डबल बेड

सुधांशु गुप्त
आज उनीहरूको विवाहको चौथो वार्षिकोत्सव। चार वर्षअघि इन्दु बेहुली बनेर यो घर आएकी थिइन्। यी चार वर्षबीच सबै कुरा बेसै छन्। घरमा सामान धेरै नै बढेका छन्। उनले परिवारलाई सँगै बसेर खान सिकाएकी छन्। परिवारका सदस्यहरू इन्दुलाई लच्छिनको मान्छन् र उनको आगमनले सबैजना खुसी छन्। उनी एकदमै घरेलु स्वभावकी छन्। परिवारले उनलाई एकदमै माया गर्छन्। श्रीमान् आफैं पनि श्रीमतीलाई उत्तिकै माया गर्छन्।
जरुरी काम नभए आज छुट्टी लिएर घरमै बस्न इन्दुले उनलाई भनेकी थिइन्। तर श्रीमान्ले जानाजानी छुट्टी लिएनन्। दिनभरि घरमै बस्न उनलाई ठीक लाग्दैन। कार्यालयमा आज उनी इन्दुका बारेमा सोचिरहेका छन्। इन्दु घरमा वार्षिकोत्सवको तयारी गरिरहेकी होलिन्। उनी चाहिँ अफिसमा काम गरिरहेका छन्। श्रीमतीसँगको सम्बन्धमा कुनै समस्या छैन तर पनि उनको मनमा एउटा गाँठो परेको छ। त्यो गाँठो हो– ‘डबल बेड’।
केही कुरा आपसमा कसरी जोडिएका हुन्छन् भने तिनलाई छुट्ट्याएर हेर्न सम्भव हुँदैन। डबल बेड र वैवाहिक जीवनबीच के सम्बन्ध छ ? विवाह सफल हुन डबल बेड हुनैपर्ने हो ? विवाहपछि जो जो डबल बेडमा सुत्न पाउँदैनन्, उनीहरूको वैवाहिक जीवन असफल हुने हो ? डबल बेडको चलन नहुँदा मानिसहरूको वैवाहिक जीवन सुखी हुँदैन थियो र ?
एक समय थियो, पति–पत्नी एउटै खाटमा सुत्थे। त्यति हुँदा पनि उनीहरूको सम्बन्ध राम्रै हुन्थ्यो। थाहा छैन, उनलाई के भएको हो ? उनी जहिल्यै डबल बेडको बारेमा मात्र सोचिरहन्छन्। उनका लागि विवाहको अर्थ नै डबल बेड हुँदै गएको छ। इन्दुसँग उनको सम्बन्ध राम्रो छैन कि के हो ?
...उनीहरूको घरमा डबल बेड छैन। चार वर्षअघि आजकै दिन उनको मागी विवाह भएको थियो। दाइजो विरोधी हुनाले उनले कुनै पनि कुरा माग्नु ठीक थिएन। तर उनलाई लाग्थ्यो, केटी पक्षले अत्यावश्यक सामान त दिनेछन्। अत्यावश्यक सामान भनेको डबल बेड नै हो। घरमा विवाहको सामान आउँदा उनको पहिलो नजर खाटमै प¥यो।
तर त्यो डबल बेडवाला थिएन, सिंगल थियो। खाट देख्नेबित्तिकै उनको निधार खुम्चियो। उनलाई लाग्यो, अचानक उनका सारा सपना चकनाचुर भयो। उनले श्रीमतीतिर हेरे, राम्री थिइन्। घरका सबै सदस्य श्रीमतीको स्वागत गर्न र रीत पु¥याउन व्यस्त थिए। तर, सिंगल बेड देखेर भने उनको मन खुम्चियो। उनी आफ्नो मधुमासको कल्पना गर्न थाले।
श्रीमान् एउटा अखबारमा पत्रकारिता गर्छन्। निम्न मध्यमवर्गीय परिवारमा हुने प्रकारकै विवाह भएको थियो त्यो। जसले केटीलाई हेरेर मन पराएको थियो। केटीले पनि यसमा कुनै आपत्ति जनाइन्। चाँडै नै विवाहको मिति तय भएथ्यो। उनले आफ्नो घरलाई घरजस्तो देख्न थाले। अब निश्चित के भएको थियो भने घरमा श्रीमती आउँछिन् र साथमा डबल बेड आउनेछ। उनीहरूको वैवाहिक जीवनको सुरुआत यही डबल बेडबाट हुनेछ। उनी यो कुरा कसैलाई भन्दैनथ्यो।
विवाहअघि पनि उनी इन्दुसँग दुई–चारपटक किनमेल गर्न गएकै थिए। तर उनले डबल बेड कति महŒवपूर्ण छ भन्ने कुरा इन्दुलाई कहिल्यै भनेनन्।
इन्दु उनलाई साँच्चै प्रिय लागेकी थिइन्। जो कम खर्च गर्ने र एकदमै घरेलु स्वभावकी थिइन्। किनमेल गर्दा इन्दुले महँगा सुट र सारीहरू नकिन्न विशेष ध्यान दिएकी थिइन्। उनले डबल बेडको इच्छा इन्दुसँग व्यक्त नगर्नुको कारण के थियो भने यसले दाइजो मागेको अर्थ लाग्न सक्थ्यो। सबै कुरा ठीकठाकै भइरहेको थियो। समय बित्दै गयो र विवाहको मिति नजिक आइपुग्यो। सबै कुरा रीतपूर्वक सम्पन्न भए। त्यो घडी पनि आयो, जब उनले इन्दुलाई घर भिœयाए। सबै सामान आइपुगे। घर आइपुग्दा पनि उनको नजर इन्दुतिरभन्दा बढी सामानतिर थियो। सामानमा डबल बेडको सट्टा सिंगल बेड देख्दा उसको पारो चढ्यो।
सुत्न जानुअघि उनले रिस नियन्त्रणमा राख्ने कोसिस गरे। डबल बेडप्रति आफ्नो मोहबारे इमानदारीपूर्वक उनले कारण खोज्न प्रयास गरे। कुनै खास कारण भेटेनन्। हिन्दी फिल्महरूमा देखाइने डबल बेड कतै न कतै उनको अवचेतन मनमा बसेको हुनुपर्छ। घरमा यति धेरै सामान आउँदै थियो जसमा डबल बेड आउन बाँकी पनि हुन सक्थ्यो। उनको अवचेतनमा के परेको छ भने विवाहको अर्थ नै डबल बेडको आगमन हो।
तर डबल बेड आएन। आज उनलाई काम गर्न मन लागिरहेको छैन। चार वर्षअघि कसरी इन्दुसँग जीवनको सुरुआत भएको थियो भन्नेबारे उनी सोचिरहेका छन्। कोठाभित्र आएर उनले ढोका बन्द गरेका थिए। इन्दु सिंगल बेडमा बसेकी थिइन्। बस्ने उनको शैली फिल्ममा देखाइने सुहागरातभन्दा एकदमै फरक थियो। रातो सारी लगाएकी थिइनन्, फिल्मी नायिकाहरू झैं ओछ्यानमा खुम्चिएर बसेकी पनि थिइनन्। सनिलको गाउन लगाएकी इन्दु निकै राम्री देखिएकी थिइन्। फेरि उनको मनमा आयो, यहाँ सिंगलको ठाउँमा डबल बेड भएको भए कति राम्रो हुन्थ्यो ! इन्दुसँग कुरा गर्दागर्दै आफूले कुन बेला बत्ती निभाएँ भन्ने उनलाई पत्तै भएन।
आज उनको विवाहको चौथो वार्षिकोत्सव। काममा उनको मनै छैन। उनी चाँडै घर फर्किए। पत्नीले उत्सव मनाउन धेरै कुरा तयार पारेकी थिइन्। इन्दु खाना मीठो बनाउँछिन्। घरका सबैजना उनले पकाएको खाना मन पराउँछन्। श्रीमान् स्वयंलाई पनि मीठो लाग्छ। सबैजना सँगै बसेर खाना खाए। धेरैबेर कुरा गरेपछि उनी शयन कक्ष पुगे।
सिंगल बेडले एकपल्ट फेरि चार वर्ष पुरानो हैरानीलाई जीवित गरिदियो। आज किन हो, उनलाई यसबारे इन्दुसँग कुरा गर्नु जरुरी छ भन्ने लाग्यो। सबै काम सकाएर इन्दु शयन कक्ष आइपुगिन्। सिंगल बेडमा। यसबीच उनले डबल बेडबारे कुरा गर्न तयारी गरिरहे। कोठाको बत्ती निभेपछि उनले इन्दुलाई आफूतर्फ नतानी सोधे, ‘एउटा कुरा भनौं इन्दु ?’
एक हातको दूरीमा रहेकी इन्दुले भनिन्, ‘भन्नुस्।’
‘तिम्रा माइतीले बिहे त ठीकै तरिकाले गरिदिएका थिए’, उनले भूमिका बाँधे।
‘हो, सक्ने जति उनीहरूले गरेका थिए’, इन्दुले भनिन्।
अँध्यारोमा उनलाई इन्दु अचानक तनावग्रस्त भएको महसुस भयो। कुरोको चुरो पक्रन उनले फेरि सोधे, ‘तर उनीहरू डबल बेड दिन सक्दैनथे ?’
‘नसक्ने कुरा के थियो र ? यत्रो खर्च गर्नेले डबल बेड दिन नसक्ने भन्ने हुन्छ र ?’ इन्दुले आत्मविश्वासपूर्वक भनिन्।
उनले जोड दिएर सोधे, ‘त्यसो भए किन दिएनन् ?’
अब इन्दुलाई ठट्टा सुझिरहेको थियो। ‘तपाईंलाई डबल बेड चाहिएको भए भन्नुपथ्र्यो नि !’ इन्दुले भनिन्।
उनलाई थाहा थियो, जबाफ यही आउनेवाला छ। त्यसैले उनी एकछिन चुपचाप बसे। सायद यसको जबाफ पर्खिरहेका थिए। तर, ज्यादा मेहनत गर्नु परेन।
‘उनीहरूले त डबल बेड नै दिन चाहेका थिए तर मैले सिंगल दिनु भनेर जिद्दी कसें’, उनले भनिन्।
अचानक उनलाई इन्दुसँग रिस उठ्यो। तर रिस नियन्त्रणमा राख्दै सोधे, ‘किन ? किन तिमीले डबल बेड नदिनु भनेकी ?’
इन्दु चुप लागिन्। उनलाई आफ्नो अनुहार रातो भएको महसुस भयो। फेरि उनले सोधे, ‘भन, किन डबल बेड नदिनू भनेकी ?’
इन्दु एक हात वर सरिन्, उनको छातीमा शिर घुसारिन् र फुसफुसाउँदै भनिन्, ‘सानो ठाउँमा म तपाईंको नजिक रहन पाउँछु, त्यसैले।’
श्रीमान्का रौं ठाडा भए। आज उनलाई इन्दु असाध्यै राम्री लागिन्। सिंगल बेड एकाएक उनलाई प्रिय लाग्यो।
(भारतीय कथाकार सुधांशु गुप्त तीन दशकदेखि त्यहाँको पत्रकारिता, रेडियो र टेलिभिजनका लागि अनेक धारावाहिक तथा स्तम्भ लेखनमा सक्रिय छन्। चार कथा संग्रह प्रकाशित गरिसकेका गुप्तको आलोचनाको किताब ‘नेपथ्य में विमर्श–कुछ किताबें, कुछ बातें’ चर्चित छ।)
हिन्दीबाट अनुवाद: अभय श्रेष्ठ
प्रतिक्रिया दिनुहोस !
