बालबालिकाका किताबमा ‘जनयुद्ध’ का सामग्री

बालबालिकाका किताबमा ‘जनयुद्ध’ का सामग्री
सुन्नुहोस्

गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पठ्यपुस्तकमा तत्कालीन माओवादीको सशस्त्र ‘जनयुद्ध’ का पाठ्यवस्तु समावेश गरेको छ। कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी ‘जनयुद्ध’ सम्बन्धी विषयवस्तु समावेश गरेको हो। अजिरकोट सेरोफेरो नाम राखेर छापिएको सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ। सो पाठमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’, ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद’ लगायतका नारा लेखिएका पोस्टरहरू राखिएका छन्। त्यस्तै सो पाठको सुरुमै ‘जनता नै इतिहासका निर्माता हुन्– माओ’, भनेर माओत्से तुङको भनाइ उल्लेख गरिएको छ। यस्तै, ‘जनमुक्ति सेना’ का तस्बिर राखिएका छन्।

कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले ०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजारभन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयवस्तु समाविष्ट छन्।

अजिरकोट गाउँपालिका प्रकाशक रहेको सो पाठ्यपुस्तकको सम्पादनको जिम्मा रुम टु रिड नामक गैरसरकारी संस्थाका अनन्त वाग्ले, राजन सापकोटा र एलबी खड्का छन्।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा संरक्षक र शिक्षा शाखाका प्रमुख सीताराम पन्त निर्देशक रहेको सो पाठ्यपुस्तक स्थानीय विद्यालयका शिक्षकहरू कालिकाप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी, बुद्धिबहादुर विक, वीरबहादुर गुरुङ, हरिराम दवाडी, वीरेन्द्र कोइली, प्रदीप शेर्पा, दिल धामी र सन्तोष खनालले लेखेका हुन्।

पाठ्यपुस्तकमा कसरी जनयुद्धका तस्बिर र विषयवस्तु छापियो भन्नेमा भने सबैले अनभिज्ञता प्रकट गरेका छन्। ‘एकाइ बाँडफाँट गरेर लेखेका थियौं। एकाइ १६ को सामाजिक चेतनाको विषयमा लेख्ने जिम्मा वीरबहादुर सरको थियो’, लेखक मण्डलका कालीका अधिकारीले भने, ‘सामाजिक चेतना शीर्षकमा यस्ता विषयबस्तु पर्दैन भनेर हामीले असहमति जनाएका थियौं। यस्तो तस्बिर आउलान् भन्ने त कल्पना पनि गरेका थिएनौं। जेठमा लेखेर सकिएको थियो। अन्तिममा लेखक मण्डल, सम्पादक मण्डल र कार्यपालिका बसेर छलफल गर्ने भन्दा भन्दै मिटिङ नबसी एक्कासि हिजो अस्ति मात्र किताब पो छापिएर आयो।’ यसमा आफूहरूले असहमति जनाइरहेको उनले बताए।

लेखक मण्डलकै अर्का वीरबहादुर गुरुङले पनि पुस्तकमा कसरी यस्ता तस्वीरहरू छापिए भन्ने बारे अनभिज्ञता प्रकट गरे। ‘लेखक मण्डलले लेखेर पेश गरेको मस्यौदा सम्पादक मण्डलले अन्तिमरूप दिने हो’, गुरुङले भने, ‘मस्यौदा त्यति धेरै आपत्तिजनक थिएन तैपनि, अन्तिममा छलफल गर्नुपर्छ भन्दाभन्दै सम्पादक मण्डलले प्रेसमा पठाइदिएछन्। छलफल गर्न पाइएन। यी तस्बिरहरू कसरी छापिएर आए भन्ने बारेमा रुम टु रिड र कार्यपालिकालाई थाहा होला। एक पक्षीय नभइकन सामाजिक परिवर्तनका कालखण्डहरू लेख्ने भन्दाभन्दै यी फोटोहरूले गर्नुग¥यो।’

जनयुद्धका विषयवस्तु छापिएका पाठ्यपुस्तकका सम्पादक मण्डल रुम टु रिडका एलबी खड्काले पनि जनयुद्धका विषयवस्तुप्रति आफूहरू जिम्मेवार नभएको दाबी गरेका छन्। ‘कन्टेन हामीले लेख्ने होइन, हामीले त लेखिएर आएका विषयवस्तु सम्पादन गर्ने मात्र हो। यसप्रति हामी जिम्मेवार छैनौं’, उनले भने, ‘मस्यौदा आउँदा पनि कुरा त उठेकै थियो। सच्याउने कुरा थियो, तर नसच्याइकन कसरी छापिएर आएछ।’

बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा ‘जनयुद्ध’ को चित्रसहितको विषयवस्तु आउनुलाई गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पनि त्यति धेरै राम्रो मानेका छैनन्। ‘स्थानीय पाठ्यक्रम बनाएर लागू गर्नुपर्ने भन्ने कुरा स्थानीय सरकार सञ्चालन ऐनमा कानुनी व्यवस्था छ। त्यही अनुसार स्थानीय पाठ्यक्रम प्रारूप, स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाप्रति पूर्ण सचेत रहेर पाठ्यपुस्तक लेख्न सिनियर शिक्षकहरूलाई जिम्मा दिएका थियौं’, देवकोटाले भने, ‘प्राविधिक सहयोगका लागि रुम टु रिडलाई आग्रह गरेका थियौं।

सरहरूले लेखेर ल्याउनु भएको मस्यौदा हेर्दा त्यति धेरै बेठिक थिएन। अहिले किताबमा आएका फोटाहरू त्यतिबेला आएका थिएनन्। इतिहास जस्ताको तस्तै उल्लेख गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। अब यसलाई फागुनभित्र सच्याएर पुनःप्रकाशन गर्ने छौं।’ सच्याएर पुनः प्रकाशन गर्नेबारे गाउँ शिक्षा समितिमा छलफल भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.