युगको कथा, युगको व्यथा

नेपाली साहित्यको निबन्ध तथा समालोचना विधामा कलम चलाउने कुमारी लामाको पहिलो निबन्ध संग्रह ‘उज्यालो अन्धकार’ (२०७१) हो। उनको दोस्रो पुस्तक ‘दज्र्यु संलाप’ पनि अहिले चर्चामा छ। यी दुई पुस्तकमार्फत निबन्ध विधामा आफूलाई अब्बल राख्न सफल छन्, उनी। जो साहित्यका विविध विधामा कलमसँगै अभियान पनि चलाउने गर्छिन्।
नेपाली साहित्यमा उनको प्रिय विधा भनेकै निबन्ध हो। जसले पहिलो पुस्तक प्रकाशनको १० वर्षपछि ‘दज्र्यु संलाप’ निबन्ध संग्रह लिएर आएकी छन्। किताबको शीर्षक अलिक फरक छ, तर यसको अर्थ अर्थपूर्ण छ। नेपाली निबन्धमा कलम चलाउने सर्जकहरूको पक्कै कमी छ, त्यसमा पनि नारी निबन्धकार कमै छन्। अहिले केही नारी निबन्धकार नेपाली निबन्धका क्षेत्रमा अब्बल देखिएका छन्। कृतिगत रूपमा पनि निबन्धका बाक्लै पुस्तक प्रकाशनमा छन्।
लामाले विचार, अनुभूति वा दृष्टिकोणलाई सरल, स्पष्ट र आकर्षक शैलीमा प्रस्तुत गरेकी छन्। उनले निबन्धमा अनुभूति, समाज, संस्कृति, राजनीति आदि विषयमार्फत पाठकलाई जानकारी, मनोरञ्जनका साथै समाजको यथार्थ बुझाउने प्रयत्न गरेकी छन्। निबन्धको भाषा सरल, स्पष्ट र पठनीय छ। तीन खण्डमा विभाजित रहेका १७ निबन्धले एउटा युगकै प्रतिनिधित्व गरेका छन्। निबन्धमा यात्रा, समाज, सहर र विकासका नाममा निम्त्याएका विनाशका कथा मजाले पढ्न सकिन्छ।
समाज संवार्ता खण्डमा सात ओटा, सैलानी समयमा पाँच ओटा र दृश्य अ(दृश्य)मा पाँच ओटा निबन्ध दज्र्यु संलापभित्र छन्। चर्चित हुनुभन्दा पनि परिपक्व लेखनमा उनको गहिरो अभिरुचि छ। निबन्धमार्फत प्रस्तुत गर्न खोजेका विषयहरू हाम्रै वरिपरिका हुन्, हामीले भोगेका कुरा हुन् तथा हामीले नै घुमेका हामै्र नेपालका सुन्दर ठाउँहरूकै हुन्। निबन्धभित्र समाजका ताजा चित्र बनाउन सफल छन् लामा। धेरैभन्दा पनि गुणस्तरमा विश्वास गर्ने उनका सिर्जना हामै्र आवाजलाई टपक्क टिपेर कागजमा उतारेको जस्तो लाग्छ।
‘खोकेकामीटार : एक बाडुली’ शीर्षकको निबन्ध वास्तवमै खोकेकामीटारभन्दा पनि समग्र नेपालकै समस्याको रूपमा देखिन्छ, खोकेकामीटार त एउटा प्रतिनिधिमात्र हो। मिलेर बसेका डाँडाहरू, गरिखाने खेतबारीहरूमा विकासका नाममा डोजर चलेपछि, पानीको मुहान सुक्छ नै।
हो विकासले विनाश पनि सँगसँगै बोकेर ल्याउँदो रहेछ कि क्या हो ? भर्खरैमात्र बाढीले काभ्रे, ललितपुर र काठमाडौंमा भएको क्षति पक्कै त्यो विकासका नाममा भएको ज्यादतीको पराकाष्ठा हो भन्ने लाग्छ।
‘निबन्ध लेख्नु भनेको आफैंलाई नियाल्नु हो। आफूलाई पोख्नु हो, टक्टक्याउनु हो र आफ्नै सौन्दर्यलाई पस्किनु हो। निबन्ध केही होइन, सबथोक हो जस्तो’। निबन्धकार श्रीबाबु कार्कीका यो भनाइमा सत्यता छ। पक्कै निबन्धकारले समाजका विविध भोगाइलाई निबन्धमार्फत प्रस्तुत गर्दा त्यो समयको दस्तावेज बन्छ। त्यही दस्तावेजलाई हामी समयसमयमा केलाउने गर्छौं। अहिले त्यही मौका मिलेको छ, ‘दज्र्यु संलाप’बाट आफ्नै समय चियाउने।
निबन्धमा कल्पनाको भन्दा पनि मनका कुराहरू बढी पोखिन्छन्। निबन्ध लेख्दा मन हलुका हुन्छ, मन पखालिन्छ, जसरी हामी स्नान गर्दा सफा बन्छौं। मन र मस्तिष्कबाट छुटेका छहराहरूले मन माझिन्छ र त नयाँ ऊर्जा प्राप्त हुन्छ। बोझिलो भारी बिसाएर पसिना पुस्दै सुस्ताउँदा गरिने महसुस लेखनमा पनि आउँछ। तिनै मनमस्तिष्कबाट छुटेका हाम्रो समाजका चित्र हुन्, दज्र्यु संलापका निबन्धहरू।
‘निर्वाणमूर्ति विहारतिर पाइला बढाउँछु। एउटी कलिली गुरुमा मुस्कानसहित स्वागत गर्छिन्। शान्तिमा निमग्न छ, विहार। धर्मचरी गुरुमाको अथक प्रयास र संघर्षबाट निर्मित एक पवित्र स्थल। महिलाहरूका लागि बनेको नेपालकै पहिलो विहार हो यो। मात्र ३३ वर्षीया लक्ष्मीनानी तुलाधरले श्रीमान्को मृत्युपश्चात् विक्रमाब्द १९९१ मा कुशीनगरको यात्रा गरेकी थिइन्। एउटी संसारिक महिलाबाट धर्मचरी गुरुमा भइन्जेल उनले सामना गर्नुपरेको समय कति ढुंगेनी थिए होलान् ?’
पृ. १३६ ‘सिम्बु–सुवास’ शीर्षक निबन्धमा पोखिएका यी हरफहरूले इतिहासको चिरफार गरेको छ।
एउटा पवित्र तीर्थस्थल स्वयम्भूको बारेमा लेखिएको यो निबन्धका हरफहरूले त्यहाँको पवित्रतालाई अझै चम्काएको छ। इतिहासदेखि वर्तमानसम्म अवलोकन गर्न सकिने यो निबन्ध सिम्बुजस्तै पवित्र छ।
‘ठूला उपत्यकाका मालिकहरूको मुखैमा झुन्डिएको थियो आदेश। बोली फुट्नासाथ लाहाछाप लाग्थ्यो, ड्याम्मै। बहकावमै, रामरमाइलोमै या रेलाठटैमा बोले पनि कानुन बन्ने गर्थे रे राणाजीहरूका बोली। याम्बुको दरबारबाट गाउँ पस्ने हरआदेश अक्षरश: लागू गर्न तयार थिए, शाही हाकिमहरू। सोझा जनता कज्याउन हरदम तम्तयार रहन्थे, बडाहाकिमहरू। खासमा आदेश तामेलीका निम्ति खडा थिए, टोली नाइकेहरू पनि। त्यही छेकोबाट सुरु भएको हो, सोझा साझा तामाङ बन्धुबान्धवहरूको दोहोलो।’ पृ. ८७ दज्र्यु संलाप मूल शीर्षकमार्फत माथिका हरफसँगै एउटा इतिहासको नमीठो पाटोहरूको चित्रण भएको देखिन्छ।
हामीले यस्ता इतिहासका नमीठा क्षणहरूलाई सुन्दामात्र आङ सिरिंग हुन्छ भने भोग्नेहरूले कसरी भोगे होेलान् ? यस्ता प्रश्नहरूले शासक वर्गहरूलाई सधैं पछ्याइरहन्छ। सर्जकले सिर्जनाका माध्यमबाट निरन्तर यस्ता इतिहासहरूको खोजी गरिरहेका छन्। दज्र्यु संलापमार्फत पनि इतिहासका यस्ता कुरूप चित्रहरू प्रस्तुत भएका छन्। वर्तमानमा टेकेर इतिहासको चिरफारसँग रमाउन पाउनु कृतिका महत्वपूर्ण पक्षहरू हुन्।
कुमारीले निबन्धमार्फत धेरै कुराको उत्खनन गरेकी छन्। तामाङ समुदायले भोगेका पीडाका आवाज तरंगित भएका छन्। लेखक पनि तामाङ समुदायकै भएकोे हुनाले आफ्ना पुर्खाले भोगेका दु:खलाई निबन्धमार्फत समाजलाई पस्केको अनुभूति हुन्छ। अबका दिनमा राज्यबाट अनाहकमा या सनकका भरमा कसैले दु:खका पहाड उठाउनु नपरोस् भन्ने चाहना निबन्धकारको छ।
मान्छेले मान्छेको संवेदना बुझ्न नसकेको समयको मार्मिक चित्रहरू निबन्धका हरफहरूमा कोरिएका छन्, दृश्य अ(दृश्य)मार्फत। मांसहाटको आदिम भोक, आगो बोकेर मनमा, हरियो पर्दा, दृश्य–दृश्यांश र भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्राका विषयवस्तु अब हामीले सुन्नु नपरोस् भन्ने लाग्छ। तर समाजका ती पात्रहरूले पैसाका लागि बेचेका आफ्नै चेलीहरूका चीत्कार र उनीहरूको संघर्षका कथा पढ्दा वास्तवमै मुटु गाँठो पर्छ।
हामी एक्काइसौं शताब्दीमा छौं भन्छौं तर कर्म आदिम युगको गर्छौं। अबका दिनहरूमा हामी मनमा आगो बोकेर होइन, हातमा आगो बोकेर कुकर्म गर्नेहरूका बस्तीमा आगो सल्काऊ भन्ने लाग्छ। यसकारण पनि यी निबन्धहरू पढ्नै पर्छ। अत्यन्त शालीन प्रस्तुतिमा त्यो समयको दारुणिक चित्रले निबन्धलाई जीवन्त बनाएका छन्।
दज्र्यु संलापका निबन्धहरूको अर्को महŒवपूर्ण पक्ष भनेको देश दर्शन हो। देशका कतिपय स्थानहरूमा हामी पुग्न सकेका छैनौं। तर त्यस स्थानहरूमा पुगेका लेखकहरूले लेखेका लेख पढेर जानकारी पाउँछौं। तर, यस निबन्धमार्फत त रारा, मनाङमा पुगेर उनले लेखेका अनुभूतिहरू पढ्दा अहिल्यै त्यहाँ पुगौं जस्तो लाग्छ। यसलाई भनिन्छ, लेखनमा शब्दका जादुमय लेख।
साँच्चै नै लामाका निबन्धका शब्दमा जादुमय बनेका छन्, अनि त हरेक शब्दले पाठकलाई मोहनी लगाउँछ। हो, यस्ता कृतिले नै नेपाली साहित्यको भण्डारमा बौद्धिकताको खुराक भर्ने। साहित्यलाई अनुत्पादक भन्नेहरूले ‘दज्र्यु संलाप’ एकपटक पढ्ने हो कि ?
‘याम्बु अर्थात् काठमाडौं महानगरका हरगल्लीमा स्वप्नील समय उछलकुद गरिरहन्छ।’ पृ. ४२ सपना बोकेर सहर छिरेकाहरूलाई याम्बुले न्यानो स्वागतमात्र होइन, राम्रा अवसर दिएका विचारहरूले निबन्धलाई सकारात्मक बाटोमा हिँडाइरहेको आभास हुन्छ। लामा निबन्धमार्फत सुन्दर विचारहरू सम्प्रेषण गरिरहेकी छन्। त्यसैले त सुकन्या वाइबा भन्छिन्, ‘कुमारीप्रति मेरो अनुभूति अलौकिक जाग्छ तर ऊ मेरो मनमा बसेको छ। वैशाख ५ गते दिदीको जन्मदिन। ऊ मलाई भेट्न आउँछ। लाग्छ, दिदी पारिजात फर्केर आइन्।’
प्रतिक्रिया दिनुहोस !
