हारबाट सिक्न नसक्दा लिगबाटै बाहिरियो लुम्बिनी
काठमाडौं : रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स लिग चरणमा ५ हारसहित लिगबाटै बाहिरिएको छ।
आजको सहित ३ खेल लगातार जितेको भए केही समीकरण बन्न सक्थ्यो कि भन्ने आश लुम्बिनीलाई बाँकी रहेको थियो। तर सुरुका ४ हारले लुम्बिनीको प्लेअफ सम्भावना पहिला नै कमजोर बनाइसकेको थियो।
पाँचौं हारले औपचारिकता समेत लुम्बिनीको सकियो। अब लुम्बिनीले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग शुक्रबार खेल्नेछ। यो नतिजा लुम्बिनीका लागि अंक तालिकाको स्थानमा मात्रै फरक पर्छ भने, कर्णालीका लागि प्लेअफ सम्भावनाको साँचो हो। यसमा लुम्बिनीले हालसम्म अवसर नपाएका खेलाडीलाई मौका दिनेछ। जसले प्रतियोगिताभर बेन्चमा बसे ती खेलाडीलाई अवसर दिने कप्तान रोहितले छैटौं खेलमा हार पछि बताए। ‘हामीले अब प्रतियोगिताको अन्तिम खेलमा १/२ जनालाई अवसर दिन्छौं। प्ले अफमा नपुगे पनि लक्ष्य भने जित नै हुनेछ।’
कहाँ चुक्यो लुम्बिनी ?
नेपाल प्रिमियर लिग सुरु हुँदा ब्याटिङ युनिटमा पेपरमा सबैभन्दा बलियो टिमको रुपमा रहेको लुम्बिनीको बलियो पक्ष नै कमजोर रह्यो। कप्तान रोहित एक्लैले ब्याटिङको जिम्मेवारी सम्हालेको देखियो।
पहिलो खेलको कुरा गर्ने हो भने हालसम्म एनपीएलमा बनेको सबैभन्दा ठूलो स्कोर थियो। तर पहिलो खेलमा बलिङमा डेथ ओभरमा गएर टिमले हार्यो। अन्तिम ओभरमा १५ रन जोगाउने चुनौती रोहितले ३ ओभरमा ४८ रन खाएका विवेकलाई दिए। उनको स्पेललाई विराटनगरका ब्याटरले सजिलै खेलिरहेको थाहा पाउँदा पनि विवेकलाई बलिङ दिनु पहिलो दिनमा विराटनगरसँग २ विकेटको हारको कारण बन्यो।
दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग लिगमा हालसम्मको सबैभन्दा फराकिलो हार पनि लुम्बिनीले नै बेहोर्यो। पोखरासँग १० विकेटको हार, बलिङमा लुम्बिनीले पावरप्लेमा नै ८० रन खाएका थियो। कुनै पनि बलरले पोखराका गोउस र दिनेश खरेलको साझेदारी तोड्न सकेनन्। २० ओभरमा कप्तान रोहितको ९५ रनको उत्कृष्ट इनिङमा १७० रन बनाएको लुम्बिनीले बलिङमा सम्हालिन सकेन। जसको फलस्वरुप फराकिलो जित पनि लुम्बिनीकै खातामा आयो।
तेस्रो खेलमा हालसम्म निकै बलियो देखिएको टिम सुदुरपश्चिम रोयल्ससँग ४५ रनको हार बेहोर्यो। १८८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीको तेस्रो दिन पनि ब्याटिङ चलेन। टप अर्डर नचल्दा तेस्रो खेलमा विवेक यादवले भने ७७ रनको अविजित पारी खेलेका थिए। तर त्यसबाहेक सन्दीप जोरा केही सम्हालिन खोजे तर २० रनमा उनी पनि प्याक हुँदा लुम्बिनीले २० ओभरमा जम्मा १४२ रन मात्रै बनायो।
चौथो खेलको हार सायदै लुम्बिनीले बिर्सन सक्नेछ। लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससँग १ रनको हार बेहोर्न पुग्यो। यो खेल एनपीएलको इतिहासमा सायद पहिलो सिजनलाई सम्झिँदा रोचक तरिकाले सम्झिनेछ। अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिँदा क्रिजमा रहेका सन्दीप जोरा क्याच आउट भएको क्षण सायद लुम्बिनीका समर्थकको दिमागबाट सजिलै हट्ने छैन।
पाँचौं खेल भने लुम्बिनीले डगआउटमा खुसी बाड्ने दिन रह्यो। पाँचौं खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो। यो दिन कप्तान रोहित चम्किएको दिन थियो। कप्तान रोहितले ४ विकेटको साथमा ब्याटिङमा ८० रन प्रहार गरेका थिए।
छैटौं दिन भने बलिङमा १९.२ ओभरमा १०३ मा नै काठमाडौं गुर्खाजलाई रोकेको लुम्बिनीको बलिङ चल्दा ब्याटिङ भने सरलक्कै डाउन भयो। छैटौं खेलमा गुर्खाजसँग लायन्स १८ रनले हार्यो। यो हारले लुम्बिनीको झिनो प्लेअफ सम्भावना पनि सकायो।
‘हामीले भेट्न सक्ने लक्ष्य नै थियो। विकेट निकै चुनौतीपूर्ण थियो। बलहरु रोकिएर आयो। हामीले राम्रो ब्याटिङ गरेनौं’, खेल हारेपछि कप्तान रोहित पौडेलले पत्रकारसँग भने।
दशौं दिनको खेलमा लुम्बिनी र काठमाडौं मात्रै नभएर पहिलो खेलमा पनि जनकपुर ५१ रनमा नै अलआउट भयो। यसमा कप्तान रोहित भन्छन्, ‘हामीसँग एउटै मैदान छ। प्रतियोगिता खेल्दै जाँदा विकेट स्लो हुँदै जान्छ। विकेट स्लो थियो त्यसलाई कसरी खेल्ने भन्नेमा ध्यान दिनुपर्छ। विकेट सजिलो थिएन।’
योजना अनुसार टिमले ब्याटिङ गर्न सकेन जसमा कप्तान भन्छन्, ‘लुज बलहरुलाई क्यापिटलाइज (उपयोग) गर्ने, सटर गन बलहरु र माथि आएको बलहरुलाई उपयोग गर्ने रणनीति थियो। काठमाडौंको स्पिनरहरुले राम्रो बल फाल्नु भयो। जसको जवाफ हाम्रो ब्याटरहरुसँग उत्तर थिएन।’
समग्रमा हेर्दा लुम्बिनीको बलिङ युनिट चल्दा ब्याटिङ नचल्ने र ब्याटिङ चल्दा बलरले रन रोक्न नसक्ने समस्या लिगमा देखियो। गल्तीबाट सुधारिन नसक्दा राष्ट्रिय टिमका कप्तान रोहितको टिमले लिगबाट नै बिदा लिनेछ। प्रतियोगितालाई कप्तान रोहित राम्रो सिकाइको रूपमा बताउँछन्, उनी भन्छन्, ‘हामीले टिमको हिसाबमा भन्नुपर्दा प्रतियोगिता हामीले सोचेको जस्तै खेल्यौं। ब्याटिङ युनिट चाहिने बेला हामीले स्टेपअप गर्न सकेनौं, बलिङ युनिट सुरुको खेलहरुमा राम्रो गर्न सकेनौं। तर समग्र हेर्नु पर्दा हाम्रो लागि प्रतियोगिता राम्रो नै भयो।’
अर्को सिजनमा भने धेरै कुरा सुधारिनु पर्ने उनले छैटौं खेलको हार पश्चात बताए। अर्को सिजन आउन एक वर्ष छ। प्रशिक्षकसँग, मालिकसँग बसेर कुरा गरेपछि निर्णय लिनेछौं’, उनले भने।
खारिँदैछन् ‘कप्तान’ रोहित
राष्ट्रिय टिमको समेत कप्तान रहेका रोहित पौडेलले लुम्बिनी लायन्सको कप्तानी गरे। पहिलो पटक भएको यस प्रतियोगितामा उनको टिममा राम्रो नाम कमाएका खेलाडी पनि समावेश थिए। उनको लागि कप्तानी नयाँ थिएन। तर कप्तानी गर्ने टिममा थपिएका विदेशी खेलाडी र उनीहरुको भूमिकालाई टिममा बुझाउनु अप्ठ्यारो कुरा थियो।
नेपालमा पहिलो पटक आयोजना भएको ठूलो फ्रेन्चाइज प्रतियोगिता सबै नेपाली खेलाडीको लागि सिक्ने अवसर थियो। राष्ट्रिय कप्तान रोहितको लागि पनि कप्तानीले नयाँ टिमलाई कसरी कप्तानी गर्ने भन्ने जिम्मेवारी सिकायो।
उनी लुम्बिनी लायन्सको कप्तानीको अनुभव यसरी सुनाउँछन्, ‘कप्तानको अनुभव सामान्य थियो। अलिकति चुनौतीपूर्ण थियो। राष्ट्रिय टिममा सबैलाई आफ्नो जिम्मेवारी थाहा हुन्छ। यो टिममा नयाँ खेलाडी हुन्छन्, उहाँहरुलाई जानकारीहरु दिइरहनु पर्ने हुन्थ्यो। आउने दिनहरुमा नेपाललाई फाइदा लुम्बिनी लायन्ससँगै नेपाल टिम पनि विकास हुनुपर्छ। आउने वर्ष सबै खेलाडीहरु विकसित भएर आउनु पर्यो।’
उत्तर दिँदा उनले नेपाली खेलाडी विकसित भएर आउनुपर्यो भन्ने उत्तरले उनलाई लुम्बिनी लायन्सको मात्रै होइन उनी नेपाली क्रिकेटको विकासमा उनले अपेक्षा गरेको विकास खोजिरहेको झल्काउँथे।