एसियन कंक्रिटोले आईपीओ निष्काशन गर्ने
भैरहवा : एसियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्रीका लागि शुक्रबार कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दस्तखत गरेका छन् ।
कम्पनीले जारी पूँजी ४६ करोड ८७ लाख पचास हजार रुपैयाँको बीस प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरले ९ करोड ३७ लाख पचास हजार रकम बराबरको ९ लाख ३७ हजार पाँच सय कित्ता साधारण शेयर प्रति शेयर एक सय अंकित दरमा निष्काशन गर्ने बताइएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका (भैरहवा परासी सडकखण्ड) मा रहेको एसियन कंक्रिटो उद्योगले जर्मन प्रविधिबाट उत्पादित पेभर्क, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक उत्पादन विदेशसहित नेपालभर विक्री वितरण गर्दै आइरहेको छ । उद्योगमा जडित प्रविधिले रोबर्टिक प्रणालीबाट सञ्चालित छन् ।
अत्याधुनिक प्रविधि जडित उद्योगमा उत्पादित सामग्री माग बढ्दो छ । एसियन कंक्रिटो लिमिटेडमा सिद्धार्थ ग्रुप,अर्घाखाँची सिमेन्ट,वृज सिमेन्ट, रुङ्गटा ग्रुप, उमा ग्रुपलगायत ग्रुप र ठूला प्रतिष्ठानहरू आवद्ध छन् ।