डेडिकेटेड तथा ट्रंकलाइन
उद्योगीको विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौं : अर्थमन्त्री पौडेल
बुटवल : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन्।
बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन्। विद्युत प्राधिकरणले पनि उद्योगीहरूले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ।
उनले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राखे। पौडेलले सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे।
उनले विद्युत प्रधिकरण आफैँ सबल र सक्षम नहुँदासम्म काम गर्ने कर्मचारीहरू सबल हुन नसक्ने पनि बताए। पौडेलले कर्मचारीहरूको ५२ महिनादेखि रोकिएको बिमा र सेवा सुविधाका बारेमा सरकारले छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता पनि जनाए।