धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्री समक्ष माग
धरान : धरानका मेयर हर्कराज साम्पङलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखक समक्ष माग गरिएको छ। शुक्रबार धरान आएका गृहमन्त्रीलाई सुनसरीका पत्रकारहरूले ज्ञापनपत्र बुझाउँदै साम्पाङलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।
पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिने क्रम नरोकिएकाले पत्रकारहरू असुरक्षित भएको नेपाल पत्रकार महासंघका पूर्व उपसभापति हर्ष सुब्बाले बताए। उनले गृहमन्त्री समक्ष हर्क साम्पाङका अराजक र आपराधिक गतिविधि नियन्त्रण गर्न र पत्रकारलाई स्वतन्त्र पूर्वक काम गर्ने वातावरण बनाउन माग गरेका छन्।
साम्पाङले सुरुमा सुनसरीका पत्रकार खिला बिक र सन्जिता धमलालाई दुर्व्यवहार गर्दै धम्की दिएका थिए। दुई दिन अगाडि पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई धम्की दिएका छन्।
समाचार लेखेकै कारण पटक पटक शृङ्खलाबद्ध धम्की आएकाले पत्रकारहरूको सुरक्षामा सरकार गम्भीर नभएको महासंघ सुनसरीका सचिव ध्रुव ढकालले बताए। पत्रकार महासंघ सुनसरीले गृहमन्त्री लेखकलाई सुरक्षाको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ।
गृहमन्त्री लेखकले ज्ञापनपत्र बुझ्दै अराजक गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने र पत्रकारलाई स्वतन्त्र पूर्वक काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए।