सुचिना हत्याको ९ दिन बित्यो, दोषी पत्ता लागेन
गोरखा : मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। यही बेला बारपाककी १८ वर्षीया सुचिना घलेको जंगलमा बीभत्स हत्या भयो। गत शनिबार घाँस काट्न गएकी उनको गत मंगलबार गाडिएको अवस्थामा क्षतविक्षत शव फेला प¥यो।
हत्या भएको नौ दिन बित्यो, तर अझै घटनाको रहस्य खुल्न सकेको छैन। दोषी पत्ता नलागेको भन्दै सुचिनाको माइती गाउँ काशीगाउँका बासिन्दा सदरमुकाम आइपुगेका छन्। हत्यामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेको भन्दै उनीहरूले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी बासुदेव पाठकसँग भेटी यथाशीघ्र दोषी पक्राउ गर्न माग गरेका छन्।
६० जनाभन्दा धेरैको संख्यामा रहेका उनीहरूले पक्राउ गर्ने आधार हुँदाहुँदै पनि शंकास्पद व्यक्तिहरूलाई तत्काल पक्राउ नगरेको गुनासो गरेका छन्। ‘दुइटा टोपी, डोको, नाम्लो बरामद भएको छ। तीन जना शिकारीहरू पक्राउ परेका छन्, तर नौ दिन भइसक्दा पनि अझै घटना रहस्यमय नै छ’, काशीगाउँका मानबहादुर गुरुङले भने, ‘कुनै शक्तिको दबाबमा सत्यतथ्य छानबिनमा आलटाल भइरहेको छ भन्ने हामी गाउँलेले अनुमान गरेका छौं।’ अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर आफूहरू अत्यन्त संयमित भएर बसेको उनको भनाइ छ।
मृतकको दुइटा औंला काटिनु रहस्यमय भएको भन्दै अर्की सुस्मिता घलेले गाउँका शिकारीहरूलाई पक्राउ गरेर अनुसन्धान गरे छिट्टै यथार्थ पत्ता लाग्ने तर्क गरिन्। ‘तर, शिकारीहरू पक्राउ परेका छैनन्। अनुसन्धान अत्यन्त सुस्त ढंगले भइरहेको छ’, उनले भनिन्, ‘आजसम्म हामीहरू संयमित ढंगले प्रस्तुत भइरहेका छौं। प्रहरी, प्रशासनले गाउँलेहरूलाई संयमता गुमाउन बाध्य नपारोस्।’
घटना अनुसन्धानमा ढिलाइ भएपछि जिल्लामा विरोधको आवाज उठ्न थालेको छ। आइतबार नागरिक साझा सवाल र मानव अधिकार तथा शान्ति समाजले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन्। घटना अत्यन्त निर्मम र कहालीलाग्दो भएको भन्दै ती दुई संस्थाले अलग–अलग ध्यानाकर्षण पत्र बुझाएका हुन्। मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष शरद श्रेष्ठ तथा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे तीव्र गतिमा अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्। साथै बारपाक सुलिकोट गाउँपालिका र धार्चेगाउँपालिका–६ को वडा कार्यालयले पनि विज्ञप्ति जारी गरी घटनाको बिरोध गर्दै यथाशीघ्र दोषी पत्ता लगाई कारबाही अघि बढाउन आग्रह गरेका छन्। ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पौडेलले आफूहरू मृतकको आफन्तजन जत्तिकै चिन्तित भएकाले अनुसन्धानमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन्।
प्रहरीले भने डीएसपी इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा खटिएको अपराध अनुसन्धान टोलीले अनुसन्धान, खोजतलास गरिरहेको जनाएको छ। टोलीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जौबारी र प्रहरी चौकी बारपाकका टोली खटिइरहेका छन्।
अपराध अनुसन्धानलाई अझै प्रभावकारी बनाउन शनिबार प्रदेश प्रहरी कार्यालय पोखराबाट थप अपराध अनुसन्धानका विज्ञ टोली बारपाक पुगेको छ। ‘रातदिन खटिएर अनुसन्धान भइरहेको छ तर अपराध अनुसन्धान भन्ने कुरा यस्तो हुन्छ कि, नतिजा नआउञ्जेलसम्म प्रगति शून्य प्रतिशत देखिन्छ। नतिजा आएपछि एकैचोटी सतप्रतिशत प्रगति देखिन्छ’, जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक भन्छन्, ‘तीन जनालाई सोधपुछका लागि जिल्लामा ल्याएका छौं। ढिलोचाँडोे हो, अपराधी पत्ता लाग्छ।’
शवको पोस्टमार्टम भइसके पनि रिपोर्ट अझै नआइपुगेको प्रहरीले जनाएको छ। ‘रिपोर्ट आउन अझै केही दिन लाग्छ। शव टिचिङ हस्पिटलमै छ’, उनले भने, ‘मृतकका श्रीमान्ले दिएको कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भएको छ। अनुसन्धान अगाडि बढिरहेको छ।’
प्रहरीले हरेक घरधुरीका बासिन्दालाई चौकीमा हाजिर गराएर सोधपुछ गरिरहेको छ। केहीलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा पठाएको पनि छ। प्रहरीको अनुसन्धान प्रक्रियामा सघाउन स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाक्लब, आमा समूहहरू स्वतस्फुर्त रूपमा लागिरहेको वडा नं. १ का अध्यक्ष धनबहादुर घलेले जानकारी दिए। ‘हामीले टोलटोलमा समूह बनाएर घटनाको अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘कटुवाल लगाएर कसैलाई पनि घर नछोड्न उर्दी गरेका छौं।’
घटनास्थलमा हातले बुनेको उनीको टोपी, टोप, अर्को ह्याट र डोको भेटिएको छ। सो टोपी, डोको कसको हो भनेर खोजी भइरहेको वडा नं. २ का अध्यक्ष पूर्णबहादुर गुरुङ बताउँछन्। ‘घटना भएको दिन गत शनिबार त्यो वनमा को–को गोठालो गएका थिए, को–को घाँस काट्न गएका थिए, अरु पनि को–को कुन–कुन ठाउँमा थिए भन्ने कुरा अनि त्यसपछि कसैले गाउँ छाडेको छ कि छैन भन्ने कुरा हामी गाउँलेले मसिनो गरी अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘अपराधी भाग्न पाएको छैन। ढिलो चाँडो हो पक्कै समातिन्छ।’
मंसिर १५ गते शनिबार बारपाक
(खिम्पु)की सुचिना घाँस काट्न भनी जंगल गएकी थिइन्। उनका साथमा ६, ७ वर्षका देवर नाता पर्ने बालकहरू पनि जंगल गएका थिए। वनमा हिँड्न नसक्ने बालक देवरहरूलाई उनले आफू छिट्टै फर्किने भन्दै आफ्नो मोबाइल दिएर फकाईफुल्याइ घर फर्काएकी थिइन्। तर, साँझसम्म नफर्केपछि दिनभर स्टोनपिचको काम गरिरहेका उनका श्रीमान् र ससुराले हारगुहार मागी ८०, ९० जनाको टोली जंगलतर्फ खोजतलास गर्न गएका थिए। ‘शनिबार पनि कुनै अत्तोपत्तो नपाई फर्कन्छन्। आइतबार पनि रित्तो हात, सोमबार पनि रित्तो हात फर्केका उनीहरूले मंगलबार प्रहरीलाई खबर गर्छन्’, वडाअध्यक्ष घलेले भने, ‘मंगलबार प्रहरी र स्थानीयवासीको संयुक्त टोली खोज्न जाँदा जंगलमा शव गाडिएको अवस्थामा फेला पार्छन्। त्यस दिन शव त्यहीँ राखेर फर्कन्छन्। भोलिपल्ट बुधबार, खाल्डोबाट शव निकाल्छन्।’ आक्रमणको प्रतिरक्षा गर्दा हुनसक्छ, सुचिनाको दाहिने हातमा छ, सात ठाउँमा, देब्रेहातको छ सात ठाउँमा र दाहिने कुर्कुच्चामा धारिलो हतियारको चोट छ। दाहिने हातको साहिँली र माझी औँला छिनालिएको अवस्था रहेको वडाअध्यक्ष घलेले बताए। साथै मुख कुच्चिएको र माटो कोचाइएको, घिसार्दा हुनसक्छ, ढाड ददारिएको र टाउकोमा दुइटा गहिरो चोट देखिने उनले बताए।
घटनास्थल आसपास एउटा उनीको टोपी र अर्को टोप भेटिएको छ भने डोको, बोरालगायतका सामान पनि प्रहरीले बरामद गरेको छ।
मृतक सुचिनाको माइतीगाउँ काशीगाउँ लगायतका विभिन्न ठाउँबाट अहिले अपराध अनुसन्धानमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त भइरहेका छन्। विशेषगरी सामाजिक सञ्जालमा ‘सुचिनाको हत्यारा चाँडो पत्ता लगाई कारबाही गर’ भन्ने दबाबमूलक प्रतिक्रियाहरू लेखिएका छन्। बारपाकको नाम मुछेर दोषी पत्ता लगाई सार्वजनिक गर्न दबाब गरिरहेका छन्। ‘हामीले खाइनखाइ रातदिन अपराधीको खोजी गरिरहेका छौं, प्रहरीलाई पनि सघाइरहेका छौं। एकजना अपराधीले अपराध गर्दा अहिले सारा बारपाकीले दबाब खेपिरहनु परेको छ। यसले हामीलाई तनाब भइरहेको छ’, घलेले भने, ‘आफ्नी चेलीको हत्या हुँदा उहाँहरूमा आक्रोश आउनु स्वाभाविक पनि हो। यसले हामीलाई छिटोभन्दा छिटो अपराधी खोज्न बल दिइरहेको छ। ढिलो छिटो हो, अपराधी पत्ता लाग्छ लाग्छ।’