा प्रकाशन भएका छन्। तर, आजसम्म यति धेरै बालगीतलाई समेटेर बालगीत संग्रह प्रकाशित भएको पाइँदैन। त्यसमा पनि सरकारी तवरबाट अर्थात् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुनुले गौरवपूर्ण काम भएको मान्न सकिन्छ।
तेस्रो अध्यायमा नेपालको एकमात्र सरकारी रेडियो, रेडियो नेपालबाट प्रसारित बालगीत छन्। जुन अधिकांश रेडियो नेपालमै रेकर्ड भएका हुन्। जुन गीत सुनेर हुर्केका पुस्ता आज देशको नेतृत्व गर्ने तहसम्ममा भेटिन्छन्। दोस्रो अध्यायमा समेटिएका र नसमेटिएका गीतकारहरूका गीत यसमा छन्। त्यसो त रेडियो नेपाल नेपाली गीतसंगीतकै अध्ययन, अनुसन्धान र खोजी गर्न भावी पुस्तालाई समेत काम लाग्ने सुवर्ण संस्था हो। यस्तो ऐतिहासिक संस्थाबाट चिरपरिचित गीतकारले रचेका ५६ वटा गीतहरू उतारी प्रकाशित गर्ने ऐतिहासिक काम भएको छ। यो सोच र सत्प्रयासका लागि पनि सम्पादक ढुंगानाको भूमिका अहम् देखिन्छ।
संगीतबद्ध गीतका गीतकारहरूमा कोइलीदेवी, बासुदेव मुनाल, हरिभक्त कटुवाल, भैरवबहादुर थापा, भानुभक्त पोखरेल, रामविक्रम सिजापति, गणेश रसिक, खेमराज केशवचरण, उपेन्द्र प्रेमी, कृष्णहरि बरालसमेत केही नवसर्जकका गीतलाई यस संग्रहमा समेट्ने काम भएको छ। यसैगरी, कृतिभित्र शान्ता गौतम, उन्नति बोहोरा शीला, नर्मदेश्वरी सत्याल,डा. कौशिला रिसाल, अस्मिता भण्डारी, जयन्ती स्पन्दन, डा. गीता त्रिपाठी, बाबा बस्नेत, कमला अत्री, प्रभा बराल, प्रभा भट्टराई, बालिका थपलिया, जीविका अश्रु, गंगा कर्माचार्य पौडेल, गीता सापकोटा, बालिका घिमिरे चन्द्रमा पौडेललगायत महिला गीतकारका बालगीत पढ्न पाइन्छ।
बूँद राना, दिनेश अधिकारी, डा. घनश्याम न्यौपाने परिश्रमी, प्राडा ध्रुव घिमिरे, प्रा. जगत् उपाध्याय प्रेक्षित, भूपाल राई, डा. देवी नेपाल, हरिहर तिमिल्सिना, गोपीकृष्ण ढुंगाना, सुरेश हाचेकाली, असीम सागर, उद्धवप्रसाद प्याकुरेल, हरि खनाल, काशीराम विरस, घनेन्द्र ओझा, गोपाल अश्क, प्रमोद स्नेही, प्रभाती किरण, नारायण निराशी, धीरेन्द्र प्रेमर्षि, प्रकट पंगेनी शिव, प्रेम ओझा, जितेन्द्र रसिकलगायत पुरुष स्रष्टाका बालगीत छन्।
नेपाली साहित्यिक जगत्मा लामो इतिहास बोकेको गीतसंगीतको क्षेत्रमा बालगीतको हालसम्मको उपलब्धि नगण्य मात्र मान्न सकिन्छ। यस क्षेत्रलाई सुदृढ र सबलीकरण गर्ने उद्देश्यले आफैंमा वरिष्ठ पत्रकार, लेखक एवं सम्पादक गोपीकृष्ण ढुंगानाको लामो समयको अनुसन्धानपश्चात् तयार पारिएको यस प्रज्ञा नेपाली बालगीत संग्रहलाई प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरी बजारमा ल्याउनु एउटा इतिहास रच्नु हो, यसमा सरोकारवाला सबैले गर्व गर्ने वातावरण सिर्जना भएको छ।
‘नेपाली बालसाहित्यमा विविध विधामा प्रशस्त काम भए पनि संस्थागत रूपमा नेपाली बालगीतको संकलित कार्य न्यून छ’, सम्पादक ढुंगानाले भूमिकामा लेखेका छन्, ‘बालगीतको विकास लागि ठोस कार्य हुन नसकिरहेका बेला यो कृतिले नेपाली साहित्यमा एउटा इँटा थपेको छ। जसले बालबालिकालाई जीवन र जगत्का अनेक आयाम सिकाएका छन्।’ आगामी पुस्ताका लागि यो कृति पथप्रदर्शक र संग्रहणीय बनेको छ। खोज, अन्वेषण र अनुसन्धानका लागि त झन् यो प्रज्ञा नेपाली बालगीतले अवश्यम्भावी अहम् भूमिका खेल्नेछ। इति।
प्रतिक्रिया दिनुहोस !
