खाद्यान्न महँगियो, शोधनान्तर २ खर्ब ५ अर्ब बचतमा

खाद्यान्न महँगियो, शोधनान्तर २ खर्ब ५ अर्ब बचतमा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : छिमेकी भारतमा भएको मूल्य वृद्धिको उच्च चापले मुलुकमा खाद्यवस्तु महँगो हुँदै गएको छ।भारतको मुद्रास्फीति ४ महिनामा ५.४८ प्रतिशत पुगेको छ।गत महिनादेखि नै भारतमा तरकारीको मूल्य उच्च रह्यो।भारतमा २ महिनादेखि निरन्तर उच्च मूल्यवृद्धि भएका कारण नेपालको मूल्य वृद्धिमा पनि प्रभाव परेको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन्।

खाद्यान्नको मूल्य बढेकाले समग्रमा मुद्रास्फीति अधिक हुन पुगेको हो।केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्त वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत देखाएको छ।यो अघिल्लो वर्षको भन्दा बढी हो।गत आवको सोही महिना (कात्तिक) मा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो।राष्ट्र बैंकका अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत छ।जबकी गत आव मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ ।तर यसबीच मरमसला उपसमूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको१.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ।

समग्रमा मूल्यमा चाप देखिनुको कारण खाद्यान्न महँगो हुँदा हो।‘खाद्यान्नको मूल्य भारतमा बढी महँगो छ।त्यसैले गर्दा मूल्य वृद्धिमा चाप खेप्नु परेको हो,’ कार्यकारी निर्देशक डा. भट्टले अन्नपूर्णसँग भने।

महिनैपिच्छे रेमिट्यान्समा वृद्धि

हरेक महिना रेमिट्यान्समा वृद्धि भइरहेको छ।कात्तिकसम्म नेपाली कामदारहरूले पठाउने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ।यद्यपि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ।यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम   श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने संख्या १ लाख ४७ हजार ४ सय ७८ छ।पुनः   श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ।बिदेसिनको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो।

शोधनान्तर बचतमा

देशबाट बाहिरीने विदेशी मुद्राभन्दा भित्रिने मुद्रा अधिक हुँदा शोधनान्तर बचतको आकार पनि बढेको छ।चालु आवको कात्तिकसम्ममा  शोधनान्तरस्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ।यस्तै, चालु खाता १४३ अर्ब ४२ करोडले बचतमा रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ।यस अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रहेको थियो।

विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब नाघ्यो

विशेष गरेर रेमिट्यान्समा वृद्धि हुँदा कुल विदेशी विनिमय सञ्चितिको आकार बढेको छ। ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो।यो वर्ष विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।अमेरिकी डलर सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड थियो।०८१ कात्तिक मसान्तसम्म ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २० खर्ब ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ।उक्त विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ।

केन्द्रीय बैंककाअनुसार हाल भएको विदेशी विनिमय सञ्चितिले  १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत छन्। 

अधिक सञ्चितिलाई देश विकासमा लगाउन जरुरी भएको औंल्याइएको छ।निजी क्षेत्रले पनि उद्योग, ठूलो व्यवसाय बढाउने योजनाका लागि यो सही समय भएको उनको तर्क छ।विदेशी विनिमय अवस्था सहज भएकाले यस्तो अवसर देखिएको हो।

सरकारले पनि निर्माणको काम अघि बढाउँदा विदेशी विनिमय सञ्चिति चाहिन्छ।यसर्थ उपयोग गर्ने आधार  निजी र  सार्वजनिक लगानी दुवै बढाउनुपर्छ।

कोभिडअघि आर्थिक गतिविधि राम्रो अर्थात् ७ प्रतिशतमाथि थियो।तर, अहिले सो अवस्थामा पनि पुग्न सकिएको छैन।यसैले अब विदेशी विनिमय सञ्चिति अधिक भएकाले गर्दा आर्थिक क्रियाकलाप विस्तार गर्न प्रसस्त आधार दिएको डा.भट्टको तर्क छ।समग्रमा विगत डेढ वर्षअघि बाह्य क्षेत्र सुदृढ हुँदै गएको छ।तथ्यांक हेर्दा अहिले बाह्य क्षेत्र बलियो छ।तर, आन्तरिक रूपमा मूल्यवृद्धि माथि गएकाले अझै आर्थिक क्रियाकलाप विस्तार गर्न राज्य र निजी क्षेत्र लागि पर्नुपर्ने उनले सुझाव दिए।‘मुख्य रूपमा विकास निर्माण, पूर्वाधारको काम अघि बढाउन सके आर्थिक क्रियाकलाप विस्तार  गर्छ।यो  विस्तार सँगसँगै विदेशी विनिमय सञ्चिति र बजारमा देखिएको अधिक तरलता (लगानीयोग्य पुँजी) सबैको व्यवस्थापन हुन्छ ।’ उनले अन्नपूर्णसँग भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.