घरवारविहीनलाई सहयोग
नुवाकोट : गत २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पले घरवारविहीन भएका नुवाकोट बान्द्रेका असहायलाई घर निर्माणका लागि सहयोग गरिएको छ। भूकम्पले घर भत्काएर ८ वर्षदेखि अस्थायी टहरोमा बस्दै आएका पञ्चकन्या गाउँपालिका-५ बान्द्रेका वीरबहादुर सिटौलालाई घर बनाउन सहयोग जुटेको हो।
दुप्चेश्वर घर भई नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष सुशीलकुमार खड्काले सिटौलालाई घर बनाउनका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन्। घरबारविहीन रहेका सिटौलालाई खड्काले पन्चकन्या गाउँपालिका पुगेर एक लाख रुपैयाँ हस्तान्तरण गरे।
भूकम्पपछि आएको पहिरोका कारण घरमा क्षति भएपछि घरवारविहीन भएका सिटौला हालसम्म पनि अस्थायी टहरामै बसिरहेका र आर्थिक अवस्था निकै कमजोर रहेकोले सिटौलालाई सहयोगस्वरूप एक लाख रुपैयाँ सहयोग गरेको गत प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट नुवाकोट-१ को प्रत्याशीसमेत रहेका खड्काले बताए।
उनले सुखमा होइन, दुःखमा सम्झनुहोस् भन्ने भावनाले बितेको डेढ दशकदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा सहयोग गर्दै आएको पञ्चकन्याका सामाजिक अगुवा रामनाथ खनालले बताए। खड्काले आगामी दिनमा पनि गरिब, असहाय र विपन्न समुदायलाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।