स्थानीय तहको उपनिर्वाचन: आज रातिदेखि ग्रामथान प्रवेशमा रोक
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आइतबार उपनिर्वाचन हुँदैछ। मतदानलाई लक्षित गरेर जिल्ला सुरक्षा सुरक्षा समितिले ग्रामथान प्रवेशमा रोक लगाएको छ। मतदान अवधिभर सवारीसाधन प्रवेशमा रोक लगाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए। उनका अनुसार जिल्ला सुरक्षा समितिले आज राति १२ बजेदेखि भोलि मतदान नसकिएसम्मका लागि सवारीसाधानलाई पालिका प्रवेशमा रोक लगाएको हो।
निर्वाचन सम्पन्न नभएसम्मका लागि ग्रामथान प्रवेश गर्ने बूढीगंगा गाउँपालिका– ७ डंग्राहा, विराटनगर महानगरपालिका– १९ को मिलन चोक, कटहरी गाउँपालिका– ७ को भौडाहा, सुन्दरहरैँचा नगरपालिका– १ को हरैंचाबाट अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइएको जानकारी पोखरेलले दिए। ग्रामथान प्रवेश गर्ने ४ वटा नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अनुमति लिएका र अतिआवश्यकीय सवारी भने सडकमा गुड्न पाउने छन्। यात्रा गर्ने यात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन्।
तयारी पूरा, कडा सुरक्षा
विराटनगर। मोरङको ग्रामथान गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पठाउनुका साथै कर्मचारीहरु खटाइसकिएको छ।
‘मतदान केन्द्रको निर्माण गरिसकिएको छ। सबै बुथमा सर्वदलीय बैठक पनि भइसक्यो,’ उनले भने। निर्वाचनलाई सहज हिसाबले सम्पन्न गर्न सर्वदलीय बैठक राखेर उम्मेदवारका प्रतिनिधि तोक्ने काम भइसकेको पौडेलले बताए।
उनका अनुसार ग्रामथान गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल पनि तयारी अवस्थामा राखिएको छ। ‘मतदान सकिएपछि मतपेटिकाहरु संकलन गरेर मतगणनास्थलमा ल्याइने छ,’ पौडेलले भने, ‘सर्वदलीय बैठक राखेर सहमति गरिसकेपछि मतगणना सुरु हुने छ।’
मतदान केन्द्रमा समग्र सुरक्षाको राम्रो प्रबन्ध गरिएको मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले बताए। मतदाता र मतदान केन्द्रको सुरक्षामा कुनै कमजोरी हुन नपाउने भन्दै सबैलाई ढुक्क भएर मतदानमा सहभागी हुन मुख्य निर्वाचन अधिकृत भट्टराईले आह्वान गरेका छन्।
‘मतदाता, कर्मचारी, उम्मेदवार र केन्द्रको सुरक्षामा कुनै कमजोरी हुने छैन। सबैले ढुक्क भएर मतदान गर्न सक्नु हुने छ,’ उनले भने। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षित वातावरण तयार पारिएको भट्टराईको भनाइ छ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले निर्वाचनमा कुनै सुरक्षा चुनौती आउन नदिन मजवुत हिसाबले सुरक्षा संयन्त्र परिचालन गरिएको जनाकारी दिए।
‘मतदानका समययमा झगडा र विवाद हुन दिइने छैन। कुनै हिसाबले वैमनस्यता उत्पन्न हुने अवस्था आयो भने तत्काल नियन्त्रणमा लिइने छ,’ उनी भन्छन्, ‘उच्छृङ्खल गतिविधि गर्न खोज्ने शंकास्पद व्यक्तिमाथि निगरानी बढाउन थालिएको छ। उद्धण्ड गतिविधि गर्ने र निर्वाचन भाँड्न खोज्नेलाई कारबाहीको दायरामा ल्याइने छ।’
सुरक्षामा कुनै चुनौती नरहेको र मतदाताले ढुक्क भएर मतदानमा सहभागी हुनसक्ने वातावरण बनाइएको प्रजिअ भट्राईको भनाइ छ। मतदानस्थल र मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। उपनिर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना बनाएर ग्रामथानमा लागू गरिएको छ।
मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ भट्टराईले बताए। उनका अनुसार मतदानस्थल र केन्द्रको भित्रीदेखि सबै सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो। सशस्त्र प्रहरी दोस्रो अर्थात बीचमा र नेपाली सेना तेस्रो अर्थात बाहिरी सुरक्षा घेरामा रहने उनले बताए।
प्रजिअ भट्टराईले मतगणनास्थलमा पनि त्यसरी नै सुरक्षा प्रबन्ध मिलाइने जानकारी दिए। ‘सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेनालाई विशेष जिम्मेवारी दिएर परिचालन गरिने छ। ३ घेराको सुरक्षा व्यस्था मिलाइएको छ,’ उनले भने।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले उपनिर्वाचनको समग्र सुरक्षाका लागि डीएसपीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी दिए। मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन गरिएको चिमरियाको भनाइ छ।
उनका अनुसार मतदान अवधिभर सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ। त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए। उनका अनुसार सूचना संकलन गर्न र शंकास्पद व्यक्तिमाथि निगरानी बढाउन अलग्गै टोली हुने छ।
निर्वाचनलाई लक्षित गरेर सशस्त्र प्रहरीले २ जना डीएसपीको नेतृत्वमा टोली खटाएको छ। निर्वाचन सुरक्षा बेस कमाण्ड र अनुगमन भनेर अलगअलग टोली खटाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए। त्यसबाहेक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु आफैं मतदानस्थलमा खटिने छन्।
मतदानस्थलमध्ये ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र माविमा ३, खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १, २ स्थित वडा कार्यालयमा २, झोराहाटस्थित सरस्वती माविमा २, ३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ र सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र तोकिएका छन्।
त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २, ५ को तेतरियास्थित देवी माविमा ५, ६ को रविहाटस्थित पब्लिक माविमा ४, ७ को धोवियारेस्थित गणेश माविमा ३ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ वटा केन्द्र कायम गरिएको छ। ग्रामथानको अध्यक्षमा २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। गत असार ३ गते उनको निधन भएपछि आइतबार उपनिर्वाचन हुन लागेको हो।